माफियाको चङ्गोलमा सरकारी संयन्त्र

राजनीति समाचार

काठमाडौं । नेपालीहरुले वडा दशैं, दीपावली र छठ पर्वलाई महत्वपूर्ण चाडको रुपमा मनाउने गर्दछन् । त्यसमध्ये सबैभन्दा महत्वपूर्ण चाड वडा दशैंलाई लिइन्छ । जब दशैं सुरु हुन्छ अनि अधिकांश व्यापारी, उद्योगी, विचौलिया, भूमाफिया, मेनपावर व्यवसायी, विद्युत माफिया लगायतले संसद सचिवालयदेखि सुरक्षा निकाय, उच्चपदस्थ कर्मचारी, न्यायाधीश, राजनीतिक दलका नेता, मन्त्री र विभिन्न मिडिया हाउसका सम्पादकहरुलाई खामबन्दी नजराना र ब्ल्याक लेबल, रेड लेबलका बोतलहरु कोशेली टक्र्याउने गर्दछन् ।

खासगरी मन्त्रालयदेखि संसद सचिवालय र संसदीय दलभित्रका कर्मचारीहरुलाई ती व्यक्तिहरुले ल्याएको कोशेली थन्क्याउन र सम्बन्धित व्यक्तिलाई बुझाउन भ्याइनभ्याइ हुने गर्दछ । नेता र उच्चपदथस्त व्यक्तिहरु त्यसैको चास्नीमा डुबेर दिनुजसो देशमा हुने गरेका विकृति, विसंगति र भ्रष्टाचारलाई प्रोत्साहन दिने काम गर्दै आएका छन् । यस्ता महत्वपूर्ण चाडपर्वमा शक्तिकेन्द्रलाई कोशेली बुझाएबात ती माफियाहरुले जस्तोसुकै अवैध काम गरे तापनि उन्मुक्ति पाउने गरेका छन् ।

त्यसकै आडमा सुन तस्करी, कर छली, मानवतस्करी, बन्यजस्तु चोरीतस्करी, भ्रष्टाचार, बन फडानी, काठ चोरीतस्करी, बालुवा, गिट्टी र ढुङ्गा उत्खनन्, सार्वजनिक जग्गा हिनामिना गर्नेदेखि हत्या हिंसा र अपहरणमा फिरौती लिनेमा संलग्न हुनेहरु सलबलाउन थाल्छन् । महत्वपूर्ण चाडपर्वमा शक्तिकेन्द्रलाई कोशेली बुझाउनेहरुले अवैध काम गरेबापत पक्राउ परिहाले पनि छुट्ने गर्दछन् । अधिकांश यस्ता विचौलियाहरुले राज्यका विभिन्न शक्तिकेन्द्रहरुलाई गुमराहमा पारेर आफ्ना कालाकर्तुतहरु लुकाउन सफल हुने गरेका छन् । माफियाहरुले गर्दा राजनीतिक दलका राम्रो र इमानदार नेताहरु पनि फस्ने गरेका छन् ।

सुरक्षा निकाय र पत्रकारहरुले पनि यस्ता विकृति, विसंगतिमा संलग्न भएका व्यक्तिहरुलाई आफ्नो फाइदाको लागि ढाकछोप गर्ने काम गरेका छन् । त्यसकारणले पनि अधिकांश विचौलियाले सरकारलाई काम गर्न दिएका छैनन् । राजनीतिक दलका नेताहरु चुनावी खर्च जुटाउन र मन्त्री बन्नको लागि तिनीहरुकै पछि लाग्ने गर्दछन् ।

त्यसले गर्दा पनि अधिकांश राजनीतिक दलको सरकार पटक–पटक विफल हुने गरेको छ । सरकार मात्रै विफल हुने गरेको छैन, राजनीतिक दलका नेताहरु नै यस्ता विषयमा फस्ने गरेका थुप्रै उदाहरणहरु छन् । अधिकांश बिचौलियाले कुनै न कुनै दलको नेता र अख्तियार प्रमुखदेखि सम्बन्धित निकायका व्यक्तिहरुलाई आफ्नो कब्जामा लिने गरेको कारणले पनि सरकारले गरेका कामहरु सधैं विवादमा आउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *