भौतिक मन्त्रालयमा विसी आतंक, मन्त्री ज्वालाकै कारण भौतिक मन्त्रालय अस्तव्यस्त

राजनीति समाचार

काठमाडौं । भौतिक पूवार्धार तथा यातायात मन्त्री प्रकाश ज्वालाको कलाकर्तुतहरु धामधाम बाहिरिन थालेका छन् । मन्त्री ज्वालाले गर्नुपर्ने विकास निर्माणका कामहरु समयमा नगरेको आरोप लागिरहँदा उनका सल्लाहकार जीवनबहादुर बिसीको रामकहानी छुट्टै छ । बिसीले एकीकृत समाजवादी पार्टीको कार्यकर्ता हुँ भन्दै ठूला–ठूला ठेक्कापट्टाको सूचना प्रकाशन गर्ने सरुवा बढुवा गर्ने र कन्सल्टेन्सीसँग कमिसन खाने काम गर्दै आएका छन् । ठेक्कापट्टाको काम दिएबापत आएको कमिसनबाट पत्रकारहरुलाई केही रकम दिनुपर्छ भन्दै विभिन्न कर्मचारीलाई तर्साउने र पैसा उठाउने काम पनि गर्दै आएका छन् ।

केही रकम एस पार्टीका नेता, कार्यकर्ता र पत्रकारहरुलाई खर्चपानीको व्यवस्थापन गर्ने गरेका छन् । राष्ट्रिय सभाको निर्वाचनपछि मन्त्रिमण्डल फेरबदल हुने छनक पाएपछि मन्त्री ज्वालाका सल्लाहकार विसीले भौतिक मन्त्रालयभित्र अनियमितता गरेर आतंक मच्चाएका छन् । विसीले सहयोग रकम मात्रै उठाएका छैनन, ठेक्का पट्टाको काम पनि आफैले माग्ने र ठेक्का दिएबापत कमिसन खाने गर्दै आएका छन् । सल्लाहकारले यस्तो काम गरिरहँदा मन्त्री ज्वाला भने बेखबर जस्तै बनेर बसेका छन् । मन्त्री ज्वालाले पनि गत भदौमा आफूअनुकूल कर्मचारीहरुलाई मालदार ठाउँमा फिट गराएर ठेक्का पट्टादेखि विभिन्न काम गरेर फाइदा लिँदै आएका थिए । त्यतिबेला मन्त्री ज्वालाले कर्मचारी सरुवा, बढुवामा मोटो रकम हात पारेको समाचार स्रोतको दावी छ ।

भौतिक मन्त्रालयले निर्माण सम्पन्न गरेको कम्पनीलाई भुक्तानी समेत दिन सकेको छैन । निर्माण व्यवसायी कम्पनीहरुले पनि आफूहरुले भुक्तानी नपाएको निहुँमा काम ठप्प गराएका छन् । आर्थिक वर्षको ६ महिना पुगिसक्दा पनि ठेक्का लाग्न सकेको छैन । ठेक्का नलागेपछि अधिकांश विकास निर्माणहरु ठप्प हुने देखिन्छ । उता, मन्त्री ज्वालाले पनि राम्रो काम त गर्न सकेका छैनन् त्योसँगै आफ्नो मन्त्रालयअन्तर्गतको विकासे अड्डाहरुको काम भद्रगोल बनाएका छन् ।

मन्त्री ज्वालाले न त स्मार्ट लाइसेन्स वितरण गर्न सकेका छन् न त इबोस्ट नम्बर अनिवार्य गर्नसकेका छैनन्् । उल्टै द्रुत बस सञ्चालन गर्ने योजना ल्याएर ३ करोडभन्दा माथि रकम हिनामिना गरेको आरोप खेपिरहेका छन् । उनी सूर्यविनायक–रत्नपार्क रुटको सडकमा रातो पोतेर बद्नाम भएका छन् । त्यस्तै मध्येपहाडी लोकमार्ग, कर्णाली, कोशी, कालीगण्डकी करिडोर, मलेखु–मुग्लिन सडक, पोखरा–मुग्लिन सडक, नौबिसे सडक, राँके–मुडे सकड, सिपाघाट–नगरकोट सडकहरु बन्न नसकेर अलपत्र परिराखेका छन् ।

त्यसतर्फ मन्त्री ज्वालाले ध्यानै दिएका छैनन् । मन्त्री ज्वालाको ध्यान कर्मचारी मालदार ठाउँमा सरुवा गरेर कमिसन बटुल्ने र ठेक्कापट्टाको काम आफ्नो पार्टीका कार्यकर्तालाई दिनेमा मात्रै व्यस्त रहेका छन् । कतिपय आयोजना प्रमुखहरुलाई यति सहयोग गर्नुप¥यो, उती सहयोग गर्नुप¥यो भन्दै उठाउन लागिपरेका छन् । यतिबेला सरकारका अधिकांश मन्त्रीहरुले काम नगरेको गुनासो आइरहँदा राष्ट्रिय सभाको निर्वाचनपछि मन्त्रिमण्डल परिवर्तन गर्ने छाँट देखिन्छ । मन्त्रिमण्डल परिवर्तन हुने छनक पाएपछि भौतिक मन्त्री प्रकाश ज्वाला कामभन्दा पनि कमाउ धन्दातिर व्यस्त देखिएका छन् । कुनै बेला प्रकाश ज्वाला भनेपछि नेपाली राजनीतिमा आशा लाग्दा नेताको रुपमा लिइन्थ्यो ।

तर, अहिले नेकपा एमालेबाट फुटेर गएको एकीकृत समाजवादी पार्टीबाट भौतिक मन्त्री बनेका ज्वालाले मन्त्रालय अन्तर्गतको कुनै काम गर्न नसकेको आरोप लागेको छ । उल्टै उनी बालकुमारीमा रहेको इपीएस कार्यालय अगाडि पीडितहरुले प्रदर्शन गरिरहेको स्थल हुँदै अन्यत्र जान लाग्दा प्रदर्शनकारीहरुले गाडीमा आगो लगाइदिएका थिए । मन्त्री ज्वालाको गाडीमा आगो लगाइसकेपछि प्रदर्शनकारीमाथि प्रहरीले अस्रु ग्याँस र गोली चलाएको थियो । सो घटनामा प्रहरीले गोली चलाउँदा दुईजना प्रदर्शनकारीको मृत्यु भएको थियो । यदि मन्त्री ज्वाला त्योबाटो भएर नगएको भए इपीएस पीडित दुईजना युवाको मृत्यु पनि हुने थिएन होला ।

त्यो इपीएस घटनामा मुछिएर मन्त्री ज्वाला विवादित भएका छन् । सरकारले घटनाको सत्यतथ्य पत्ता लगाउन छानविन समिति पनि गठन गरिसकेको छ । तर, वास्तविक प्रतिवेदन अहिलेसम्म बाहिर आएको छैन । मन्त्री ज्वाला भने विवादमा मुछिएका छन् । उता श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारीले इपीएस घटनाको बारेमा एक शब्द बोलेका छैनन् । उक्त घटनामा ज्यान गुमाउने होनाहार युवाहरुको नाममा एउटा विज्ञप्तिसम्म जारी गरेको पाइँदैन । मनत्री भण्डारीले आफ्नो मन्त्रालयअन्तर्गतको यति ठूलो घटना हुँदा पनि मुकदर्शक बन्नु भनेको सरकार कति निकम्मा छ भन्ने पुष्टि हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *