लगानीमैत्री वातावरण सिर्जना गर्न किन सक्दैन सरकार ?

राजनीति समाचार

प्रतिफलका लागि लगानी आवश्यकता पर्दछ । बिना लगानी प्रतिफलको आश गर्न सकिँदैन, चाहे त्यो पुँजी होस् या श्रम । जब लगानी घट्दै जान्छ, तब प्रतिफल प्राप्त हुँदैन भन्ने सर्वस्वीकार्य कुरा हो । तर नेपालको सन्दर्भमा भने लगानी नगर्ने र नबढाउने, प्रतिफलको आशा गर्ने प्रवृत्ति छ । नेपाली जनताको यो आशाप्रति मुलुकको नेतृत्वमा रहेकाहरुले दिलासा दिएर झुटको खेती गरिरहेका छन् । लगानी गर्न पुँजी सिर्जना नगर्ने, विदेशी ऋण चालू खर्चमै सक्ने र जनतालाई झुटो दिलासा दिएर सत्ताको स्वाद लिइरहने प्रवृत्ति विगतका वर्षहरुदेखि नै हुँदै आएको छ । यही झुटा दिलासाका कारण जनता मारमा परेका छन् ।

सरकारको गलत संस्कारकै कारण जनता महंगीको मारमा छन् । सरकारसँग लगानीका लागि पुँजी अभावको चक्र चलिरहेको छ । सरकारले आफ्नोतर्फबाट लगानी बढाउन नसकिरहेको अवस्थामा वैदेशिक लगानी तथा आन्तरिक निजी क्षेत्रको लगानी बढावाका लागि समेत कुनै पहल गरेको छैन । निजी तथा वैदेशिक लगानी आकर्षण गर्नका लागि सरकारले लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ । अनावश्यक प्रशासनिक झन्झट् र कानूनी उल्झन् खडा गरेर आफ्ना निकटकालाई फाइदा हुनेगरी नीति निर्माण तथा कार्यान्वयन गर्दा मुलुकमा आन्तरिक लगानी फस्टाउन सकेको छैन । लगानीकै अभावका कारण उत्पादन हुन नसक्दा मुलुकले नै प्रतिफल पाउन सकेको छैन ।

यी विविध कारणहरुले नै मुलुकमा आर्थिक दुष्चक्र पैदा गराएको छ । अहिलेको सन्दर्भमा मुलुकमा न्यून मात्रामा उत्पादनमुलक उद्योगधन्दाहरु छन् । अधिकांश ठूला उद्योगधन्दाहरु बन्द गराउन सरकार नै सक्रिय भएकोजस्तो देखिन्छ । ठूला उद्योगहरु बन्द गराउने र आयातमार्फत उक्त उत्पादनको प्रतिस्थापन गराउने कार्य हुँदै गयो । यसरी आयात कार्यमा सक्रिय पनि तिनै नेता र सरकारमा रहेका व्यक्तिहरुको निकट व्यक्तिहरु हुन जाँदा आयात सहज गराउनुपर्ने अवस्था आएको हुनसक्छ ।

उद्योग कलकारखाना बन्द गराउन, लघु तथा साना उद्यम विस्थापित हुने नीति अवलम्बन गर्ने, लगानी भित्र्याउन नसक्ने र आयातलाई सहजीकरण गरिदिने कारणले अहिले मुलुकको यो अवस्था सिर्जना भएको छ । यसले गर्दा रोजगारीको अवस्था पनि नाजुक बनेको छ, फलस्वरुप अधिकांश श्रमशक्ति विदेश पलायन भएका छन् र पलायन हुन अग्रसर छन् ।

अर्थमन्त्री प्रकाशशरण महतले पछिल्लो समय मुलुकमा लगानीमैत्री वातावरण सिर्जना भइसकेको र लगानीका सम्भाव्यताहरु पहिचान गरेर लगानी गर्न सरकारले सहजीकरण गरिरहेको बताइरहेपनि वास्तविकतालाई लगानीकर्ता र जनताले मूल्यांकन गरिरहेकै छन् । सत्तामा पुगेपछि गफ दिनेबाहेक मुलुकको हितका लागि कुनै काम भएको पाइँदैन । सरकारकै नीति र असक्षमताकै कारण आयातले नेपालमा जरो गाडेको छ । जबसम्म नेपालमा उपभोग गरिने वस्तुहरुलाई आन्तरिक उत्पादनले विस्थापित गरिँदैन तबसम्म आयात न्यूनीकरण गर्न र निर्यात गर्न सकिँदैन । मुलुकले आफ्नो आय बढाउनका लागि आयात घटाउनै पर्दछ ।

आन्तरिक उत्पादन र निर्यातबाट मुलुकको आर्थिक क्षेत्र चलायमान बनाउन सकिन्छ । आन्तरिक उत्पादनमा आवश्यक पर्ने जनशक्ति विदेसिनु पर्दैन । मुलुकमै आय हुने र खर्चधान्ने स्थिति भएमा श्रमशक्ति विदेसिन पनि कम हुन्छ । निर्यातमार्फत पनि सरकारले आम्दानी गर्न सक्छ । अहिलेको अवस्थामा सरकारले आयात गरेर डलर खरिदमा पनि पैसा खर्च गर्नुपर्ने र आयातमार्फत पनि नेपालको धन विदेसिने चक्र चलिरहेको छ । यसले नेपाललाई एउटै उपभोग्य वस्तुमा दुईपटक खर्च गर्नुपर्ने अवस्था सिर्जना गरेको छ । आन्तरिक उपभोग्य वस्तुले आयातलाई प्रतिस्र्थापन नगरेकै कारण पनि दोहोरो खर्च र राजस्वका कारण एउटै उपभोग्य वस्तुको मूल्य चर्काे हुन पुगेको छ । वास्तवमा आयातित उपभोग्य वस्तुमाथि दोहोरो तेहोरो कर लागेको पाइन्छ । विभिन्न शिर्षकमा कर लगाएर आयातित वस्तु महंगो हुन पुगेको छ । यसले गर्दा जनताको ढाड सेकिन पुगेको छ ।

जबसम्म मुलुकमा लगानी हुँदैन, तबसम्म आयात घट्न, रोजगारी सिर्जना हुन, मुलुकले आय गर्न सक्दैन । प्रतिफलका लागि लगानीको आवश्यकता पर्छ नै भन्ने कुरा हामीले माथि नै विश्लेषण गरिसकेका छौं । हो, सरकारले मुलुकमा प्रतिफलको अवसरहरु सिर्जना गर्नुपर्छ । जब लगानीकर्ता प्रतिफल देख्छ, तब मात्र लगानी गर्छ । प्रतिफलको सम्भावना नदेख्ने अवस्थामा कसैले लगानी गर्न सक्दैन । सरकारले लगानीमैत्री वातावरण सिर्जना हुनेगरी नीति तयार गरेको भनिरहँदा अन्य नीति बाझिन पुग्दा लगानीकर्ता मर्कामा परिरहेका हुन्छन् । एकातिरबाट सहजीकरण गरेको गुनगान गाएर अर्काेतिरबाट ढ्वाङ पारिने नीति नेपालमा कार्यान्वयन भइरहेको छ र हुन्छ ।

फलस्वरुप लगानीकर्ता डराएका छन् । सरकारले हरेक वर्ष वैदेशिक लगानी भित्र्याउनका लागि लगानी सम्मेलन पनि गरिरहेको हुन्छ । तामझामका साथ ठूलो बजेट खर्च गरेर आयोजना गरिने लगानी सम्मेलनमा सहभागी हुने वैदेशिक लगानीकर्ताहरु नेपालको अवस्था, आर्थिक नीति, प्रतिफलको अवस्था, नेपालभित्र देखिएको बेथिति र भ्रष्टाचार मूल्यांकन गरेर लगानी गर्न हिच्किचाउने गरेको पाइन्छ ।

अबको बाटो भनेको नीतिगत भ्रष्टाचार कम गरी आन्तरिक होस् वा वैदेशिक लगानी भित्र्याउन मार्ग प्रशस्त गर्नैपर्छ । सरकारले लगानीकर्ताका लागि अवसर सिर्जना गरिदिने र प्रतिफलको सुनिश्चितता गरेर लगानी गर्न आग्रह गर्नुपर्छ र अग्रसर गराउनुपर्दछ । सरकार परिवर्तन होइन, मुलुकको अवस्था परिवर्तन गर्न आवश्यक छ । नीतिगत त्रुटीहरुको अन्त्य गर्नैपर्छ । आयात न्यूनीकरण गर्न बिचौलियाउन्मुख आर्थिक नीति खारेज गर्नपर्छ । सरकारले साना, मध्यम, ठूला लगानीकर्ता तथा वैदेशिक लगानीकर्तालाई नेपालमा लगानी गर्न आकर्षण गर्न लगानीका क्षेत्रहरुको दायरा पनि बढाउन पर्दछ । मुलुकको स्रोत साधनलाई हानी नहुनेगरी लगानी गर्न मिल्ने नीति अख्तियार गरी लगानमैत्री वातावरण तयार गर्न अपरिहार्य बनेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *