अकुत कमाउँदै श्रीमती बटुल्दै

राजनीति समाचार

काठमाडौं । कर्मचारीको हकमा पैसा कसरी फल्दछ ? एउटा दुईवटा होइन चार चार वटी पत्नी पाल्ने र तिनका नाममा घर घडेरी बंगला जोड्ने पैसा कहाँबाट आउँछ ? इमान्दार ढंगले काम गरेर जीवन धान्नै गाह्रो छ तर बेइमानी गर्नेहरुकै बोलबोला छ निजामतीमा । मुलुकलाई तन्नम बनाउनमा नेताको जति ठूलो हात र भूमिका छ त्यो भन्दा कम भूमिका छैन एउटा कर्मचारीको । एउटा अधिकृतको तलब हुन्छ नै कति ४५ हजार हाराहारी तर त्यही तलब थाप्ने कर्मचारीको ऐयासी र बिलासी जीवन देख्दा अख्तियारकै कर्मचारीहरु जीव्रो टोक्न थालेका छन् ।

अख्तियारका अधिकारीहरुलाई चकित पार्ने गरी अकुत आर्जन गर्ने अफिसर हुन मीनबहादुर भट्टराई । उनी ललितपुर मालपोत कार्यालयका तत्कालीन अधिकृत,जो सँग मात्र साढे चार करोड अवैद्य अर्थात श्रोत नखुल्ने सम्पत्ति छ भन्दैछन्,अख्तियारका अधिकारीहरु । भट्टराईले जागिर शुरु गरेको ०५४ सालमा । २५ वर्ष जागिर, २० वटा पोस्टिङमा उनको वैद्य आय अर्थात स्रोत खुल्ने सम्पत्ति ५ करोड ९५ लाख तर उनले विभिन्न बैंकमा राखेको व्यालेन्स,विभिन्न ठाउँमा गरेको लगानी १० करोड २३ लाख ९२ हजार । अख्तियारले सात बर्ष लगाएर खोज्दा भट्टराईसँग भएको चार करोड बढी रकमको स्रोत फेला पार्न सकेको छैन ।

२५ बर्ष अघि सुब्बाबाट सरकारी सेवामा पाइला राखेका हुन भट्टराईले । पहिलो पोस्टिङ जिल्ला हुलाक कार्यालय सोलुखुम्बुमा थियो । झण्डै १० बर्ष हुलाकमा बिताएका भट्टराईले ६४ सालबाट फड्को मार्न सफल भएका उनका सहकर्मीहरु सुनाउँछ । ६४ सालमा हुलाकबाट मालपोतमा सिफ्ट भएपछि उनलाई आर्थिक रुपमा खडेरी पर्न छाड्यो । दायाँ फर्किए पनि पैसा,बायाँ फर्किए पनि पैसा बर्सिन थाल्यो ।मालपोत त्यसमा पनि डिल्लीबजारबाट शुरु भयो उनको कमाउ यात्रा ।

तिनताक डिल्लीबजार सबैभन्दा बढी घर जग्गा कारोबार हुन ठाउँ । उनको पिआइएस केलाउँदा २०६६ माघ देखि २०७० वैशाख २६ सम्म भूमि सुधार तथा व्यवस्थापन मन्त्रालयमा काम गरेका भट्टराईले २०७० वैशाख २७ मा झापाको दमकस्थित मालपोत कार्यालयमा मालपोत अधिकृत र सोही वर्ष असोज २२ देखि २०७१ माघ २९ सम्म मालपोत कार्यालय ललितपुरमा काम गरेका अभिलेखमा भेटिन्छ । निजामती किताबखानाबाट प्राप्त विवरण अनुसार जागिरे अवधिभर भट्टराईले यातायात र मालपोत लगायतका कार्यालयमा बढी बसेको देखिन्छ । दुई बर्ष महोत्तरी र काभ्रपलाञ्चोकमा जिल्ला प्रशासनमा बिताएका उनले त्यस पछिको तीन बर्ष यातायात कार्यालय सिरहामा बिताए । सिरहा यातायात कार्यालयमा २०७६ वैशाख १७ गते पोस्टिङ पाएका उनले त्यहाँ २०७९ भदौ १४ सम्म काम गरेका थिए ।

उनको अन्तिम पोस्टिङ भने मधेस प्रदेशस्थित उद्योग, पर्यटन, वन तथा वातावरणमा रहेको देखिन्छ । नायब सुब्बाबाट जागिर सुरु गरेका भट्टराईले २५ वर्षमा चार करोड ४० लाख १५ हजार ९ सय २५ रुपैयाँ ८६ पैसा गैरकानुनी तबरले आर्जन गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ । उनले झापास्थित दमकमा तीन आना,दमकमै अर्काे जग्गा,२०७८ भदौ ११ मा भट्टराईले काठमाडौँ–१० मा घरसहित १२ आना, तीन पैसा तीन दाम र दुई आना एक दाम जमिन ५ करोड ७९ लाख ३७ हजारमा खरिद गरेका थिए । उनले ६ करोड ६० लाख १६ हजार ७ सय ५० रुपैयाँ बराबरको घरजग्गा खरिद गरेको जनाइएको छ । भट्टराइका नाममा ललितपुरको लुभु, झापाको दमक, भक्तपुर लगायत गरि ११ ठाउँको जग्गा जमिन किनेको बताइएको छ ।

यस अघि निजामती वृत्तलाई नै गिज्याउने एउटा भ्रष्टचारको घटना सार्वजनिक भएको थियो । गाविस सचिव, नेपाल दूरसञ्चार कार्यालयमा सहायक स्तरको कर्मचारी हुँदै यातायात व्यवस्था कार्यालयको लेखापाल नियुक्त भएका कर्मचारी हुन सुरेश अधिकारी । उनै अधिकारी सार्वजनिक सेवामा बहालरत हुँदा ५ करोड १० लाख ३३ हजार रुपैयाँ बराबरको अकुत सम्पत्ति आर्जन गरे । ०५९ साल असोज १६ गते रोल्पामा गाविस सचिवको रूपमा जागिरमा प्रवेश गरेका अधिकारी ०६० जेठ २६ गतेदेखि २०६५ चैत्र १९ गतेसम्म नेपाल दुरसञ्चार कार्यालयमा सहायक कर्मचारीको रूपमा काम गरे ।

दूरसञ्चारमा कार्यरत रहँदा वार्षिक भत्ता, बोनस, प्रोत्साहन समेतको आय जोड्दा ५ लाख ६३ हजार ९२२ रुपैयाँ मात्र बचत देखिएको थियो । २०६७ चैतदेखि २०७४ वैशाख ६ गतेसम्म यातायात व्यवस्था कार्यालय इटहरीमा लेखापालको रूपमा काम गरेका थिए ।यही अवधिमा पदीय हैसियतभन्दा अकुत आर्जन गरेको र आर्जित सम्पत्ति चार श्रीमतीदेखि सासुहरुका नाममा समेत लगानी गरेको भेटिएपछि अख्तियार विशेष अदालतमा पुगेको थियो २०७६ वैशाख २३ गते । उनका चारै जना पत्नीहरु दुर्गा अधिकारी, दीपा श्रेष्ठ, सुस्मिता अधिकारी,सोममाया श्रेष्ठ रहेको र ती सबैका नाममा घर,गाडी रहेको विवरण भेटेपछि अख्तियारका अनुसन्धान अधिकारीहरुले चित्त खाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *