सरुवामा प्रधानमन्त्री र मुख्यसचिवको हस्तक्षेप

राजनीति समाचार

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काम गर्न नसकेपछि तिनै तहको कर्मचारी प्रशासनमा भद्रगोल अवस्था सिर्जना भएको छ । कर्मचारी प्रशासनमा भद्रगोल भइरहँदा राजनीतिक दलहरुले सामान्य प्रसाशन र संघीय मामिला मन्त्रालय छुट्ट्याउनुपर्ने अवस्था देखिएको छ ।

किन कि यदि सामान्य प्रशासन र संघीय मामिला छुट्टाछुट्टै मन्त्रालय भएको अवस्थामा सरकारलाई काम गर्न सजिलो हुने देखिन्छ । संघीय मामिला मन्त्रालयले प्रदेश र स्थानीय जनप्रतिनिधिहरुको काम हुनेपर्ने हुन्छ भने सामान्य प्रशासनले सम्पूर्ण कर्मचारीको सरुवा, बढुवा र नयाँ नियुक्ति गर्ने काम गर्दा उपयुक्त देखिन्छ ।

पहिलाको सामान्य प्रशासन मन्त्रालयलाई २०७२ मा संघीयता लागु भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गाभिएको थियो । यो मन्त्रालयको नाम दुईवटा भएजस्तै काम भद्रगोल भएको छ । कर्मचारीहरु र राजनीतिक दलहरुको समन्वयकारी भूमिका नहुँदा तिनै तहको सरकारमा ९९ प्रतिशत काम हुन सकेको छैन ।

यसले कार्यालयको काममा मात्रै वाधा नपरेर कर्मचारी खटनपटनमा समेत वाधा परिरहेको छ । कर्मचारी तन्त्रभित्र व्यापक राजनीतिकरण हुँदा संघीय मन्त्रालयले जस पाउन सकेको छैन । उता, मुख्य सचिवले सचिव, सहसचिव र उपसचिवहरुलाई आफ्नो नियन्त्रणमा राख्न सकेका छैनन् । किन कि त्यहाँ दलैपिच्छेको राजनीतिक हस्तक्षेप हुने गरेको छ । अहिले गठबन्धन सरकार निकट कर्मचारी र प्रतिपक्ष दल निकट कर्मचारीहरुको टसलले अधिकांश मन्त्रालयका कामहरु थलालिङ्ग भएका छन् ।

कतिपय कर्मचारीहरु बढुवाको लागि समय कुरेर बसेका छन् भने कतिपय बढुवा भएका कर्मचारीहरु सरकारले कहाँ व्यवस्थापन गर्ने हो भन्दै सिंहदरबारमा घाम तापेर बस्ने गरेका छन् । कतिपय उपसचिवबाट सह–सचिवमा बढुवा भएका अधिकारीहरु सरकारले कुन कुन प्रदेशमा व्यवस्थापन हो थहा छैन भन्दै बसेका छन् ।

गत मंसिरमा सरकारले ७१ जना सहसचिवको सरुवा गर्दा कतिपयको चित्त बुझेको थिएन । हाल २७ उपसचिवहरु सहसचिवमा बढुवा भएका छन् । यतिबेला संघीय मन्त्रालयमा ९८ जना सहसचिवहरुको पदस्थापना भए तापनि कतिपय सहसचिवहरु राजनीतिक सोर्सफोर्स र भनसुन नहुँदा अलपत्र परिराखेका छन् ।

अलपत्र परिराखे तापनि उनीहरुले आफ्नो पद अनुसारको सेवा, सुविधा भने लिएकै छन् । कतिपय सिनियर सचिवहरुलाई पाखा लगाएर जुनियर सचिवलाई मालदार अड्डामा खटाउने काम भएको छ । यतिबेला प्रधानमन्त्री कार्यालय, संघीय मामिला मन्त्रालय र मुख्यसचिवबीच कर्मचारी सरुवा, बढुवाको विषयलाई खटपट सुरु भएको छ । संघीय मामिला मन्त्री अनितादेवी साहले मेरो मन्त्रालयअन्तर्गत पर्ने कर्मचारी सरुवा, बढुवामा मलाई जानकारी नगराएको भन्दै सचिव विनोद सिंहसँग असन्तुष्टि जनाउँदै आएकी छिन् । मन्त्री साहले कर्मचारी सरुवा, बढुवामा प्रधानमन्त्री कार्यालय र मुख्यसचिवले एकलौटी हस्त क्षेप गर्ने हो भने आफू मन्त्री पदमा रहिरहन उचित नहुने बताउन थालेकी छिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *