मुलुकको बहुपक्षीय समृद्धिका लागि राजनीतिक स्थिरता अनिवार्य हुन्छ । नेपालमा राजनीतिक स्थिरता देखिए पनि दलीय अस्थिरताको कारण राजनीतिले दिशानिर्देश गर्न सकेको छैन । मुलुकलाई दिशानिर्देशन गर्नका लागि स्थिर राजनीतिक अभ्यास, प्रणालीगत शासन, विधिको शासन, कानूनी राज्यको परिपालना हुन जरुरी छ ।
तर नेपालमा दलीय गुटबन्दी, भ्रष्टाचार, बेथिति, राजनीतिमा नातावाद र कृपावादको प्रवृत्तिले मुलुकको अवस्था आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक पक्षबाट समेत खस्कँदै गएको देख्न सकिन्छ । मुलुकको राजनीतिमा स्थिरता देखिएमा मात्र मुलुकको व्यवस्थापकीय पक्ष पनि स्थिर हुँदै जान्छ ।
मुलुकको व्यवस्थापकीय पक्ष स्थिर हुन सकेको खण्डमा मात्रै प्रणाली र विधिको विकास हुँदै जान्छ । तबमात्र जनताले राज्यको अपनत्व गर्न सक्छन् । राजनीतिक दलहरुको सत्ता स्वार्थका कारण जनता चेपुवामा परेका छन् । गुटबन्दी र मिलिभगतमै भ्रष्टाचार र बेथितिले जरो गाडेको छ । एउटा दल, नेता वा कार्यकर्ताको अपराधमा अर्काे दल र नेताहरुले ढाकछोप गर्ने परिपाटी विकास भएको छ । वास्तवमा नेपालको सन्दर्भमा जनता सर्वाेपरी नभई, रैतीको अवस्थामा छन् भन्दा फरक पर्दैन ।
मुलुकले स्थिर राजनीति पाउन नसक्नुको कारण जनताले दलहरुलाई पत्याउन छाड्नु, राजनीतिक दलहरुले तिनै भ्रष्ट र आफ्ना निकट व्यक्तिहरुलाई जनप्रतिनिधिको रुपमा उम्मेद्वार बनाउनु हो । फलस्वरुप राजनीतिक दलहरु र तिनका नेताहरुले चुनाव जित्नकै लागि गठबन्धन गनुपर्ने अवस्था छ । विगतमा नेकपा एमाले र नेपाली कांग्रेसले बहुमत ल्याएर सरकारमा आएपनि मुलुक र जनताको विकासका लागि केही उपलब्धीपूर्ण काम गर्न सकेनन् ।
केवल आफ्ना निकटका नेता तथा कार्यकर्तालाई भर्ती गर्ने र सत्ताको दुरुपयोग गर्ने बाहेक काम हुन् सकेनन् । अहिलेको अवस्थामा कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत ल्याउने देखिँदैन । यसरी नै गठबन्धन गरेर सरकार चलाउनुपर्ने बाध्यताका कारण न त मुलुकको विकास हुने देखिन्छ, न त जनतालाई नै राहत हुने अवस्था हुन्छ । अझ गठबन्धन गरेर सरकार चलाउँदा स्वार्थ बाझिने र राजनीति निरन्तर अस्थिरताबाट गुज्रिनुपर्ने देखिन्छ ।
समय फर्किंदैन त्यसैले अब कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत पाउने देखिँदैन । यिनै भ्रष्ट नेताहरुले आलोपालो गरेर देशलाई लुट्ने बाहेक अन्य नयाँ राजनीतिक विकल्प जनताले देख्न सकेका छैनन् । जो आएपनि उस्तै भएको छ अहिलेको नेपाली राजनीतिमा । यी राजनीतिक दलको चेपुवा र दलदलबाट नेपाल र नेपाली जनता कहिले बाहिर निस्कन पाउने हो त्यो भने हेर्न बाँकी नै छ ।