भूमि व्यवस्था, सहकारी तथा गरिवीनिवारण मन्त्रालयमा व्यथितिको चाङ कहिलेसम्म ?

राजनीति समाचार

काठमाडौं । कुनैबेला नेकपा माले पार्टीबाट मन्त्री बनेका सीपी मैनालीको नाम निकै चर्चित थियो । मैनाली मन्त्री हुने अवसर पाउनासाथ भूमि सुधार मन्त्रालय ताकिहाल्थे । मैनालीले पटक–पटक मन्त्रीको अवसर पाएपनि भूमि सुधार भन्दा अन्य मन्त्रालय रोजेनन् । त्यसको सिको अहिले जनमुक्ति पार्टीकी रन्जिता श्रेष्ठ चौधरीले लिएकी छिन् । उनी भूमि व्यवस्था, सहकारी तथा गरिवीनिवारण मन्त्री भएको पनि एक वर्ष पुग्न लागेको छ ।

तर, उनी भूमि व्यवस्था, सहकारी तथा गरिवीनिवारण मन्त्रालयको कामलाई छाडेर पार्टी संगठनको लागि देश दौडाहामा व्यस्त छिन् । चौधरी आफू मन्त्री भएको मन्त्रालयको कामको बारेमा कुनै मतलब छैन । मन्त्रालयको गाडी र इन्धन प्रयोग गरी देश दौडाहामा रमाउने गरेकी छिन् । उता, सोही मन्त्रालयका सचिव गोकर्णमणि दवाडी नापी र मालपोतका दोस्रो तहमा कार्यरत कर्मचारीहरुलाई काजमा खटाएर कमिसन खान व्यस्त छन् । त्यतिमात्रै होइन, मन्त्रालयमा अनेकौं मिटिङ्ग गरेर भत्ता बुझ्ने, खाजा खाने र समय बिताउने काम गर्दै आएका छन् । देशैभर रहेका मालपोत र नापी कार्यालयहरुमा कर्मचारी सरुवा बढुवा गर्नेमा पनि मोटो रकम असुल्दै आएको बताइन्छ ।

कतिपय मालपोत र नापी कार्यालयमा काज सरुवा हुनको लागि अधिकांश कर्मचारी सचिवको कार्यकक्षमा भीड लाग्ने गरेको छ । खासगरी काठमाडौं उपत्यकाभित्र रहेका मालपोत र नापी कार्यालयमा जानको लागि कर्मचारीहरले मरिहत्ते गर्ने गरेका छन् । अधिकांश कर्मचारीहरु काठमाडौंको डिल्लीबजार मालपोत कार्यालय, कलंकी मालपोत कार्यालय, चाबहिल मालपोत कार्यालय, साँखु मालपोत कार्यालय, ललितपुर मालपोत कार्यालय र भक्तपुर मालपोत कार्यालयमा अन्य मालपोत कार्यालयहरुबाट काज सरुवा गरेर जानको लागि न्वारनदेखिको बल निकालेर लागिपरेका छन् ।

काठमाडौं उपत्यकाबाहेक मोफसलका चितवन, पोखरा, विराटनगर, भैरहवा, वीरगञ्ज, जनकपुर जस्ता मालदार मालपोत कार्यालयमा जानको लागि पनि त्यत्तिकै मरिहत्ते गरेर सोर्सफोर्स र रकम चलखेल गर्ने गर्दछन् । सरकारले जग्गाको कित्ताकाट खोलेर अर्थतन्त्रलाई चलायमान बनाउने भने तापनि अधिकांश मालपोत कार्यालयहरुमा जग्गाको कारोबार नभएको गुनासो आइरहेको छ । जग्गाको कारोबार ठप्प जस्तै भए तापनि अधिकांश कर्मचारीहरु मालपोत कार्यालयमा जान रुचाउँछन् । कतिपय कर्मचारी त मालपोत कार्यालयमा जान नपाए यातायात कार्यालयमा जानको लागि पनि त्यत्तिकै मरिहत्ते गर्दछन् ।

अधिकांश कर्मचारीहरु घरपायक पर्ने अड्डामा काजमा जानको लागि राजनीतिक दलका नेतादेखि कर्मचारी संगठनका नेताहरुलाई गुहार्ने गर्दछन् । यस्ता कार्यले भूमि व्यवस्था, सहकारी तथा गरिवीनिवारण मन्त्रालयभित्र यतिबेला व्यथितिको चाङ्ग लागेको छ । यस मन्त्रालयमा मन्त्री आफ्नै तालमा छिन् भने सचिव दवाढी र कर्मचारीहरु आ–आफ्नो दुनो सोझ्याउन व्यस्त छन् । उता मालपोत कार्यालयमा कार्यरत कर्मचारीहरुले सेवाग्राहीलाई भन्दा विचौलियालाई साथ दिने गर्दछन् । सेवाग्राहीले सोझै ल्याएको काम यो मिलेन र त्यो मिलेन भनेर पन्छाउने गर्दछन् ।

त्यहीं फाइल विचौलियाले लगेको खण्डमा सरासर काम पत्ते गरेर कमिसन लिने गर्दछन् । देशैभरका मालपोत कार्यालयहरुमा यस्ता भ्रष्टाचार, व्यथिति, विकृति र विसंगति व्याप्त भएका कारण सर्वसाधारण सेवाग्राहीहरु मारमा परिराखेका छन् । उदाहरणको लागि डिल्लीबजारस्थित मालपोत कार्यालयमा कार्यरत कर्मचारी लक्ष्मण भट्टराईलाई लिन सकिन्छ । भट्टराईलाई डिल्लीबजार मालपोत कार्यालयमा हुँदा घुस लिँदालिँदै रंगेहात पक्राउ गरिएको थियो । भट्टराईले घुस लिएको मुद्दा अख्तियारमा परेपनि अख्तियारलाई पैसा बुझाएर उनले सफाइ पाएका थिए । अहिले भट्टराई ललितपुर मालपोत कार्यालयमा कार्यरत छन् ।

ललितपुर मालपोत कार्यालय प्रशासन शाखामा बसेर प्रदीप पौडेलले पनि अकुत कमाएको बताइन्छ । त्यस्तै अर्का कर्मचारी बखत विष्ट पनि कहिले यातायात कार्यालय त कहिले मालपोत कार्यालयमा मात्रै रमाउने व्यक्ति हुन् । विष्ट पनि ललितपुर मालपोत कार्यालयमा रमाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *