काठमाडौं । राजनीतिक दलहरुले सत्तामा पुगेपछि आफ्नो पार्टीको विधि, विधान र सिद्धान्त बिर्सँने गरेका छन् । उनीहरु पार्टीको विधि र विधानलाई टेकेर सरकारमा पुग्छन् अनि त्यही विधि, विधानलाई कुल्चने काम गर्दछन् । यतिबेला सबै राजनीतिक दलहरुले आफ्नो पार्टीको सिद्धान्त, नीति नियमको धज्जी उडाउँदै जाँदा जनताबाट दिनप्रतिदिन अलोकप्रिय बन्दै गएका छन् ।
त्योसँगै हरेक राजनीतिक दल निकट संघ, संगठनहरु विस्तारै पलायन हुँदै गएका छन् । उता नेपाली कांग्रेस निकट तरुण दल, नेविसंघ, महिला संघ, ट्रेड युनियन कांग्रेस, प्रेस युनियनलगायतका भ्रातृ, भगिनी तथा सुभेच्छुक संघ संगठनहरु रहेका छन् । तर, तिनै संघ, संगठनमा बस्ने पदाधिकारीहरुले पार्टीको विधि, विधान र सिद्धान्तमा रहेर संगठनको हितमा काम गर्नुपर्नेमा त्यो नगरी आफू र परिवारको स्वार्थपूर्तिमा लाग्ने गरेकाले यस्ता संगठनहरु अलोकप्रिय बन्दै गएका छन् ।
त्यसको असर अहिले माउ पार्टी नेपाली कांग्रेसले भोग्नुपरिरहेको छ । एकतन्त्रीय जहानिया शासन व्यवस्थाविरुद्ध लडेर प्रजातन्त्रहुँदै गणतन्त्रसम्म मुलुकलाई ल्याउन महत्वपूर्ण भूमिका खेलेको नेपाली कांग्रेस अहिले जनताबाट तिरस्कृत हुँदै जानुपर्ने अवस्थामा पुगेको छ । विश्वले मानेको लोकतान्त्रिक शासन व्यवस्था अँगालेको कांग्रेसलाई अलोकप्रिय बनाउन यिनै भ्रातृ, मातृ तथा सुभेच्छुक संघ, संगठनमा आबद्ध पदाधिकारीहरु भागिदार बनेका छन् । किन भने उनीहरुले आफ्नो क्षेत्रबाट पार्टीलाई बलियो बनाउन जनतामाझ भूमिका खेल्नुपर्नेमा त्यो नगरी पदीय मर्यादालाई बिर्सिएर कमाउधन्दातिर लाग्दा यस्तो अवस्था आएको हो ।
यिनीहरु कमाउधन्दामा मात्रै लागेका छैनन्, पार्टीभित्र गुट सिर्जना गरेर, चुनावका बेला घात अन्तर्घात गरी आफ्नै पार्टीको उम्मेदवारलाई हराउन पनि पछि परेका छैनन् । उनीहरुले त्यसो पनि किन नगरुन् पार्टी नेतृत्वले संगठनमा इमानदारपूर्वक लागेका, जनतामाझ राम्रो छवि बनाएका, सिद्धान्तनिष्ठ ढंगले संगठनमा लागेका व्यक्तिहरुलाई पाखा लगाएर आफ्नो गुटमा लाग्ने र पैसा उठाउन सक्ने व्यक्तिलाई नेता बनाएपछि यस्तो स्थिति सिर्जना हुन थालेको हो । हरेक निर्वाचनमा नेपाली कांग्रेसले यदि चुनाव हारेको छ भने त्यहाँ प्रतिपक्षी पार्टीको भूमिका नभई आफ्नै पार्टीभित्रको गुटगत समस्याले हारेका हुन्छन् ।
यस्तो समस्या कांग्रेसभित्र भइरहँदा अझै पनि पार्टी नेतृत्वले गम्भीर रुपमा लिन सकेको छैन । किन भने पार्टी नेतृत्व अनुसारकै भ्रातृ, मातृ तथा सुभेच्छेक संघसंगठनमा नेतृत्व चयन हुने गर्दछन् । यस्ता संघ, संगठनका पदाधिकारीहरु निर्वाचनबाट प्रतिस्पर्धा गरेर आउनुपर्नेमा त्यो नगरी पार्टी नेतृत्वले सर्वसम्मतको नाममा टिका लगाएर चयन गर्ने गरेकाले पनि पार्टी संगठन भताभुङ्ग र अनियन्यत्रित हुँदै गएको छ । २०४८ सालमा एकलौटी बहुमत ल्याएर सरकार बनाएको कांग्रेसभित्र ७४ रे र ३६ से गुट जन्मिएपछि अधोगतितिर लागेको थियो । त्यसपछि २०५१ को मध्यावधि निर्वाचनमा दोस्रो दलमा सीमित भयो ।
२०५६ सालमा फेरि बहुमत ल्याएर एकलौटी सरकार बनाएको कांग्रेस नेताभित्रको आन्तरिक लडाइँका कारण त्यस यताका निर्वाचनमा एकलौटी बहुमत ल्याएर सरकार बनाउन सकेको छैन । अहिले हुँदाहुँदा केन्द्रदेखि स्थानीयतहसम्मको निर्वाचनमा गठबन्धनबिना एक्लै जान सक्ने आँट गर्दैन । नेपाली कांग्रेस जस्तो आफूलाई प्रजातन्त्रको मसिहा ठान्ने पार्टीको यो हविगत छ भने अन्य दलहरुको कुरै नगरौं ।