ठूला राजनीतिक दलभित्र आन्तरिक शक्तिसंघर्ष हुँदा लोकतन्त्र खतरातिर

राजनीति समाचार

रामचन्द्र बस्नेत
ठूला राजनीतिक दलहरुमा विधि र विधानमाथि मत विभाजन हुँदा आफै संकटमा पर्दै गएका छन् । सत्तासाझेदार ठूलो दल नेपाली कांग्रेसभित्र शीर्ष नेताहरुकै हालीमुहाली चलिरहने कारणले सधैं नेतृत्वकै विषयमा प्रश्नचिन्ह खडा हुने गरेको छ । त्यसले गर्दा पार्टीभित्र संस्थापन पक्ष र इतर पक्षबीच लडाइँ चल्दै आएको छ । पार्टीभित्रको आन्तरिक लडाइँले गर्दा निर्वाचनमा पनि कांग्रेसले सधैं हार खाने गरेको छ । कांग्रेसले फागुन ७ देखि १० गतेसम्म चल्ने गरी महासमिति बैठक बोलाएको छ ।

गोदावरीमा हुने सो महाधिवेशन बैठकमा विधि र विधानलाई लिएर आन्तरिक विवाध झन् बड्ने देखिन्छ । कांग्रेसभित्र नेपाललाई हिन्दू राज्य कायम गर्ने गर्ने कि धर्मनिरपेक्षता नै कायम राख्ने भन्ने विषयमा राम्रै बहस हुने आँकलन गरिएको छ । यो महासमिति बैठकले कांग्रेसको आगामी महाधिवेशनको भविष्य निर्धारण गर्ने राजनीतिक विश्लेषकको भनाइ छ । त्यस्तै नेकपा एमालेभित्र पनि माधव नेपाल र केपी ओलीबीचको शक्ति संघर्षले पार्टी नै पुट्न पुग्यो । त्यसको असर एमालेभित्र परिराखेको छ ।

माधव नेपाल पक्ष फुटेर गएपनि एमालेभित्र फेरि केपी ओली नै हावी भएका छन् । अन्य नेताहरु नेतृत्व हत्याउनको लागि आन्तरिक संघर्षमा उत्रिइरहेका छन् । पटक–पटक फुटको सामना गर्दै आएको नेकपा माओवादी केन्द्रभित्र पनि आन्तरिक कलह झागिँदै गएको छ । माओवादीभित्र विधि र विधानलाई लिएर आन्तरिक मतभेद चर्किँदै गएको हो । नेताहरुबीच मतभेद हुँदै जाँदा माओवादीमा पनि असर पर्दै गएको छ । अध्यक्ष प्रचण्डले नयाँ घेरा बनाएर एकलौटी अगाडि बढिरहँदा अन्य ठूला नेताहरु पाखा लाग्दै गएका छन् । माओवादीभित्र यसअघिका महाधिवेशनहरुमा सर्वसम्मतको नाममा एकलौटी नेतृत्व चयन गरिँदै आइएको थियो ।

तर, यसपटक पदाधिकारी र स्थायी समितिमा प्रत्यक्ष निर्वाचन प्रावधान राख्ने कि नराख्ने भन्ने विषयमा चर्को आवाज उठ्न थालेको छ । गत सोमबार बसेको बैठकमा विधानको विधिबारे माओवादी नेताहरुबीच विचार बाझिएको थियो । त्यो बैठकमा बहुसंख्यक नेताहरुले त प्रत्यक्ष निर्वाचन प्रणालीबाटै पदाधिकारी र स्थानीय समिति चयन गर्नुपर्ने अडान राखेका थिए । तर, कति प्रतिशत प्रत्यक्ष गर्ने र कति प्रतिशत सर्वसम्मत चयन गर्ने भन्ने विषयमा भने मत विभाजन हुँदै आएको छ । त्यसले गर्दा पनि आगामी महाधिवेशनमा माओवादीभित्र ठूलै शक्तिसंघर्ष हुने देखिन्छ । लामो समयदेखि सत्ताको अनुभव बटुली सकेका जिम्मेवार पार्टीभित्रै हरेक महाधिवेशनमा विधन र विधिलाई लिएर विवाद सिर्जना हुने गर्दछ । तर, नेतृत्व चयन गर्दा विधि र विधानलाई कुल्चिएर सर्वसम्मतको नाममा पार्टी कब्जा गर्ने काम भइरहेका छन् । लोकतन्त्रको हवाला दिएर एकलौटी ढंगले पार्टी नेतृत्व चयन गर्नु कति उचित हुन्छ ? जब हरेक पार्टीभित्र आन्तरिक लोकतन्त्र हुँदैन भने त्यो नेतृत्वले देशमा कसरी लोकतन्त्रको आभास दिन सक्छ ? पार्टीहरुले आन्तरिक लोकतन्त्रको अनुभुति दिन नसकेपछि आमनागरिकले लोकतन्त्रको अनुभूति कसरी गर्ने ? त्यसको असर अहिले सबै राजनीतिक पार्टीभित्र केन्द्रदेखि स्थानीय वडा तहसम्म परेको छ । जिम्मेवार दलहरुले विधि र विधानको विषयमा आन्तरिक संघर्ष गरिहँदा जनसमर्थन पनि गुमाउँदै गएका छन् । त्यसको फाइदा स्वतन्त्रको नाममा उदाएका विभिन्न खेमाले लिँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *