भ्रष्टहरुको थलो बन्दै उद्योग विभाग

राजनीति समाचार

काठमाडौं । उद्योग विभाग, त्रिपुरेश्वर भ्रष्ट कर्मचारीका लागि रजगज गर्ने ठाउँ र स्वर्ग बनेको छ । यस अघि विभागको कानुन शाखामा रहेका उपसचिव दीपक घिमिरे सरुवा भएर हिडे । उनले त्यहाँ पुगेका सयौं सेवाग्राहीलाई दुख दिँदै आएका थिए । यस अघि कानुन शाखाबाट उद्यमी र व्यवसायीहरुले खेप्दै आएको भुक्तमान अब अनुमति शाखाबाट बेहोर्न थालेको उद्यमीहरुको गुनासो छ ।

विभागमा महानिर्देशकहरुलाई नै माथ गर्नेगरी अनियमितता बढेको छ । एकातिर विदेशी लगानी भित्र्याउने उद्योग चर्चा छ, अर्काेतिर वैशाखमै अन्तराष्ट्रिय लगानी सम्मेलनको तयारी हुँदैछ तर त्यही उद्योग विभागको अनुमति तथा दर्ता शाखामा बसेका कर्मचारीहरुका कारण त्रिपुरेश्वरस्थित विभाग बदनाम हुन पुगेको छ । विभागको उक्त शाखामा बसेका कर्मचारीहरुको कमाउ धन्दाका कारण उद्योगी ब्यापारीसमेत आजित हुन पुगेको गुनासो वालुवाटारसम्म पुगेको छ ।

अहिले विभागको यो शाखाको निर्देशकको कुर्सीमा छन्,मनोज रेग्मी । उनकै निरिहपनाका कारण कर्मचारीहरु उठाउ धन्दामा लागिरहेको विभाग परिसरमै चर्चा सुन्न पाइन्छ । रेग्मीको टिममा छन्,शाखा अधिकृत विकास चन्द्र शर्मा, दीपक दाहाल, दुर्गादत्त भट्टलगायतले रेग्मीलाई भरपूर साथ दिएका छन् । यही टिमले अहिले व्यवसायीहरुलाई आजित बनाउने गरेको गुनासो उद्यमी तथा व्यापारीहरुले गरेका छन् । यो टिममा रहेकामध्ये धुरन्धर अधिकृत हुन बसन्त बहादुर खत्री ।

पहिला रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा रहेर त्यहाँका अध्यक्ष उपेन्द्र लम्सालसँग मिलेर खेलोफड्को मच्चाएर उनी त्रिपुरेश्वरस्थित विभागमा आइपुगेका हुन । उनले फाइल होल्ड गरेर राख्ने र डिल मिलेपछि मात्र वानेश्वर वा त्रिपुरेश्वरतिरको होटलमा गएर डिल गर्ने गरेको आरोप छ । अफिसको फाइलै बोकेर हिड्ने र होटल होटलमा पुगेर डिल गर्ने गरेको आरोप लाग्दै छ उनीमाथि ।अर्काे चल्तापूर्ता दीपक दाहाल लामो समय मालपोतमा बसे ।

बदमासीमा मुछिएकै कारण प्रहरीको केन्द्रीय अनुसन्धान विभागले केही समय थुनेको हो । उनले सुब्बा राजन खनाललाई प्रयोग गरेर घर नजिकै पैसा उठाउने काम गर्ने लगाउने गरेको आरोप छ । यी कर्मचारीहरुले मनोज रेग्मीको संरक्षणमै बदमासी गर्दै आएको कर्मचारीहरु सुनाउँछन् । त्यहाँका निर्देशकदेखि शाखा अधिकृतहरुले फाइल जाम गर्ने,व्यापारीहरुसँग अनावश्यक मोलमोलाई गर्ने गरेको आरोप लगाउँछन् व्यापारीहरु ।

ट्रेडमार्क शाखामा हुँदा मनोज रेग्मीले यसैगरी व्यवसायीहरुलाई दुख दिदै आएकोमा अहिले अनुमति शाखाका पुगेपछि फाइलका कमा र पूर्णबिराम समेत हेरेर सताउन थालेका छन् । यो शाखामा कर्मचारीहरुको बदनियतका कारण अहिले शाखाको नाम नै ‘फाइल जाम’ गर्ने शाखाका रुपमा चिनिन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *