भ्रष्ट मन्त्रीको फोन देउवाले नउठाएपछि हंगामा

राजनीति समाचार

काठमाडौं । पछिल्लो समयमा काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै मन्त्रीहरुको फोन उठाउन छाडेका छन् । बूढानिलकण्ठ स्रोतका अनुसार,उनलाई भेट्न पुगेका काँग्रेसी खेमालाई नै काँग्रेस पार्टी भ्रष्ट मन्त्रीलाई जोगाउन लाग्दैन भनेर पठाउने गरेका छन् ।

केही दिन अघिमात्र एक जना मन्त्रीले १९ पटकसम्म देउवालाई फोन गर्दा उक्त फोन रिसिभ नगरेको र उनले काँग्रेस पार्टी भ्रष्ट मन्त्रीसँगै सति जाँदैन भन्ने जबाफ फर्काएको बताइन्छ । अहिले काँग्रेसबाट पार्टीबाट परराष्ट्र,रक्षा अर्थ,स्वास्थ्य,उद्योग,महिला बालबालिकासहितका जिम्मेवारीसहित सत्ता साझेदार छ । सत्तामा रहेका मध्ये सबैभन्दा बढी आलोचित छन्,मोहन बस्नेत । बस्नेत टेरामक्स प्रविधि घोटाला काण्डमा मुछिएका छन् । बूढानिलकण्ठ स्रोतका अनुसार देउवा विवादित मन्त्री बस्नेत र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई हटाउन कांग्रेस सभापति देउवाले ‘ग्रीन सिग्नल’ दिएका हुन् ।

अर्थमन्त्री प्रकाशशरण महतलाई हटाउने विषयमा समेत देउवाले मानेका छैनन् । देउवाले १५ गते सदनमा बजेट प्रस्तुत गरे पछि मात्र अर्थमन्त्री फेर्न पर्ने बिषय राखिरहेका छन् । पछिल्लो समय संसद्मा स्वास्थ्यमन्त्री बस्नेतसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्ने काम भइरहेको छ ।

यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दूरसञ्चार क्षेत्रको बहुचर्चित टेरामक्स प्रविधि घोटालामा भ्रष्टाचार मुद्धा विशेषमा लैजाने तयारी गरिरहेको छ । दूरसञ्चार क्षेत्रकै भ्रष्टचार प्रकरणमा जोडिएर विकल पौडेल र सुनिल पौडेललाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । अख्तियारले ३ अर्बको टेरामक्स प्रविधि घोटालामा अख्तियारले निकै मिहिन र गहन ढंगले अनुसन्धान गरेको स्रोतको दाबी छ ।

जसमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसहित पूर्वसञ्चारमन्त्रीहरू ज्ञानेन्द्रबहादुर कार्की वर्तमान मुख्य सचिव तथा तत्कालीन सञ्चार सचिवहरु डा. बैकुण्ठप्रसाद अर्याल (हाल मुख्यसचिव) र महेन्द्रमान गुरुङ (हाल प्रमुख सूचना आयुक्त)सँग पनि अख्तियारले बयान लिइसकेको छ । त्यस्तै सञ्चार मन्त्रालयका तत्कालीन सहसचिव विनोद प्रकाश सिंह (हाल सामान्य प्रशासन सचिव) र तत्कालीन दूरसञ्चार प्राधिकरणका बोर्ड सदस्य धनराज ज्ञवाली (कानुन सचिवबाट अवकाश)लाई पनि टेरामक्स प्रविधि घोटालामा अख्तियारले बयान लिइसकेको हो ।

अख्तियारले टेरामक्स प्रविधि घोटालामा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षहरु दिगम्बर झा र पुरुषोत्तम खनालसँग समेत बयान लिएको छ । यसरी हेर्दा टेरामक्स घोटलामा सञ्चार मन्त्रालयका ३ पूर्वमन्त्री, २ पूर्वसचिव, कानुन मन्त्रालयका १ पूर्वसचिव, सञ्चार मन्त्रालयका तत्कालीन १ सहसचिव, नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वयको प्रत्यक्ष संलग्नता देखिन्छ । यी सूचना प्रविधि क्षेत्रको घोटालामा जोडिएका ठूला माछा हुन् । ठूला माछा समात्न अख्तियारले गर्ने हिम्मतलाई धेरैतिरबाट प्रशंसा हुँदै आएको छ ।

टेरामक्स प्रविधि घोटालामा संलग्न प्राधिकरणको विभिन्न तहमा आवद्ध अच्युतानन्द मिश्र, विजय कुमार रोय, रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी, संदिप अधिकारी, सुरेन्द्रलाल हाडा, कैलाश कार्की पनि अख्तियार पुगेर बयान दिइसकेका छन् । त्यस्तै मीन प्रसाद अर्याल, दीपेश आचार्य, अर्जुन घिमिरे, सूर्यप्रसाद लामिछाने, टिकाप्रसाद उप्रेती, राममणि दुवाडी, टेकनाथ आचार्य, चूडामणि चौलागाई र हेमकुमार श्रेष्ठसहितले टेरामक्स घोटालामा बयान दिएका हुन् । उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अन्तिम तयारी अख्तियार रहेको बुझिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *