नयाँ पुस्तालाई राजनीतिक दलहरु अपाच्य, २०८४ मा दलहरुलाई अस्तित्व जोगाउँनै धौ–धौ

राजनीति समाचार

काठमाडौं । राजनीतिक दलका नेताहरु यतिबेला आफ्नो पार्टीको अस्तित्व जोगउन मिसन ८४ को नाममा अभियान चलाउन थालेका छन् । दलहरुले जतिसुकै मिसन चलाए तापनि सर्वसाधारण युवाहरुको मन जित्ने अवस्था देखिँदैन । सबै दलभित्र नेतैपिच्छेका गुट उपगुट झाँगिएको छ । पार्टीप्रति निष्ठावान, क्षमतावान र जनताको मनजित्न सक्ने कार्यकर्तालाई पाखा लगएर आसेपासे, अरौटे, भरौटे र श्रीमती, आफन्तलाई अवसर दिँदा यस्तो स्थिति सिर्जना भएको छ ।

राजनीतिक दलहरुले गत तिनै तहको निर्वाचनमा अन्य दलसँग गठबन्धन गरेर निर्वाचनमा होमिए तापनि कुनै दलले बहमुत ल्याउन सकेनन् । दलहरुले गठबन्धन गरेर निर्वाचनमा होमिए तापनि स्वतन्त्रहरुले अधिकांश ठाउँमा चुनाव जिते । त्यसमा नयाँ जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टीले सोचेभन्दा बढी सिट जित हासिल ग¥यो । मधेशमा पनि पुराना दलहरुप्रति असन्तुष्टि छाएपछि जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी जन्मियो ।

स्थानीय तहमा पनि काठमाडौंमा बालेन शाह उदाय भने धरानमा हर्क साङपासङ आए । त्यसले गर्दा पुराना पार्टीहरु नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र मधेशवादी दलहरु संकटमा पर्दै गएका छन् । पुराना दलहरुलाई नयाँ पुस्ताहरुले विश्वास गर्न छाडेका छन् । नेपालको जनसंख्या हेर्दा पनि युवापुस्ता अगाडि छन् । युवापुस्ता देशका मेरुदण्ड हुन् । मेरुदण्ड नै कमजोर भएपछि पुराना दलहरु कसरी अगाडि बढ्छन् । जहाँ पनि युवापुस्ताले परिवर्तन खोजेका हुन्छन् । त्यसै भएर पनि नेपालका युवापुस्ताले पुराना दलहरुलाई त्याग्दै गएका छन् । अहिले नेपाली युवाहरु अधिकांश विदेशमा छन् भने स्वदेशमा रहेका पनि नयाँ पार्टीतिर आकर्षित भएका छन् ।

पटक–पटक देशको बागडोर सम्हालिसकेका कांग्रेस, एमाले, माओवादी केन्द्र र तराइका पुराना पार्टीहरुलाई युवापुस्ताले पत्याउन छाडेपछि शीर्ष नेताहरु ४ वर्ष पछाडि आउने निर्वाचनलाई मिसन ८४ भन्दै देश दौडामा लाग्नुको के अर्थ ? कांग्रेस, एमाले, माओवादी केन्द्र र तराइका पुराना पाटीका अधिकांश नेताहरु अहिले पनि कोही सत्तामा छन् कोही प्रतिपक्षमा छन् । सत्तामा हुने दलहरुले देश र जनताको हितमा काम गर्नुपर्ने र प्रतिपक्षमा रहेका दलले विकास निर्माणको काम सही ढंगले भएको छ कि छैन भनेर ‘वाच गड’को भूमिका खेल्नुपर्नेमा त्यो नगरी सरकार ढाल्ने, आफू सत्तामा पुग्ने कमिसन खाने, अपराधी, भ्रष्टाचारी र दुराचारीलाई जोगाउने काममा लाग्ने गरेका छन् ।

जुनसुकै दलको सरकार बने तापनि देश र जनताको हितमा काम नगरी सधैं देशलाई अस्थिर बनाउने र शीर्ष नेता पालैपालो सत्तामा बसेर रमाउने गरेका छन् । त्यसले गर्दा राजनीतिक दललाई पछि पार्दै स्वतन्त्रतिर युवापुस्ता लम्किन थालेका छन् । युवापुस्ताको आड पाएपछि स्वतन्त्रको नाममा देश अराजकतातिर धकेलिँदै गएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *