संघीय मामिला मन्त्रालयमा सधैँ गाईजात्रा

राजनीति समाचार

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय यतिबेला निकम्मा जस्तै बनेको छ । एकातिर संघीय ऐन आउन सकेको छैन भने अर्काेतिर जनमत पार्टीले संघीय मन्त्रालय सम्हालेपछि भद्रगोल छ । मन्त्री अनितादेवी साहले आफूले चाहेअनुसारको कर्मचारी मालदार ठाउँमा सरुवा, बढुवा गर्न सकेकी छैनन् । किनकी जनमत पार्टी निकट कर्मचारी संगठन नहुँदा मन्त्री साहलाई समस्या परिरहेको छ ।

मन्त्री साहले रामकुमार महतोलाई कर्मचारी सरुवा बढुवा गर्नलाई खटाए तापनि महतोले कर्मचारी सरुवा बढुवा गर्न सकेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोद प्रकाश सिंह कांग्रेस भएकै कारणले पनि मन्त्री साहलाई समस्या परेको हो । सचिव विनोदले मन्त्रीलाई भनेजस्तो काम गर्न नदिएर घुमाइरहेका छन् । सचिव विनोद पनि के कम उनी गृह मन्त्रालयमा बसेर आएका खप्पीस कर्मचारी हुन् । मन्त्री र सचिवकै कारण प्रदेशस्तरीय सचिव सरुवा बढुवामा पनि समस्या परेको छ ।

प्रदेशबाट केन्द्रमा आउनुपर्ने सचिवहरु पनि संघमा आउन सकेका छैनन् । त्यस्तै स्थानीय तहमा कार्यकारी प्रमुखहरु पनि पठाउन नसकेको अवस्था छ । अधिकांश जनप्रतिनिधिहरुले स्थानीय तहमा कार्यकारी प्रमुख पठाइदिन अनुरोध गर्दा पनि संघीय मन्त्रालयले पठाउन सकेको छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दलनिकट कर्मचारीहरुको हालिमुहाली चल्ने गरेको छ । कांग्रेसनिकट कर्मचारी संगठनले आफ्ना कर्मचारीलाई दुर्गमबाट सुगममा ल्याएर मालदार अड्डामा सरुवा गर्ने गरेको छ । त्यस्तै एमालेनिकट कर्मचारी संगठनका नेताहरुले पनि आफ्ना संगठनका कर्मचारीहरुलाई दुर्गमदेखि सुगमसम्म राख्ने काम गरेको छ । संघीय मामिला मन्त्रालयमा विगत ८ वर्षदेखि रामचन्द्र अधिकारीले डेरा जमाएर बसेका छन् । अधिकारी कहिल्यै सरुवा भएर अन्यत्र जानु परेको छैन । र, अधिकारी मन्त्रालयमा हाटा मात्रै गरेर बस्ने गरेका छन् । त्यस्तै पौडेल थरका कम्प्युटर अपरेटर पनि संघीय मन्त्रालयमा तर मारी बसेका छन् ।

त्यस्तै, माओवादीनिकट कर्मचारी संगठनका नेताहरुले पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अड्डा जमाएर बसेका छन् । ठुला भनेका तीन दलनिकट कर्मचारी संगठनहरुले संंघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय चलाइरहँदा अधिकांश कर्मचारीहरु पीडित बनिरहेका छन् । उता, संघीय मामिला मन्त्री अनितादेवी साहलाई कर्मचारी सरुवा बढुवा गर्नेदेखि मन्त्रालयको काममा समेत बाधा परेको छ । मन्त्री साह पनि आफ्नो पार्टीनिकट कर्मचारी संगठन नभएकै कारण विभिन्न कर्मचारीलाई विश्वासमा लिए तापनि ती कर्मचारीले मन्त्रीलाई सहयोग गरेका छैनन् ।

कर्मचारी वर्ग जुनसुकै सरकार आए तापनि मन्त्रीलाई घुमाउने, आफ्नो पार्टी फेबरका कर्मचारीहरुलाई सेफ ल्यान्डीङ गर्ने, स्वतन्त्र रुपमा काम गर्ने कर्मचारीलाई दुःख दिने र दुर्गमतिर सरुवा गर्ने काम गर्दै आएको आरोप लाग्ने गरेको छ । स्थानीय तहदेखि प्रदेश हुँदै संघमा समेत कर्मचारीहरुले काम गर्न छाडेका छन् । यतिबेला स्थानीय तहमा कार्यकारी अधिकृत भएर जान खोज्दा पनि सचिव र कर्मचारी संगठनका नेताहरुले जान दिएका छैनन् । मन्त्री अनितादेवी पनि कसरी हुन्छ सकभर तराईवासीका कर्मचारीहरुलाई मालदार अड्डा सरुवा गरेर लान सकेमा आफूलाई पनि सहयोग मिल्ने र पार्टीलाई पनि चन्दा उठाउन सजिलो हुने दाबी गरेकी छिन् ।

तर, संघीय मन्त्रालयमा भनेजस्तो काम हुन सकेको छैन । यतिबेला कर्मचारीकै कारण संघीय मन्त्रालय बद्नाम बन्दै गएको छ । सरकारले हालै मात्र केही उपसचिवलाई सहसचिवमा बढुवा गरेको छ । ती बढुवा भएका सहसचिवहरु कुन मन्त्रालयअन्तर्गत कहाँ जाने हुन् अहिले सम्म जान पाउने हुन् अत्तोपत्तो छैन । ती बढुवा भएका सहसचिवहरु पनि ३५ दिनको समय कुरेर मन्त्रालयमा बधाई खाँदै चिया गफमा रमाउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *