अख्तियार दिवस मनाउँदै, देशमा भ्रष्टाचारी मौलाउँदै

राजनीति समाचार

काठमाडौं । अख्तियार दूरपयोग अनुसन्धान आयोगले आफ्नो स्थापना कालको ३३ औं दिवस सम्पन्न गरेको छ । सो दिवसको प्रमुख अतिथि रहेका राष्ट्रपति रामचन्द्र पौडेलले भष्टाचारमा संलग्न जतिसुकै ठूलो ओहदाको व्यक्ति भएपनि छाड्न नहुने बताइरहँदा देश दिनप्रतिदिन भष्टाचारमा डुब्दै गएको छ । सोही कार्यक्रममा अख्तियार प्रमुख प्रेम कुमार राईले पनि देशमा व्याप्त भ्रष्टाचार रोक्न उच्च निकायबाटै पहल गर्नुपर्ने भनिरहँदा त्यसैबाट प्रष्ट हुन्छ कि नेपालमा राजनीतिक दलका शीर्ष नेतादेखि उच्च पदस्थ कर्मचारी, न्यायाधीश र सुरक्षा निकायको सेटिङमा भ्रष्टाचार हुने रहेछ भन्ने ।

अख्तियारले जतिसुकै भ्रष्टाचारका मुद्दा दायर गरे तापनि न्यायाधीशहरुले सफाइ दिने गरेका छन् । न्यायाधीशहरुको सेटिङले पनि अख्तियारले सफलता पाउन सकेको छैन । भ्रष्टाचारको उजुरी अख्तियारमा पर्छ तर भ्रष्टाचारीहरुले राजनीतिक शक्तिकेन्द्रदेखि विभिन्न निकायलाई प्रयोग गरेर न्यायालयमार्फत चोखिने काम गर्दै आएका छन् । त्यसको गतिलो उदाहरण लिन सकिन्छ बालुटार जग्गा हिनामिना काण्ड, नक्कली भुटानी शरणार्थी काण्ड, सुन तस्करी काण्ड र विभिन्न सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने काण्डहरुलाई । न्यायाधीश, अख्तियार प्रमुख, सम्पत्ति सुद्धिकरण, सुरक्षा निकाय र राष्ट्रिय सतर्कता केन्द्रबीच समन्वयकारी भूमिका नहुँदा पनि वास्तविक भ्रष्टाचारीहरुले छुटकारा पाउने गरेका छन् ।

ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्टमा विश्वमा अति भ्रष्टाचार हुने देशमध्ये नेपाललाई ११० औं स्थानमा राखेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपाललाई अति भ्रष्टाचार हुने देशमा दर्ज गर्दा राजनीतिक दलहरु र सम्बन्धित निकायले त्यसमा ध्यान दिएको पाइँदैन । उल्टै राजनीतिक दलका शीर्ष नेताहरुदेखि सम्बन्धित नियका उच्च तहका कर्मचारीहरुले विचौलिया र माफियाहरुसँग मिलेर संस्थागत भ्रष्टाचारलाई बढावा दिने काम गरेका छन् ।

नेपाल सरकारका उच्च तहका कर्मचारीदेखि सुरक्षा निकायका कर्मचारीहरु जागिरबाट अवकास पाएपछि ठूला उद्योगी, व्यापारीहरुको सल्लाहकार र सहयोगी बनेर कर छलीदेखि विभिन्न अवैध कारोबारमा संलग्न हुने गरेको त्यसको उदाहरण हो । त्यसकारणले पनि अख्तियारले स्थापनाकालको ३३ औं दिवस मनाएर ठूला–ठूला भाषण गरे तापनि नेपालमा भ्रष्टाचार न्यूनिकरण हुने अवस्था छैन । सरकारीदेखि गैरसरकारी संघ संस्थाहरुमा जताततै भ्रष्टाचार बढेर गइरहेको छ तर त्यसको निगरानी भने कुनै निकायबाट भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *