उद्योग वाणिज्यमा भन्सार एजेन्टकै उम्मेद्वारी ?

राजनीति समाचार

काठमाडौं । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको ११ औं अधिवेशन यही चैत ९ र १० गते हुँदैछ । अधिवेशन जति जति नजिक आउँदै छ त्यति त्यति नै माहोल रोचक बन्दैछ । उक्त अधिवेशनमा अहिलेसम्म ४ जनाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । मनोनयन दर्ता गर्ने ५ गतेसम्म थियो । खासा ब्यापारीहरुको संस्था भनेर चिनिएको उद्योग वाणिज्य संघमा वास्तविक उद्योगी ब्यवसायी भन्दा पनि राजनीतिक आवरणमा भन्सार छुटाउने एजेन्टहरु नै नेतृत्वमा पुग्ने गरेको विगत छ ।

संस्थाको अध्यक्षमा दावेदारी गर्ने चार जनाकै पृष्ठभूमि विवादित रहेको छ । चारै जना काँग्रेसी निकट । आफूलाई उद्यमी व्यवसायी दावी गर्दै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका सुमन खत्री यस्तै विवादित पृष्ठभूमिका ब्यापारी हुन् । उनी वाहिरी आवरणमा रिकोना ब्राण्डका सामान नेपालमा विक्रि गर्दछन् । उनका सहोदर दाजु विष्णुबहादुर खत्री सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा दाजुको नाम भजाएर तातोपानी र रसुवा नाकाबाट अवैध सामान नेपाल ल्याउने काममा सक्रिय रहेका आरोप उनीमाथि लाग्ने गरेको छ ।

रक्तचन्दन तस्करीको लाइन मिलाएर उनले करौडौ हात पारेको चर्चा आज पनि जिल्लाभरि चर्चित नै छ । उनले खासगरी काठमाडौंदेखि तातोपानीसम्मका चुल्ठे मुन्द्रे गुण्डा र प्रहरी प्रशासनलाई सेटिङ मिलाउने जिम्मा नै लिएका थिए । उनी आफू नेपाली कांग्रेसको कृष्णप्रसाद सिटौला निकट भनेर धाक लगाउँदै हिड्ने गरेका छन् । एकपटक सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको मानार्थ उपाध्यक्ष भएका थिए । त्यसबेला उनी एउटा बैठकमा समेत नगएको स्रोतले बतायो ।

यस्ता ब्यक्ति अहिले म अरुभन्दा सबल छु भन्दै हिड्न थालेका छन् । जिल्लाका ब्यावयासी ब्यापारीहरुको हकहितका लागि काम गर्नुपर्ने संस्थामा काठमाडौंको दरबारमार्ग र न्युरोडमा बसेर उडन्ते गफ चुट्ने खत्रीको चुरीफरी यतिमै सीमित छैन उनी नेपाल सरकारका उच्च अधिकारीहरु सबै जना मेरो मुठ्ठीमा छन् भन्नसमेत पछि पर्दैनन् । सुमनको भोटेकोशी गाउँपालिकाका निवर्तमान अध्यक्ष राजकुमार पौडेलसँग बाक्लो उठबस छ । उनी २२ किलो सुन तस्करीमा नाम मुछिएपछि भागेर भारत गएका थिए ।

त्यतिबेला दैनिक पत्रिकाहरुले यससम्बन्धी समाचार निकै जोडतोडका साथ प्रकाशित गरेका थिए । उनी अहिले नेकपा माओवादी केन्द्र र एमालेसँग तालमेल गरेर चुनाव जित्ने दाउमा छन् । यसका लागि उनले ब्यापार गर्ने नेकपा माओवादी केन्द्रका जुगल गाउँपालिकाका अध्यक्ष ईश्वर गुभाजूलाई महासचिव र नेकपा एमाले निकट ब्यापारी प्रदीप पौडेललाई सचिव बनाउँछु भन्दै हिडेका छन् । उनी आफूलाई पूर्व अध्यक्षहरु कमलकुमार श्रेष्ठ, विष्णूबहादुर खत्री, गोवद्र्धन श्रेष्ठ, महिन्द्र श्रेष्ठ र राजेन्द्रबहादुर श्रेष्ठको समर्थन रहेको बताउँदै आएका छन् । गुभाजु रसुवा भन्सारबाट तस्करीको लाइन मिलाउने व्यापारीको रुपमा चिनिन्छन् ।

अध्यक्षमा उम्मेदवारी घोषणा गरेका अर्का खासा ब्यापारी बुद्धराज बस्नेत आफूलाई मोहनबहादर बस्नेतको समर्थन रहेको गफ लगाउँदै हिड्ने गरेका छन् । सिन्धुपाल्चोकमा कांग्रेस भनेकै मेरो दाई हो भन्ने बस्नेतको पृष्ठभूमि पनि कम विवादित छैन । चीनबाट सामान ल्याउने ब्यापारीहरुको भन्सार छुटाउने एजेन्टको काम गर्ने उनी २०७४ सालमा मोहन बस्नेतले नै बाह्रबिसे नगरपालिकामा मेयरको टिकट नदिएपछि मोहनबहादुरको तिग्रा र ह्याकुलो दबाउन सक्ने बस्नेत मै हुँ भन्दै रातारात नेकपा माओवादीमा प्रवेश गरी माओवादीबाट मेयरका उम्मेदवार बनेका थिए । त्यसमा उनी नराम्ररी पछारिए । उनले लज्जाजनक मत पाएका थिए ।

त्यसपछि पनि बस्नेत खलकमा बिद्रोह गर्ने कमाण्डर हुँ भन्दै कुर्लन्थे । त्यसपछि त उनको आफ्नै साख्खै माइला बुबाको छोरा मोहनबहादुरसँग पानी बारबारको स्थिति बनेको थियो । बस्नेतले सार्वजनिक कार्यक्रमहरुमा नै यस्तो आरोप लगाउने गरेका थिए । उनी २०७९ सालमा पनि माओवादी केन्द्रबाट मेयरमा लडेका भए पनि घट्दो मतका कारण झन् तनावमा पुगे । नेपाली कांग्रेसबाट उनका साख्खै काकाका छोरा बालकृष्ण बस्नेतले टिकट लिएपछि उनी अलि निश्क्रिय बनेका थिए ।

क्षमादेवी ग्रुपका अध्यक्ष राजकुमार बस्नेतमार्फत उनी फेरि मोहनबहादुर बस्नेतसँग नजिकिएका थिए । अहिलै उनै बस्नेत आफूलाई मोहन बस्नेत र नेपाली कांग्रेसकै आधिकारिक उम्मेदवार दावी गरिरहेका छन् । उनी दाजु स्वास्थ्यमन्त्री भएको बेलामा तातोपानी र रसुवा नाकाबाट अवैध सामान भित्रयाउने काममा सकिैय रहेको कुरा धेरैपल्ट सार्वजनिक मिडियाहरुमा आएकै विषय हुन् । उनको पनि आफ्नो कुनै उद्योग छैन । उनीहरुकै भाषामा क्यारिङ मेस चलाउने गर्दछन् ।

अझ त्यसमाथि पनि मध्य भोटेकाशीको टान्समिसन लाइनको सबस्टेशन रहेको बाह्रबिसे ३ मा अबरोध गर्न उनकै अध्यक्षतामा संघर्ष समिति बनाएका थिए । त्यसमा पनि आर्थिक चलखेलको आशंका रहेको कतिपयको तर्क छ । उनले पनि माओवादी र एमालेलाई मिलाउने रणनीति लिएका छन् । यसका लागि उनले माओवादीबाट ईश्वर गुभाजू एमालेबाट तीर्थ पौडेललाई समेट्ने योजना रहेको स्रोतले बताएका छ । उनी आफूलाई अहिलेका अध्यक्ष रहेका उनका दाइ नाता पर्ने राजकुमार (होमबहादुर) बस्नेतको समर्थन रहेको बताउँदै आएका छन् ।

अहिले संघमा महासचिव रहेका शम्भुबहादर तिमल्सिनाले पनि अध्यक्षमा आफ्ले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । उनले सामाजिक सञ्जालमा आफ्नो एजेण्डासमेत प्रस्तुत गरिसकेका छन् । उनी नेपाली कांग्रेसका बाह्रबिसे एकाई सभापति हुन् । उनलाई पदलोलुपको आरोप लाग्ने गरेको छ । उनी विगत २० वर्षभन्दा धेरै समयदेखि संघमा रहेका छन् ।

उनी नेपाल ट्रक कन्टेनर संघमा एक कार्यकाल द्धितीय उपाध्यक्ष भइसकेकपछि अर्को कार्यकालमा फेरि तृतीय उपाध्यक्ष भएका थिए । यसकारण पनि उनलाई पदलोलुपको आरोप लाग्ने गरेको हो । उनी आफूलाई नेपाली कांग्रेसकै आधिकारिक उम्मेवदार भनी प्रचार गर्दै हिडिरहेका छन् । उनी पनि क्यारिङकै काम गर्ने बुझिएको छ । कुनै खास उद्योग ब्यवसायभन्दा पनि नेपाली कांग्रेसको राजनीतिका क्रियाशील उनलाई विभिन्न सहकारी संस्थाहरुको पैसा चलाएको कतिपयको आरोप छ ।

अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका अर्का ब्यापारी हुन् अमृत कार्की भने व्याक भएको बुझिएको छ । उनी पनि सुरुमा खासा ब्यापारमै केन्द्रित थिए । भूकम्पपछि उनी अन्य व्यावसायमा पनि संलग्न रहेका छन् । उनले नेपाली कागज उद्यपादन उद्योग सञ्चालन गरेका छन् । मैतु रङको पनि उनी आधिकारिक बिके्रता हुन् । उनी पनि नेपाली कांग्रेस निकट भनेर चिनिएका ब्यवसायी हुन् । अन्तिम समयमा उनी मैदानबाट भागेका छन् । उनीमाथि पनि भन्सार छलीको आरोप लाग्ने गरेको छ । यसैगरी बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका उमेश प्रधान पनि खासा ब्यापारी हुन् । उनी आफू सर्वसम्मत चयन हुने भन्दै हिड्न थालेका छन् ।

उनलाई विशेषगरी सुवास तिमल्सिनाको साथ दिएका छन् । तिमल्सिना नेपाली कांग्रेसको तर्फबाट बलेफी गाउँपालिकाको अध्यक्षमा लडेका थिए । उनी माओवादी केन्द्रका गंगाबहादुर तामाङसँग पारजित भएका थिए । उनी मोहन बस्नेत स्वास्थ्यमन्त्री भएको बेला स्वास्थ साम्रग्री खरिद प्रकरणमा समेत मुछिएका थिए । आफूलाई नेपाली काँग्रेसको सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिका सभापति दावी गरे पनि जिल्ला अध्यक्ष जंगबहादुर लामाले उनलाई पार्टीले कुनै जिम्मेवारी नदिएको जिकिर गर्दै आएका छन् । यसरी अहिलेसम्म आफूलाई अध्यक्षमा दावेदारी गरेका सबै प्रायः बाह्रबिसे इलाकाका हुन् ।

सबै प्रायः चीनसँगको ब्यापारमा संलग्न छन् । यो संघलाई भेगीयको आरोप पनि लाग्ने गरेको छ । जिल्लाको बाह्रबिसे बजार इलाकालाई मात्रै विशेष रुपमा समेटकेको आरोप चौतारा र मेलम्ची क्षेत्रका व्यापारीहरुले लगाउने गरेका छन् । मतदाताको संख्यालाई हेर्ने हो भने पनि यसमा केही आधार छ । लगभग २५ सय मतदाता रहेको संघमा बाह्रबिसे नगरपालिकामा मात्रै ८ सयभन्दा धेरै छन् । सबैभन्दा कम मतदाता पाँचपोखरी गाउँपालिकामा जम्मा ५ जना मात्रै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *