वनका उपभोक्ताले तागत विर्र्सिए

राजनीति समाचार

रामायण कथामा सिता हरणको एक प्रस¬ङ्ग छ । हरणमा परेकी सिता खोज्ने जिम्मा हनुमानले पाउँछन् । हनुमान आफ्ना बाँदर सेना सहित सिता खोज्न निस्कन्छन् । खोज्दै जाँदा समुन्द्रको किनारामा पुग्दछन् । त्यहाँ जटायु घाइते भएर लडेको हुन्छ । उस्ले खाने कुरा पनि पाएको हुँदैन । बाँदरको फौज देखे पछि सायद केही आश पनि लाग्यो होला । हनुमान नेतृत्वको बाँदर सेनाहरु आपसमा गफ गर्दा अनायसै राम, सिताको कुरा गर्दछन् । घाइते जटायुले त्यो कुरा सुन्दछ । अनी सोध्दछ, ‘तिमीहरुले राम सिताका कुरा किन गरेका ? तिमीहरु को हौं ?’ हनुमानले आफ्नो परिचय दिँदै सिता खोज्ने जिम्मेवारी पाएको कुरा बताउँछन् ।

तब जटायु उत्साहित हुँदै सुनाउँछ ‘मलाई थाहा छ, सिता कस्ले कता लगेको भन्ने कुरा । सितालाई रावणले हरेर लंका लगेको छ । मैले रोक्ने कोशिस गरें तर मेरो केही लागेन । रावणले मलाई तरबारले हानेर घाइते पा¥योे । अनी म यहाँ लडिरहेको छु । अव तिमीहरु छिटो लंका जाऊ । सिता फिर्ता ल्याउ ।’

हनुमानले नजिकै रहेको विशाल समुन्द्र हेर्दछन् । समुन्द्र तर्ने संभावना देखेनन् । हनुमान र उनको फौजसँग रावणको जस्तो विमान थिएन । के गर्ने होला भनी अलमल पर्दछन् । जटायुले कुरो वुझ्दछ, अनि भन्छ ‘तिमी वायु पुत्र हनुमान हौ । तिमीले सजिलैसँग यो समुन्द्र तर्न सक्छौ ।’ तर हनुमानलाई पटक्कै विश्वास लाग्दैन । कहाँ सक्छु र ? भन्दछन् । तब जटायुले पुराना कुरा संझाउँछ ‘कुनै बेला तिमीलाइ भोक लाग्दा सुर्यलाई खान्छु भनि उफ्रेका थियौं । तिमी भित्र अदम्य साहस तथा शक्ति छ । कोशिस गर । तिमी यो समुन्द्र सजिलै पार गर्न सक्छौं ।’ हनुमान भित्र रहेको शक्ति उजागर गर्ने काम जटायुले गर्दछ । जटायुको कुरा सुनेर हनुमान आफैंलाई नियाल्छन् ।

नभन्दै हनुमानले कोशिस गरे । आफ्नो तागत चिन्हे । त्यो विशाल समुन्द्र तरेर सजिलै लंका पुगे । लंकामा अनेक उपद्रो गरेको कथा हामीले सुनेका नैं छौं । कथामा भने अनुसार जटायुले हनुमानलाई छोएको पनि हैन । तर हनुमानले विगतमा भएको तागत विर्सेको थियो । जटायुले तागत संझाइ दियो । त्यसतै नेपालका सामुदायिक वनका उपभोक्ताहरु हालत पनि त्यस्तै भएको छ । आज भन्दा ३ दशक भन्दा अगाडी वन बिनासको दर असाध्यै वढेको थियो । वुट्यान समेत जोड्दा ३९.३६ प्रतिशत मात्र वन थियो ।

वन विनासको कारणले विकराल अवस्था आउने पूर्वानुमान थियो । तत्कालिन सरकारले अनेकानेक कोशिस ग¥यो तर वन विनासको दरमा कमी आएन । राष्ट्रिय वन उपभोक्तालाई सामुदायिक वनको रुपमा जिम्मा दिने कानून वन्यो । उपभोक्ताहरु जुटे । अनेकानेक कोशिस गरि वन संरक्षण गरे । अहिले वन क्षेत्र वढेर ४५ प्रतिशत नाघिसक्यो । शहरीकरण वढेको छ वन पनि वढेकै छ । यो अनौठो काम गरेर उपभोक्ताले देखाए । तर त्यो तागत हनुमानले झैं अहिले उपभोक्ताले विर्से ।

वन जोगाए तर उपयोग गर्न सकेनन् । जोगाउन भन्दा त सदुपयोग गर्न नैं सजिलो हुनु पर्ने हो । तर त्यस्तो हुन सकेन । हुर्काउन भन्दा त खान सजिलो हुनु पर्ने हो तर त्यस्तो भएन । खान अर्थात वनको सदुपयोग गर्न मुस्कील परिरहेको छ । उपभोक्ताहरु आफ्नो तागत विर्सेर वन जानै छाडे । यो अवस्था मुलुक भरकै होला । दोलखाको भीमेश्वर नगरपालिका क्षेत्र भित्रका सामुदायिक वनहरुको हालत त्यस्तै देखिएको छ । कथामा झैं जटायुको अभाव देखिएको छ । यो अभाव पूरा गर्न सामुदायिक वनहरुको छाता संस्था ‘भीमेश्वर फेकोफन’ जटायु जस्तो हुन खोजिरहेको छ । यस संस्थाका अध्यक्ष ज्ञान वहादुर तमाङ्ग सहितको टिमले जटायु बन्ने कोशिस गरिरहेको छ । यसमा साउथएसिया इन्सीच्यूट अफ एडभान्सड स्टडिजले सहयोग गरिरहेको छ ।

भीमेश्वर नगरपालिका भित्र रहेका साधान स्रोत भएका तर सम्पत्ति हुन नसकेका ६ वटा सामुदायिक वनहरुमा अलग अलग छलफल सुरु भएको छ । यसको मूल ध्येय भनेको उपभोक्ताले विर्सेको तागतलाई पुनः स्मरण गराउनु हो । यस क्रममा टोलगत रुपमा छलफल भए । हरेक सामुदायिक वनका कार्यसमिति र अगुवा सहितको सहभागीतामा दूरदृष्टिमा आधारित योजना तर्जुमा भए । मस्यौदा योजना टोलगत रुपमा छलफल भैरहेका छन् । अनी साधारण सभामा यी योजनालाई अन्तिम रुप दिने अठोट गरेका छन् । अहिलेसम्मको कोशिस हेर्दा वनमा स्रोत रहेको तर त्यसको सदुपयोग गर्न नसकेको ठहर गरिएको छ । त्यसकालागि उपभोक्ताले विर्सेको तागत संझिने कोशिस गरिरहेका छन् ।

समुदाय र वनमा रहेका सकारात्मक अभ्यासहरुलाई सूची वनाए । त्यसको बारेमा लेखाजोखा गरे । अनी सुन्दर भविष्यको कल्पना गरेका छन् । हरेक सामुदायिक वनले अलग अलग दूरदृष्टि वनाए । सो प्राप्तीकालागि समूहको हैसियत अनुसार क्रियाकलापहरु निर्धारण गरेकाछन् । समूह संस्थागत सुदृढ गर्ने, वन स्रोतलाई दिगो व्यवस्थापन तथा उत्पादनमुलक वनाई आर्थिक उपार्जनमा जोड दिने र विपन्नमुखी कार्यक्रम गरी आर्थिक तथा सामाजिक सशक्तिकरणसँग सम्वन्धीत क्रियाकलापहरु निर्धारण गरिएका छन् ।
एक सामुदायिक वन उपभोक्ता समूहले मात्र सवै खाल्का उद्यम विकास गर्न सक्दैनन् । त्यसैले छिमेकी सामुदायिक वन उपभोक्ता समूहहरुको सहकार्यमा उद्यम सञ्चालनकोलागि छलफल गर्दैछन् ।

एक सामुदायिक वनमा भएको उद्यमसँग सम्वन्धीत स्रोत अर्कोलाई उपलव्ध गराउने र अर्कोसँग भएको अर्कै खाले स्रोत आफुले ल्याई उद्यमको घान पु¥याउने असल अभ्यास गर्न लागेका छन् । वन स्रोतको सदुपयोग गरी आर्थिक उपार्जन नगर्ने हो भने वन र उपभोक्ताको जुइनो खुस्कीने देखियो । फलत सामुदायिक वन उपलव्धीमा नैं प्रश्न चिन्ह लाग्ने भैसक्यो ।

अन्त्यमा, उपभोक्तासँग तागत छ । तर विर्से जस्तो भएको छ । अब फेरी जागृत गराउन आवश्यक छ । सामुदायिक वनको नयाँ गन्तव्य सहित नयाँ काम गर्नु पर्दछ । यसकालागि कथामा झै जटायुको खाँचो छ । उपभोक्ताहरु तागत विर्सेर मानिस मात्रै भए । भूमिका निर्वाह गर्न छाडे । वन जान छाडे । वन चाँही जंगलमा रुपान्तरण हुँदैछ । अनी सामुदायिक वन अभियान प्रति प्रश्न चिन्ह खडा हुँदैछ । सामुदायिक वन अभियान दिगो नहुने हो कि भन्ने चिन्ता वढेको छ ।

सामुदायिक वन अभियानमा संगठन, वैधानिकता छ तर आर्थिक समृद्धिमा योगदान हुन नसक्दा संगठन फितलो हुन सक्दछ । उपभोक्ता वा संगठन फितलो भएमा वैधानिकता पनि गुमाउँदै जान सक्छ । उपभोक्ताहरुको क्रियाशिलताले सवैकुरा दिने हो । उपभोक्ताहरु कृयाशिल उपभोक्ता नैं हुन् अधिकार र भूमिका विहिन मान्छे मात्र नहुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *