कर्मचारी र प्रहरीबिचको सामञ्जस्यता खै ?

राजनीति समाचार

नेपाल सरकारका मातहतका कर्मचारी र प्रहरीबिचको द्वन्द्व कहिलेकाहीँ सरकारकै लागि टाउको दुखाईको विषय बन्ने गरेको छ । सरकारका निकायबिच सामञ्जस्यता हुन सकेन भने न जनताले चाहेअनुसारको सेवा पाउन सक्छन्, न त सरकारले नै काम गर्न सक्छ । कर्मचारी र प्रहरी भनेका देशका अभिन्न अंग हुन् । राज्य सञ्चालनका पिलर हुन् ।

तर प्रहरी र कर्मचारीकै मुटावका कारण सरकार नै बद्नाम हुने गरेको छ । कर्मचारी र प्रहरी बिचको बाझाबाझकै कारण जनताले पाउने सेवामाथि समेत आशंका गर्न थालिएको छ । कर्मचारी र प्रहरीको सेवा, सुुविधा, कार्य प्रकृति, पदानुक्रम सबै छुट्टै रहेको छ । तरपनि कार्यसम्पादनका क्रममा कर्मचारी र प्रहरीको विवाद हुँदै आएको छ । यो समस्या आजको होइन, विगत देखि नै यस्ता समस्या आउने गरेका थिए । भन्सार क्षेत्र, अतिसंवदेशील क्षेत्र, विमानस्थललगायतका क्षेत्रहरुमा सुरक्षा निकाय र कर्मचारी वृत्तको मनमुटाव हुने गरेको छ । यसरी दुई पिलरबिचको सामञ्जस्यता हुनुपर्नेमा संवेदनशील क्षेत्रमै बाझाबाझ हुनुले आन्तरिक मात्र नभई बाह्य रुपमा पनि नकारात्मक प्रभाव पर्न गएको पाइन्छ ।

हालै अतिसंवेदनशील मानिने नेपालको त्रिभुवन विमानस्थलमा अध्यागमनका कर्मचारी र प्रहरीबिच हात हालाहालको अवस्था आएको छ । यस्तो अवस्था सिर्जना हुनुमा वास्तविक जिम्मेवार को हो ? सत्यतथ्य बुझेर यस्तो अवस्था सिर्जना गर्न जिम्मेवारी कर्मचारी, प्रहरी या जो कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । पछिल्लो समय सुन तस्करीदेखि लिएर विभिन्न विवाद विमानस्थलमै हुने गरेको छ । यसरी खुलेआम तस्करी हुनुमा सुरक्षा निकाय र कर्मचारी सबैको संलग्नता रहेको बुझ्न सकिन्छ ।

तर विमानस्थलजस्तो संवेदनशील क्षेत्रमै बाझाबाझ गर्ने, सुरक्षा संवेदनशीलताको उल्लघंन गर्ने, आफुलाई ठूलो ठान्ने प्रवृत्ति अनुचित हुन्छ । अध्यागमका कर्मचारी र प्रहरी बिचको झगडालाई लिएर सुरक्षा निकायले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर आफुहरुले सुरक्षा जाँच मात्रै गर्न चाहेको बताइरहँदा अध्यागमनका कर्मचारीले आफुहरुलाई सुरक्षा निकायले काम गर्न कठिनाई सिर्जना गरेको र बाधा अडचन गरिरहेको बताएको छ ।

अध्यागमनका कर्मचारीमाथि हात हालेको भन्दै कर्मचारीले विरोध पनि गरिरहेका छन् । दोषी को हो त्यो अलग कुरा हो, तर विमानस्थल जस्तो अतिसंवेदनशील क्षेत्रमा चाहे त्यो कर्मचारी होस्, प्रहरी होस् वा प्रधानमन्त्री नै किन नहोस् चेकजाँच हुन जरुरी नै हुन्छ । अर्काेतर्फ, सरकारी कर्मचारीलाई पनि कार्यसम्पादनमा सुरक्षा निकायले बाधा अड्चन सिर्जना गर्नु हुँदैन । सरकारी निकायको सामञ्जस्ताले नै सेवा प्रवाह सुरक्षित र भरपर्दाे हुन्छ । त्यसैले प्रहरी र कर्मचारी वृत्तको सामञ्जस्यताका विषयमा नीति निर्माण गर्दा विशेष ध्यान पु¥याउन जरुरी देखिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *