हाम्रो निर्वाचन प्रणालीले गर्दा कुनै पनि दलको बहुमत आउँदैन

अन्तरवार्ता राजनीति

चार वटा प्रस्तावहरू सर्वसम्मतिले पारित गर्दै नेपाली कांग्रेसको महासमिति बैठक सम्पन्न भएको छ । महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक राजनीतिक प्रस्तावका साथै लेखा समिति संयोजक श्याम घिमिरेले पेस गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतिले पारित भयो । भर्खरै सम्पन्न कांग्रेस महासमिति बैठक कस्तो रह्या, गठबन्धनको भविष्य के होला, माओवादीको विधान सम्मेलनअघि प्रचण्डले कांग्रेसबाट धोका भयो भन्ने कुरा गर्नुभयो । गठबन्धनमा खटपटको संकेत हो आदि सेरोफेरोमा नेपाली कांग्रेसका नेता तथा सांसद उदयशमशेर जबरासँग तामाकोशी सन्देश साप्ताहिकको प्रतिनिधिले गरेको कुराकानीको अंशः

० भर्खरै सम्पन्न कांग्रेस महासमिति बैठक कस्तो रह्यो ?
महासमितिमा विभिन्न विषय र प्रस्तावमा सौहार्दपूर्ण छलफल भयो । अधिकांश साथीले छलफलमा भाग लिने मौका पनि पाउनुभयो । तर, कतिपय विषयमा चाहिँ महासमिति परम्परागतजस्तो मात्र भयो । महासमितिमा प्रस्तुत भएका र छलफलका क्रममा उठेका सबै विषयमा खुला छलफल गरेर निष्कर्षसहित निर्णय गर्नु महासमितिको सार्वभौम अधिकार हो । तर, कतिपय विषयमा केन्द्रीय समिति हाबी भएको देखियो । महासमितिबाट के निचोड निकाल्न खोजिएको थियो र के परिणाम निस्कियो भन्ने विषयमा जिम्मेवार व्यक्तिहरू त्यति सचेत भएजस्तो देखिएन ।

० महासमितिमा गठबन्धनबारे चर्को बहस भयो । गठबन्धनको भविष्य के होला ?
अहिलेको सत्ता गठबन्धन कायम रहँदा कुनै आपत्ति छैन । किनकि, अहिलेका लागि गठबन्धनको विकल्प छैन । यसो भनिरहँदा पनि गठबन्धनमा रहेका दल र सत्तामा रहेका नेताहरू सुध्रिन भने आवश्यक छ । तर, अहिलेलाई गठबन्धन आवश्यक छ भन्दै गर्दा निर्वाचनमा भने गठबन्धन गर्नै हुँदैन भन्ने महासमितिको प्रस्ट आदेश छ । यसमा नेतृत्वले दायाँबायाँ गर्न पाउँदैन ।

० वर्तमान सरकार गठन भएको एक वर्ष पूरा भएको छ । यस अवधिमा सरकारको काम गराई र जनअपेक्षालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
गएको वर्षको आमचुनावपछि वर्तमान सरकार गठन भएको एक वर्ष पूरा भएको छ । यस अवधिमा धेरै महत्त्वपूर्ण काम भएका छन् । जोखिममा रहेको अर्थतन्त्रलाई केही प्रयत्न गरेर सही ’ट्र्याक’ मा ल्याउने काम भएका छन् । सार्वजनिक खर्चमा सरकारलाई मितव्ययी बनाइएको छ । विकासका आयोजनामा नियमनका लागि विभिन्न कोसिस भएका छन् । सबै कुरा उत्कृष्टरूपमा भएका छन् भन्न त गाह्रो छ तर सकारात्मकरूपमा नै अगाडि बढेका छन् । सरकार गठन भएपछि भ्रष्टाचारका नयाँ–नयाँ काण्ड भएका छैनन् ।

सरकारको भ्रष्टाचारविरोधी छवि निर्माण भएको छ । आमनागरिक र मातहतका निकायमा पनि सरकारले स्वच्छतालाई महत्त्व दिएको भन्ने सन्देश प्रवाहित भएको छ, यो सकारात्मक कुरा हो । देशमा झन्डै ३० प्रतिशतका दरले विप्रेषण (रेमिट्यान्स) बढेका कारण अर्थतन्त्र अलिकति भए पनि सुधार आउने कुरामा सहयोग पुगेको छ । विभिन्न राजनीतिक दलसहितको गठबन्धनबाट वर्तमान सरकार बनेका कारण गठबन्धनमा केही अस्थिरता आउँछ कि वा तनाव हुन्छ कि भन्ने आशङ्का भए पनि गठबन्धन एकढिक्का र दृढ रहेको छ । हामी मिलेर काम गरिरहेका छौँ । राजनीतिक स्थायित्व र शान्ति सुरक्षाको परिस्थितिमा सुधार आएको छ ।

० वर्तमान सरकार गठन यता जनजीविकाको सवालमा प्रत्यक्ष प्रभाव पार्ने काम के के भएका छन् ?
नागरिकलाई खास असर पर्ने कुरा भनेको महँगी हो । पूर्णरूपमा नियन्त्रण गर्न नसकिए पनि महँगी विस्तार हुने कुरा रोकिएको छ । महँगीलाई नियन्त्रणभित्र राखिएको छ । नेपालीलाई नेपालभित्र काम गर्ने वातावरण निर्माणमा विभिन्न काम भएका छन् । आर्थिक उपार्जनका लागि विदेश नै जानुपर्छ भन्ने छैन भन्ने सन्देश प्रवाह गर्ने कोसिस गरिरहेका छौँ ।

विदेशी लगानी भित्र्याउने सन्दर्भमा प्रदेश र केन्द्रमा पनि लगानी सम्मेलन गर्ने तयारी भइरहेका छन् । यसले आर्थिक गतिविधि चलायमान हुने विश्वास लिएका छौँ । यसैगरी भ्रष्टाचार नियन्त्रणका लागि पहलकदमी लिएका छौँ । प्रधानमन्त्रीले पनि भ्रष्टाचार नियन्त्रणको लागि सुशासनलाई उच्च महत्त्व दिनुभएको छ । रोजगारी सिर्जना खासै गर्न सकिएको छैन । तर आर्थिक गतिविधि बढाउन सके मात्र रोजगारी सिर्जना हुने हो । आर्थिक तनाव र दबाबबाट देशलाई बाहिर निकाल्न सकेपछि आर्थिक गतिविधि बढ्ने विश्वास लिएका छौँ । नबिग्रिने गरी विकासको गतिविधि पनि अग्रगामी नै छ ।

० कांग्रेस महासमिति बैठक ११ बुदे बैठकको निष्कर्ष सहितसम्पन्न भएको छ ती निष्कर्ष के के हुन् ?
नेपाली कांग्रेसको महासमिति बैठक बिहीबार सम्पन्न भएको छ । बैठकबाट विभिन्न प्रस्तावहरू केन्द्रीय समिति बैठकले अन्तिम रुप दिनेगरी सर्वसम्मतिले पारित भएका छन् । समूहगत छलफलबाट आएका सुझावलाई समेट्दै ती प्रस्तावहरू पारित भएका हुन् ।
जसअनुसार उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रस्ताव र महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रस्ताव र महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक राजनीतिक प्रस्ताव संशोधनसहित पारित भएका छन् ।

त्यस्तै लेखा समिति संयोजक श्याम घिमिरेले पेस गरेको लेखा परीक्षण प्रतिवेदन र अर्थमन्त्री समेत रहेका डा प्रकाशशरण महतले पेस गरेको अर्थसम्बन्धी प्रतिवेदन पनि महासमितिले ग्रहण गरेको छ । उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रस्ताव, महामन्त्री गगन कुमार थापाले प्रस्तुत गरेको सांगठानिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्तावमा पार्टीको नीति, सांगठानिक योजनामा स्पष्ट दृष्टिकोण निर्माण भएको छ ।

बैठकले वर्तमान सरकारमार्फत भ्रष्टाचार, विसंगति र विकृतिका विरुद्ध वैधानिक रूपले सुशासन र राष्ट्रिय सदाचारको पद्धति सुरुवात गर्न सम्पूर्ण रूपले दृढ संकल्पित रहने अठोट गरेको छ भने अर्थतन्त्रमा देखिएका चुनौतीलाई समाधान गर्ने जिम्मेवारी बोध गर्दै, मुलुकमा विद्यमान सबैखाले विभेद र हिंसाविरुद्ध अभियान सञ्चालन गर्ने प्रतिबद्धता गरेको छ । शान्ति प्रक्रियाका बाँकी काम, संक्रमणकालीन न्यायका विषय चाँडै टुङ्ग्याउने प्रतिबद्धता जाहेर गरेको छ । समापन समारोहमा कांग्रेस नेताहरूले पार्टीलाई बलियो बनाउन एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिइएको छ ।

० गगन थापा समर्थकको नाराबाजी पछि कांग्रेस महासमिति बैठकमा तनावग्रस्त बनेको भन्ने छ नी बजारमा ?
बैठक हलमा गण्डकी र बागमतीको समूहमा भएको छलफलको निष्कर्ष बागमती प्रदेशका सभापति इन्द्र बानियाँले बिहीबार पेस गर्न सुरु गरेसँगै महामन्त्री गगन थापाका समर्थकले होहल्ला सुरु गरेका हुन् । बानियाँले निष्कर्ष सुनाउने क्रममा गठबन्धनको विषय रणनीतिकमात्रै हुनुपर्ने बताएसँगै होहल्ला सुरु भएको हो । गगनको प्रस्तावअनुसार अघि बढिनुपर्ने भन्दै समर्थकहरुले नाराबाजी जारी राखे । त्यसपछि थापाले नै समर्थकलाई होहल्ला रोक्न आग्रह गरेपछि बैठक सुचारु भएको थियो ।

बजारमा हल्ला जस्तो भएको छैन् ।
० माओवादीको विधान सम्मेलनअघि प्रचण्डले कांग्रेसबाट धोका भयो भन्ने कुरा गर्नुभयो । गठबन्धनमा खटपटको संकेत हो ?
त्यस्तो होइन । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत कोशी प्रदेशका सन्दर्भमा जे परिणाम आयो, त्यसप्रति इंगित गरेर बोलिएको कुरा हो । मिडियाले समग्रमा बुझ्नुभएन वा एजेन्डा त्यस्तै भएर हो । प्रसंग के थियो भने– गठबन्धनको एउटा उम्मेदवारले जित्ने अर्कोले हार्ने अवस्था भयो । त्यसप्रति उहाँले बोल्नुभएको हो ।

० सत्ता गठबन्धनमा विश्वासको वातावरण बिग्रिएपछि यस्तो बोल्नु भएको हो कि ?
उहाँहरूले विश्वासको वातावरण बिग्रनुमा कोशी प्रदेशको राष्ट्रियसभा चुनाव र मुख्यमन्त्री जोड्नुहुन्छ । गठबन्धनमा कोशी प्रदेश नेपाली कांग्रेसको भागमा थियो नि । नेपाली कांग्रेसको मुख्यमन्त्रीले विश्वासको मत लिन सकेनन् । त्यहाँ मुख्यमन्त्री कसको हुनुपर्ने ? नभए सबै माओवादीलाई दिए भइहाल्यो नि । चुनावको कुरा छ गोप्य मतदानमा कसले के ग¥यो हामीलाई के थाहा हुन्छ ? माओवादी केन्द्रको उम्मेदवार हार्नुमा नेपाली कांग्रेसलाई दोष दिएर हुन्छ ? गठबन्धनमा कांग्रेसले विश्वासको वातावरण बिगारेको छैन । माओवादीसँग गठबन्धनमा भएको सहमति अनुसार कांग्रेस अगाडि बढेको छ ।

० प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नियमित छलफल गरिराख्नु भएको छ । यसबिचमा कांग्रेससँगको गठबन्धनप्रति असन्तुष्टि व्यक्त गर्ने कुराले सत्ता गठबन्धनमा गडबड हुन खोजेको हो ?
उहाँले पहिले नेकपा एमालेसँग मिलेर सरकारको नेतृत्व गर्नुभएको हो । नेकपा एमालेलाई छोडेर नेपाली कांग्रेससित आउनुभयो । फेरि जानु होला । हाम्रो संविधानले नै त्यस्तै बनाएको छ । हाम्रो निर्वाचन प्रणालीले गर्दा कुनै पनि दलको बहुमत आउँदैन । जब कुनै दलको बहुमत आउँदैन त हुने यस्तै हो । नभए हामीले कुनै दलले बहुमत ल्याउने निर्वाचन प्रणाली बनाउनुप¥यो । हामी त्यतातिर सोचिराखेका छैनौँ । कहिले हामी प्रत्यक्ष निर्वाचित राष्ट्रपति भन्छौँ । केही के भन्छौँ । संसदीय व्यवस्थामा एक दलले बहुमत ल्याउने निर्वाचन प्रणाली बनाउनुतिर लागौँन । अनि यस्तो चलखेल हुँदैन नि । जनमत नभएको दलले नेतृत्व गर्ने अवस्था रोकिन्छ ।

० वर्तमान सरकारको कार्यशैलीलाई कसरी नियालिरहनुभएको छ ?
चल्ने यसरी नै हो जो सरकारमा आए पनि । हुने यस्तै हो । कोहि आएर रातारात परिर्वतन भने हुदैन् । सरकार जनताको सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको सपनालाई जतिसक्दो छिटो पूरा गर्न पूर्ण जिम्मेवारीबोधका साथ अघि बढिरहेको छ । नागरिकको जीवनस्तरमा गुणात्मक सुधार ल्याई जनताको विकास र सुशासनप्रतिको उच्च अपेक्षालाई सम्बोधन गरेको छ । देशलाई मध्यम आयस्तरको विकासोन्मुख मुलुकको रूपमा रूपान्तरण गर्न आगामी दिनमा थप प्रतिबद्धता र समर्पणभावका साथ काम गर्नुपर्ने खाँचो छ, सरकार त्यसतर्फ सचेत र सजग छ । जनताको त्याग, सङ्घर्ष र बलिदानबाट स्थापना भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संरक्षण र सम्बर्द्धन गर्दै लोकतान्त्रिक र जनउत्तरदायी राजनीतिक व्यवस्थाको माध्यमबाट मुलुकलाई सुशासन र अग्रगमनको दिशामा अघि बढाउन सरकार दृढ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *