काठमाडौं । नेतृत्वमा बसेर परिवेश बुझ्न सके भने पार्टीको सम्बन्ध जनतासँग रहिरहन्छ । नेपालका कम्युनिष्ट कमजोर हुनुकै कारण दलको नीति, विधि र प्रक्रियाको ख्याल नगरी चाकडीबाजीमा लाग्नु हो । चाकडी गर्नेलाई चिन्ने र पुरानालाई नचिन्ने अवस्थाले पार्टीलाई एकपछि अर्काे धक्का पुग्छ । यो अवस्था यतिबेला नेकपा एमालेमा छ । एमालेको नेतृत्व केपी ओलीले गरिरहेका छन् ।
अध्यक्ष ओलीका लागि आफ्नो गुट नै प्यारो छ । ओलीले सत्तामा हुँदा जसरी नाम लेखाउने काम गरे, त्यसले उनको प्रशंसावादी चिन्तन हावी भयो । गल्तीलाई गल्ती भन्ने एमाले नेताहरु डा.भीम रावल, घनश्याम भुसालहरु खेदिन पुगे । आफ्नै नेतृत्वमा कम्युनिष्ट दल बचाउन सकेनन् र फुट्यो । ओली सरकारमा हुँदा प्रदेशलाई अधिकार दिएनन्, गृह र अर्थका निकाय प्रधानमन्त्री कार्यालय मातहत ल्याएर भ्रष्टाचारलाई बढावा दिने काम गरे । प्रधानमन्त्री कार्यालयमै ल्याएका कारण विभिन्न निकायहरुमा भ्रष्टाचार मौलाउन पुग्यो, भ्रष्टहरुले स्थान पाए । कम्युनिष्टको नाम यसैकारण बद्नाम हुन पुग्यो ।
मतका आधारमा ६४ प्रतिशत वामपन्थी, २३ प्रतिशत कांग्रेस भएको देशमा कम्युनिष्टले सरकार गठन गर्दा प्रगतिशील, व्यवहार अनुकुल, नीतिगत कामहरु सुरु गर्नुपर्दथ्यो । तर केपी ओलीले कम्युनिष्टको सरकार चलाउन सकेनन् । ओलीको राजर्षी व्यवहारकै कारण माओवादी चोइटिन पुग्यो । अझ एमालेकै संस्थापकहरुमाथि अध्यक्ष ओलीले आक्रमण गर्न पुगे, जसमा पूर्व अध्यक्ष र पूर्व प्रधानमन्त्री समेत थिए । एमाले अब विगतको जस्तो छैन । कालोबजारी, महंगी, भ्रष्टाचार र कुशासन रोक्नुको सट्टा एमालेको शासनमा बिचौलिया, माफिया, तस्करहरुले ठाउँ पाए । माओवादीले पनि देशको हित, राष्ट्रिय स्वार्थ पुरा गर्दैन ।
किनकि माओवादीमा दश वर्षे जनयुद्धको साँवा ब्याज उठाउन प्रतिस्पर्धा छ । एमाले पुरानो संसदीय अभ्यासको पारंगत भएकाले जनताले अपेक्षा गरे पनि केपी ओलीको शैलीले राष्ट्रिय सभा यसपटक निल हुँदैछ र ओलीको यही शैली रहिरहेमा आगामी दुई वर्ष पछि १ सिट मात्र हुनेछ । त्यसैकारण मिसन ८४ मा एमालेले एक्लै भिड्छु भन्नु घातक साबित हुनसक्छ ।