रामचन्द्र बस्नेत
यतिबेला राजनीतिक दलहरुप्रति अधिकांश जनताहरुमा निराशा छाउँदै आएको छ । राजनीतिक दलहरुको अकर्मण्यताका कारण जनतामा निराशा छाउँदै आएको हो । राजनीतिक दलहरुले देश र जनतालाई विकास र सुशासन दिन नसक्दा दिनप्रतिदिन जनताहरु निराश हुँदै गएका छन् । राजनीतिक दलका नेताहरु जब सत्तामा पुग्छन् अनि आसेपासे र आफ्नो भविष्य बनाउनतिर तल्लिन हुन्छन् ।
उनीहरुले चुनावको बेला ल्याएको घोषणापत्र र गरेको बाचाबन्धनलाई बिर्सिएर भ्रष्टाचारमा लिप्त भएपछि अधिकांश जनताहरुले राजनीतिक दलहरुलाई विश्वास गर्न छाडेका छन् । दलका नेताहरु मन्त्री बनेपछि कहाँबाट हुन्छ कमाउधन्दामा व्यस्त रहने गरेकाले पनि यस्तो स्थिति सिर्जना भएको हो । देशमा भ्रष्टाचार, विकृति र विसंगतिहरु दिनप्रतिदिन मौलाउँदै गएको छ । दलहरुले त्यतातिर ध्यान दिएका छैनन् । महंगी र भ्रष्टाचारले गर्दा मुलुकमा आर्थिक मन्दी छाएको छ ।
जनताहरु महंगी र आर्थिक मन्दीको चपेटामा पिल्सिइरहँदा नेताहरु कमाउधन्दामा लिप्त देखिन्छन् । उल्टै आफ्नो दलका कार्यकर्ता कतातिर के गर्दै छन् भन्दै खोजीनिति गर्ने गर्दछन् । नेकपा एमालेले रोज्ने कार्यकर्ता भनेका स्कूल, कलेज, अस्पताल, रिसोट सञ्चालक, ठेकेदार, हाइड्रोपावर सञ्चालक, सहकारी सञ्चालक, व्यापारी, उद्योगीहरु र नेताका अगाडि पछाडि हिँड्ने व्यक्ति हुन् । यस्ता व्यक्तिहरुलाई मात्रै एमालेभित्र छानीछानी राजनीतिक नियुक्तिदेखि संगठनको नेता बनाउने चलन छ । अन्य सर्वसाधारण व्यक्तिहरुलाई एमालेले कार्यकर्ता ठान्ने गरेको पाइँदैन ।
विगत लामो समयदेखि पार्टी संगठनमा लागिपरेको, तल्लो तहसम्म जनताको काम गरेको, सामाजिक भावना भएको, पार्टी संगठन बलियो बनाउन सधैं लागिपरेको, संगठनमा अनुसासित तर उद्योगधन्दा, पैसा, पावर नभएको व्यक्तिलाई एमालेले आफ्नो कार्यकर्ता ठान्ने गरेको छैन । उता, नेपाली कांग्रेसभित्र वीपी, गणेशमान, कृष्णप्रसाद, गिरिजाप्रसाद, शेरबहादुर र डा. आरजुको नाम भँजाएर खाने व्यक्तिहरु पार्टीमा भए पुग्छ । यी नेताको नाम जपेपछि त्यस्ता कार्यकर्ताहरुलाई ठाउँ खोजीखोजी स्थान दिने चलन छ कांग्रेसमा ।
तर, पार्टीभित्र लामो योगदान गरेका, संगठनमा जुटेका, गाउँस्तरसम्म पार्टीलाई चलायमान बनाउने सक्ने, सर्वसाधारणको पहुँचमा रहेर काम गर्ने र पैसा नभएको व्यक्तिलाई कांग्रेसले कार्यकर्ता चिन्दैन । त्यस्तै माओवादी केन्द्रमा पनि विभिन्न हाइड्रो पावर सञ्चालक, व्यापारी, उद्योगी, होटल व्यवसायी, पर्यटन व्यवसायी, ठेकेदार, सुन तस्करी गर्ने, काठ तस्करी गर्ने, भूमाफिया, गिटी बालुवा उद्योगीलगायतका व्यक्तिहरुलाई पार्टीमा स्थान दिने गरिएको छ ।
जनयुद्धका बेला लडेका र सधैं पार्टीको लागि बलिदानी गर्ने सर्वसाधारण व्यक्तिलाई माओवादीले आफ्नो कार्यकर्ता ठान्दैन । नेकपा एकीकृत समाजवादीले त आफ्नो संगठन विस्तार नै गर्न सकेको छैन । केही पहुँचवाला, भाग नपाएर असन्तुष्ट भएका, केही व्यापारी, उद्योगी, ठेकेदारलगायतका व्यक्तिलाई स्थान दिएको छ । एमालेबाट रुस्ट भएका कार्यकर्ताहरुलाई आफूतिर तान्ने प्रयास पनि गरेको देखिँदैन । खाली नेतृत्वको आसेपासे र आफन्तलाई कमाइखाने भाँडो बनाइएको छ । उता, मधेसवादी दलहरुको त कुरै नगरौं ।
कहिले जुट्ने कहिले फुट्ने, कहिले सत्ताको लुछाचुँडी गर्ने त कहिले भारतको इसारामा चलेर मुलुकलाई बर्बाद बनाउने बाहेक अन्य काम गरेको देखिँदैन । नेतैपिच्छेका गुटहरुले कमाइखाने भाँडो मधेसलाई बनाएका छन् । न त उनीहरुले मधेसको हकहितको लागि काम गरेका छन् न त जनताको चाहना अनुसार विकास निर्माण नै गरेका छन् । उल्टै स्व. गजेन्द्रनारायण सिंहले जन्माएको पार्टीलाई टुक्र्याएर पार्टी अध्यक्ष बन्ने होडवाजीले नेतैनेता जन्माएको छ । दलहरुको अकर्मण्यताकै कारण स्वतन्त्रको नाममा विभिन्न नयाँ जोगीहरुको उदय हुँदैछ । ती नयाँ जोगीहरुको चर्तिकला हेर्दा पनि देश र जनताले निकासा पाउनुको सट्टा उल्टै झन् तहसनहस हुने देखिन्छ ।