गृहकै कारण माफियाहरु सलबलाउँदै

राजनीति समाचार

काठमाडौं । गृहमन्त्री नारायाणकाजी श्रेष्ठले सुरक्षा निकायलाई निःस्वार्थ रुपमा चलायमान बनाउछु भनेर ठूला–ठूला भाषण गरे तापनि त्यो अनुसारको काम गरेको पाइँदैन । मन्त्री र सचिवको सम्बन्ध सुमधुर नहुँदा गृहमन्त्रालय अन्तर्गतको सुरक्षा निकायमा समेत समस्या देखिएको छ । नेपाल प्रहरीले डिएसपी र एसपीहरुको सरुवादेखि इन्स्पेक्टरहरुको सरुवा रोकिएको छ । गृहमन्त्रालय यतिबेला विचौलियाहरुको घेराभित्र परिरहेको छ ।

सचिव र मन्त्रीको राम्रो सम्बन्ध नहुँदा प्रहरी संगठन पनि चलायमान बन्न सकेको छैन । उता आइजीपी वसन्त कुँवरले पनि प्रहरीभित्र भएको विकृति, विसंगतिहरु हटाउन सकेका छैनन् । गृहसचिव दिनेश भट्टराईले अन्यत्र सरुवा हुने देखाए तापनि मन्त्री श्रेष्ठले हटाउन सकेका छैनन् । गृहमन्त्री श्रेष्ठले बाहिर जति सुशासनको कुरा गरे तापनि भित्री रुपमा उनकी सहयोगी सुशान्त बज्राचार्यले खेलिरहेकी छिन् । श्रेष्ठ जुन मन्त्रालयको मन्त्री हुन्छन् त्यहाँ सुशास्तले डेरा जमाइहाल्छिन् ।

श्रेष्ठ तत्कालीन परराष्ट्रमन्त्री हुँदा पनि सुशान्तकै हालीमुहाली हुने गरेको थियो । त्यस्तै नारायणकाजी भौतिक मन्त्री हुँदा पनि सुशान्तकै चल्तीफिर्ती हुने गरेको थियो । अहिले नारायणकाजी गृहमन्त्री हुँदा पनि उनै सुशान्तको हालीमुहाली मन्त्रालयभित्र चल्ने गरेको स्रोतको दावी छ । नेपाल प्रहरीभित्र हुने सरुवा बढुवाको लागि पनि उनको हात रहने गरेको बताइन्छ । गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी काण्ड, बालुवाटार जग्गा काण्ड, सुनतस्करी काण्डलगायतमा मुछिएका र विभिन्न सार्वजनिक जग्गा हडप्ने विचौलियाहरुलाई कारबाही गरेरै छाड्छु भनेका थिए । त्यसै मेसोमा उनले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडप्न खोजेको आरोपमा अनुरुण चौधरीलाई गिरफ्तार गरेर तमासा देखाएका थिए ।

तर, विनोद चौधरीले विभिन्न स्थानमा हडपेको सरकारी जग्गा फर्काउन पहल गर्नुपर्नेमा त्यतातिर ध्यान दिएका छैनन् । नेपालका महत्वपूर्ण ठाउँका अधिकांश सरकारी जग्गा कब्जा गर्ने, उद्योगधन्दा सञ्चालन गर्ने राज्यलाई कर छली गर्ने, उपभोक्तालाई क्वान्टीटीमा ठगी गर्ने, राजनीतिक दलहरुलाई सहयोग गर्ने नाममा प्रभावित गरेर भन्सार छली गर्नेलगायतको हर्कत गरेर धनी कहलिएका चौधरी विश्वको धनी सुचीमा आफूलाई दर्ज गर्न सफल भएका छन् । त्योसँगै कहिले नेकपा एमाले, कहिले नेपाली कांग्रेसबाट सांसद बन्न सफल भएका छन् । त्यसैगरी चौधरीले आफ्नो अनुभवलाई समेटेर किताब प्रकाशन गर्न पनि भ्याइसकेका छन् । चौतर्फी भ्रष्टाचार गरेर राज्यमाथि खेलवाड गर्ने व्यक्तिलाई गृहले कारबाहीको दायरामा ल्याउन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *