राजनीतिक दलका नेताहरुलाई चेतना भयाँ

राजनीति समाचार

–रामचन्द्र बस्नेत
राजनीतिक दलहरुले देश र जनताप्रति ध्यान नदिँदा जताततै भद्रगोल हुँदै गएको छ । राजनीतिक दलहरुको अन्तरकलहले आफै अस्तित्वबाट पलायन हुँदै गएका छन् । सरकारमा बस्नेहरुले देश र जनतालाई केही दिन सकेका छैनन् । प्रजातन्त्रहुँदै गणतन्त्रसम्म आइपुग्दासम्म दलहरुले खाली सत्तामा जाने, कमाउने, मोजमस्ती गर्ने भन्दा अन्य काम गर्न सकेनन् । दुईतिहाई हाराहारी बहुमत ल्याउँदा पनि दलहरुले कहिल्यै पाँच वर्ष सरकार टिकाउन सकेनन् ।

चाहे त्यो नेपाली कांग्रेसको सरकार होस् अथवा नेकपाको सरकार । यी दुवकै पार्टीले बहुमत ल्याउँदा पनि पाँच वर्ष सरकार टिकाउन सकेनन् । त्यो पनि प्रतिपक्ष पार्टीको दबाबले नभई आफ्नै पार्टीभित्रको असन्तुष्टिका कारण । कांग्रेसले २०४८ र २०५६ मा एकल बहुमत ल्याएको थियो । कांग्रेसले २०४८ सालमा बहुमत ल्यायो । त्यसपछि पार्टीभित्र नेताहरुबीच आन्तरिक झगडा सुरु भयो । सांसदमा बेमेल भएपछि कांग्रेसभित्र एकातिर ७२ र अर्कोतिर ३६ से गुट जन्मियो । कांग्रेसभित्र व्यापक असन्तुष्टि भएपछि २०५१ सालमा बुहमतको सरकार विघटन गरेर गिरिजाप्रसाद कोइरालाले मध्यावधि निर्वाचन गराए ।

त्यो निर्वाचनमा बहुमत ल्याउन सकेन । त्यसपछि नेकपा एमालेले ठूलो दलको हैसियतले अल्पमतको सरकार बनयो । एमाले सरकार ९ महिनामै कांग्रेसले ढालिदियो । त्यसपछि आन्तरिक झगडाकै कारण पार्टी फुटेर नेपाली कांग्रेस र प्रजातान्त्रिक कांग्रेस बन्यो । कांग्रेस पार्टी फुटेर दुई टुक्रा भएपछि २०५४ सालको स्थानीय निर्वाचनमा अधिकांश ठाउँमा एमालेले जित हासिल ग¥यो । २०५४ सालको स्थानीय निर्वाचनमा पत्तासाफ जस्तै भएपछि दुई कांग्रेस जोडिएर फेरि नेपाली कांग्रेस बन्यो । पार्टी एकढिक्का भएपछि २०५६ सालमा कांग्रेसले फेरि बहुमत ल्यायो । बहुमत ल्याएपछि कांग्रेसले कृष्णप्रसाद भट्टराईको नेतृत्वमा सरकार बनायो ।

भट्टराई नेतृत्वको सरकार गिरिजाप्रसाद कोइरालाले ९ महिनामै ढालिदिए । दुई पटक बहुमत लिएर पठाउँदा पनि कांग्रेसले ५ वर्ष सरकार टिकाउन नसकेपछि जनताले विश्वास गर्न छाडे । त्यसपछि कांग्रेस कमजोर बन्दै गयो । कांग्रेसभित्रको कमीकमजोरीको फाइदा उठाउँदै माओवादीले द्वन्द्व चर्काएर देश र जनतालाई तहसनहस नै बनायो । उता नेकपा एमालेले पनि प्रतिपक्षको भूमिका राम्रोसँग निर्वाह गर्न सकेको थिएन । एमाले ठूलो प्रतिपक्ष दल भए तापनि तत्कालीन महासचिव माधवकुमार नेपालले पार्टी चलायमान बनाउन सकेका थिएनन् ।

एमालेभित्रको आन्तरिक झगडा झाँगिएको थियो । त्यसको फाइदा पनि माओवादीले नै लिँदै थियो । तत्कालीन ठूला दल कांग्रेस र एमालेले जनतालाई विश्वास दिलाउन नसक्दा माओवादीले मुलुकमा गृहयुद्ध नै चलायो । उता दरबारहत्या काण्डपछि ज्ञानेन्द्र राजा बने । ज्ञानेन्द्र राजा भएपछि दलहरुलाई देश चलाउन अक्षम भएको भन्दै नेताहरुलाई नजरबन्द जस्तै गराए । त्यसपछि माओवादीले उग्र रुप लिँदै देशमा झन् आतंक मच्चायो । उता राजाले नजरबन्द बनाउने यता माओवादीले आतंक मच्चाउन थालेपछि दलका नेताहरु पनि आफ्नो राजनीतिक अस्थित्व जोगाउन माओवादीसँगै आन्दोलनमा होमिन पुगेका थिए ।

त्यो आन्दोलनले ज्ञानेन्द्रले दरबार छाड्नुप¥यो । संयुक्त जनआन्दोलनबाट राजा नै हटाएर प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्र अहिले तिनै दलका नेताहरुकै कारण संकटमा पर्दै गएको छ । नेताहरुको यस्तै रवैया रहिरहने हो भने आगामी २०८४ को निर्वाचनपछि पुराना दलहरुको सिला खोज्नुपर्ने अवस्था हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *