मेलम्ची खानेपानीमा किन भइरहन्छ सधैं राजनीति

राजनीति समाचार

काठमाडौं । सरकारले मेलम्चीको पानी उपत्यकावासीलाई वितरण गरेर खाने पानीको अभाव हटाउने भनेर जति नारा दिएतापनि ‘हात्ती आयो, हात्ती आयो’ फुस्सा जस्तै भइरहेको छ । मेलम्ची खानेपानीको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, तत्कालीन खानेपानी मन्त्री बिना मगरहुँदै हालका प्रधानमन्त्रीसम्म आइपुग्दा र सरकारले पाँचौंपटक त उद्घाटन मात्रै गरेको छ ।

मेलम्ची खानेपानी आयोजनामा खाली उद्घाटन गरेर समय र पैसा खर्च गर्ने परम्परा नै चलेको छ । पटक–पटक सरकार र मन्त्री फेरिएपिच्छे मेलम्चीको पानी उद्घान गरेर चर्चा कमाउने काम भएको पनि ६, ७ वर्ष बित्न लागिसक्यो । तर, उपत्यकावासीले मेलम्चीको पानी उपयोग गर्न पाएका छैनन् । मेलम्चीको पानी खाने आशासँगै प्राइभेट रुपमा सञ्चालित जारको पानी किन्न वाध्य भएका छन् । अधिकांश पानी कम्पनीहरुले वितरण गर्ने जारको पानीमा लेउ, किरा, कसिंगर, धुलोलगायत विभिन्न लेदोजन्य फोहोर हुने गरेको पाइन्छ । तर, उपभोक्ताले भने सफा पानी भनेर जारको पानी ढुक्कले पिउने गरेका छन् ।

यसरी विक्रीवितरण गरिने जारको पानी पिएर अधिकांश मानिसहरु रुगाखोकी, हैजा, पखाला, आँऊ, ज्वरो, जन्डिस, छालाको एलर्जीजस्ता रोगबाट पीडित हुने गरेका छन् । तर, सरकार, सम्बन्धित मन्त्रालय, उपभोक्ता मञ्च, खाद्य गुण नियन्त्रण विभाग जस्ता जिम्मेवार निकायहरु मुकदर्शक बनेर बसेका छन् ।

उता उपत्यकाभित्र र बाहिर खोलिएका पानी कम्पनीहरु भने गुणस्तरीय सेवा दिनुको साटो उल्टै कसले बढी विक्रीवितरण गर्ने भनेर होडवाजीमा उत्रिने गरेको पाइन्छ । पानी कम्पनीहरुले विक्रीवितरणमा होडवाजी मात्रै गरेका छैनन् मेलम्चीको पानी आउन नदिन विभिन्न विचौलिया र जलमाफियाहरु प्रयोग गरेर सरकारलाई अलमल्याउने काम पनि गरिरहेका छन् ।

उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) पनि तिनै पानी कम्पनी सञ्चालक र जलमाफियाको चंगुलमा फसेर कमिसनमा लिप्त हुने गरेका छन् । कामभन्दा व्यापक रुपमा राजनीतिकण हुने हुँदा (केयूकेएल)ले अहिलेसम्म कार्यकारी अधिकृत (सीइओ)सम्म नियुक्ति गर्न सकेको छैन ।

प्रधानमन्त्री प्रचण्डले मेलम्ची खानेपानीको उद्घाटन गरे तापनि पानी वितरण गर्ने पाइप पुरानो भइसकेकाले फुटेर जताततै पानी खेरा गइराखेको छ । तर, उपभोक्ता भने पानीको अभावले जारको पानी किनेर खाना पकाउन वाध्य छन् । आयोजना प्रमुखहरु पुरानो पाइप मर्मत गरेर पानी सुचारु गर्नको लागि पैसा अभाव देखाएर पन्छिने गरेका छन् ।

उपत्यका खाने लिमिटेड (केयूकेएल)मा सुरुवाती दिनदेखि व्यापक रुपमा भ्रष्टाचार हुने गरेकाले उपत्यकावासीले खानेपानीको अभाव झेलिरहनु परेको छ । (केयूकेएल)मा सरकारले जुनसुकै सिइओ नियुक्ति गर्दा पनि सम्बन्धित मन्त्री, सचिव, आफूनिकट पार्टीको शीर्ष नेता र बिचौलियालाई ठूलो नजराना टक्र्याउनुपर्ने भएकाले पनि व्यापक भ्रष्टाचार हुने गरेको छ । नयाँ सिइओ नियुक्ति हुनासाथ कामभन्दा कमाउधन्दातिर लिप्त हुने भएकाले पनि मेलम्ची खानेपानी आयोजना पुरा नहुँदै धरापमा पर्ने देखिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *