राजनीतिक भागबन्डाले राष्ट्रिय सभाको धज्जी उडाउँदै

राजनीति समाचार

कुनै बेला नेकपा एमालेले राष्ट्रिय सभा, न्यायालय र संवैधानिक आयोगहरुमा एकछत्र राज गरेको थियो । अहिले आएर नेकपा एमाले राष्ट्रिय सभा निर्वाचनमा शून्यजस्तै हुने देखिन्छ । गठबन्धन दलहरु एकजुट भएर चुनावी प्रस्पर्धामा जाने भएपछि नेकपा एमालेको अवस्था नाजुक देखिएको हो ।

हुँदै गरेको राष्ट्रिय सभाको निर्वाचनलाई लिएर नेकपा एमालेले अन्य राजनीतिक दलसँग गठबन्धन गर्न सकेन । ठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभाको निर्वाचनमा एमालेसँग सहकार्य गरेर जाने भने तापनि त्यो सफल हुन सकेन । गठबन्धनभित्र पनि राष्ट्रिय सभाको निर्वाचनमा भागबन्डा नमिल्दा एकीकृत समाजवादी पार्टी असन्तुष्ट देखिएको छ ।

उता, नेपाली कांग्रेसले राष्ट्रिय सभाको लागि उम्मेदवार बनाएका व्यक्तिहरु पनि नयाँ अनुहार नभएर यसभन्दा अगाडि चुनाव हारेका, पटक–पटक पदमा बसेर विवादमा मुछिएकालाई अगाडि सारेको छ । त्यस्तै कांग्रेसभित्रको संस्थापन पक्ष र इतरपक्षबीचको लामो विवादपछि उम्मेदवार छनोट भएकाले कतिपय कांग्रेसका नेताहरु असन्तुष्ट रहेका छन् ।

राष्ट्रिय सभा भनेको स्थायी र माथिल्लो सदन हो । संसदको स्थायी र माथिल्लो निकाय राष्ट्रिय सभा भएकाले त्यो ठाउँमा चुनाव हारेका, पटक–पटक पदमा बसेर विवामा मुछिएका व्यक्तिलाई भागबन्डाको आधारमा पठाउँदा राष्ट्रिय सभाको गरिमा घटाउने काम भएको छ ।

यस्तो काम नेपाली कांग्रेसले मात्रै गरेको छैन, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र प्रतिपक्ष दल नेकपा एमालेले पनि राष्ट्रिय सभाको गरिमामाथि धज्जी उडाउने काम गरेका छन् । यसले के देखाउँछ भने राजनीतिक दलहरुले जतिसुकै आलोचना खेपेपनि आफ्नो परम्परादेखिको चलन छोडेका छैनन् ।

राजनीतिक दलका शीर्ष नेताहरु सधैं सत्ता लिप्सामा डुबेर आफन्त र आसोपासेलाई अवसर दिने काम गर्दै आएका छन् । सर्वसाधारण जनताको नजरमा जतिसुकै गिरेपनि राजनीतिक दलका नेताहरुले आफ्नो बानी छाडेका छैनन् । नेताहरुको यस्तो प्रवृत्तिले गर्दा नै मुलुकबाट लोकतान्त्रिक गणतन्त्र अलोकप्रिय बन्दै गएको छ । राष्ट्रिय सभा माथिल्लो र स्थायी सदन भएकाले त्यस्तो ठाउँमा सोच्छ छविको नयाँ अनुहारहरुलाई ल्याउनुपर्नेमा त्यो नगरी राजनीतिक भागबन्डाको आधारमा दलहरुबीच गठबन्धन गरेर नातागोता, आसेपासे र व्यापारीलाई भित्र्याउने काम गरिएको छ । राष्ट्रिय सभामा रिक्त १९ सिटको लागि भागबन्डा नमिलेकै कारण ५२ जनाले उम्मेदवारी दिएका छन् । तर कसरी मिलाउने हुन् यो हेर्न बाँकी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *