इन्भेष्टमेन्ट मेगासँगै कुमारी बैंक पनि धरापमा

अर्थ/वाणिज्य समाचार

काठमाडौं । ठूला भनिएका बैंकहरु गाभ्ने, गाभिने र मर्जर भएपछि भित्रभित्रै धरासायी बन्दै गएका छन् । छुट्टै अस्तित्वमा हुँदा आर्थिक चलायमान भएका बैंकहरु गाभिएपछि झन् संकटमा पर्दै गएका छन् । यतिबेला अधिकांश बैंकहरुमा पैसा थुप्रिएर बसे तापनि कर्जा प्रवाह गर्न सकेका छैनन् । प्रवाह गरेको कर्जा पनि उठाउन सकेका छैनन् । मर्जर भएका बैंकहरु संकटमा पर्नुको कारण दुई बैंक तथा वित्तीय संस्थाबाट आएका कर्मचारीहरुबीच द्वन्द्व हुनु हो । बैंक मर्जर हुँदा कर्मचारीहरुमा को सिनियर, को जुनियर, को ठूलो पदको र को सानो पदको भन्ने होडवाजी चल्ने गरेकाले पनि बैंकहरु धरासायी बन्दै गएका छन् ।

बैंकहरुले आफ्नो कलाकर्तुत लुकाउन राष्ट्र बैंकका उच्च तहका कर्मचारीलाई रिझाउने गरेका छन् । त्यसले गर्दा घाटामा गएका बैंकहरुलाई पनि राष्ट्र बैंकले संरक्षण गर्ने गरेको छ । एकातिर अर्थतन्त्र खुम्चिएको छ भने अर्कोतिर बैंकमा कर्जाको माग आउन छाडेको छ । बैंकहरुले पहिला लगानी गरेको कर्जा पनि उठाउन सकेको छैन । कमिसनको लोभमा कमसल धितोमा ऋण प्रवाह गरेकाले पनि बैंकहरुले ऋण उठाउन सकेका छैनन् । अर्कोतिर मेडिकल व्यवसायी दूर्गा प्रसाईंले बैंकबाट लिएको ऋण तिर्नुपर्दै भन्दै सडक तताएपछि ऋणीहरु ऋण तिर्नुको सट्टा प्रसाईंको पछि लागेका छन् ।

प्रसाईंको अभियानले गर्दा बैंकहरुप्रति सर्वसाधारणमा विश्वास घट्न थालेको छ । खासगरी कमिसनको लोभमा कमसल धितोमा ऋण प्रवाह गर्दा बैंकहरुमा खराब कर्जा बढेर गएको छ । त्यसको उदाहरण बनेको छ–नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड । यस बैंकले स्मार्ट टेलिकमलाई ३० अर्ब कर्जा दिएको थियो । त्यो ३० अर्ब कर्जा नतिरी स्मार्ट टेलिकम बन्द भएपछि इन्भेष्टमेन्ट बैंक संकटमा पर्दै गएको छ । स्मार्ट टेलिकमलाई ऋण दिएको ३० अर्बको सावा र ब्याजको पनि लेखाजोखा छैन । अर्कोतिर इन्भेष्टमेन्ट मेगा बैंकले सरकारी जग्गा हडपेर छायाँ सेक्टर बनाएको छ । यति मात्रै होइन सो बैंकले ठूलो मात्रामा कर पनि छलि गर्दै आएको छ ।

सो बैंकले आफ्नो ३८औं वार्षिकोत्सवसमेत साधारण केक काटेर मनाएको थियो । पहिला वार्षिकोत्सव मनाउँदा अर्थमन्त्रालयका उच्च तहका कर्मचार, राष्ट्र बैंकका कर्मचारी, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुखहरु र पत्रकारहरुलाई निमन्त्रणा गरेर कक्टेल डिनरसहित रात्रीभोज आयोजना गर्ने गरेको थियो । मर्जर नभई एक्लै सञ्चालन हुँदा त्यस्तो तामझामका साथ वार्षिकोत्सव मनाउने बैंक आर्थिक मजबुदीको लागि मर्जर हुँदा केक काटेर वार्षिकोत्सव मनाउन सीमित भएको छ ।

उता, सेयरधनीहरुले बोनस र लाभांश नपाएर रित्तो हात फर्किनुपरेको बताइन्छ । त्योसँगै कर्मचारीहरु समयमा तलब खान नपाएको गुनासोसमेत आउन थालेको छ । त्यस्तै इन्भेष्टमेन्ट मेगा बैंकको रोग एनसीसी बैंक र कुमारी मर्जर भएपछि कुमारी बैंकमा पनि सरेको छ । कुमारी बैंकमा पनि संस्थापन र एनसीसी बैंकबाट आएका कर्मचारीबीचको द्वन्द्वले भित्रभित्रै चरम रुप लिएको छ । एकातिर निक्षेपकर्ताको रकम कर्जाप्रवाह गर्न नसकेर थुप्रिएर बसेको छ भने अर्कोतिर कर्मचारीबीच द्वन्द्व चर्किएसँगै खराब कर्जा नउठ्दा बैंक धरापमा पर्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *