संविधानको पुनरावलोकन गरी जीवित बनाउनुपर्छ

अन्तरवार्ता राजनीति

रमेश लेखक, संसदीय दलको प्रमुख सचेतक, नेपाली कांग्रेस
कञ्चनपुर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रमेश लेखक नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारीमा छन् । नयाँ सत्ता गठबन्धन बनेसँगै त्यसको भविष्यलाई लिएर प्रमुख प्रतिपक्ष कांग्रेससहितका विपक्षी दलले एकातिर दिनगन्ती थालिसकेका छन् भने अर्कोतर्फ सत्ताको गोलचक्करमा फेरि पनि संसद् नै हतियार बन्न थालेको छ । सरकार पक्षबाट प्रतिपक्षमा पुगेको कांग्रेसले सहकारी ठगीका आरोपित रवि लामिछानेलाई गृहमन्त्री बनाइएको भन्दै शुक्रबारदेखि संसद् अवरोध सुरु ग-यो । यही सेरोफेरोमा रहेर प्रतिनिधि सभा सदस्यमा निर्वाचित रमेश लेखकसँग तामाकोशी सन्देश साप्ताहिकको प्रतिनिधिले गरेको कुराकानीको अंशः

० गठबन्धन भत्किएको छ । नयाँ गठबन्धनको सरकार छ । उहाँहरुलाई के भन्नु हुन्छ ?
सबैभन्दा पहिला सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’जीले एउटा सत्ता गठबन्धन भत्काउनुभएको छ । अर्को सत्ता गठबन्धन बनाउनुभएको छ । आज संविधानको रक्षा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण र यही संविधान र यही व्यवस्थाका माध्यम र मार्फतले मुलुकमा दिगो शान्ति र सुशासन, विकास र समृद्धिको एजेन्डा लक्ष्य प्राप्त गर्ने र मुलुकमा स्थिरता प्रदान गर्ने आजका मुख्यधेय हुन् । मुख्य उद्देश्य हुन् । हाम्रा मुख्य लक्ष्य हुन् । यो नयाँ गठबन्धन यी लक्ष्यहरूमा सफल हुन सकोस् ।

मुलुकमा अमनचयन कामय हुन सकोस् । दिगो शान्ति होस् । शासन होस् । समृद्धि होस् । विकास होस् । म यो कामना गर्न चाहन्छु । यसका साथसाथै कतिपय माननीय मन्त्रीजीहरूलाई निरन्तरता दिइराख्नुभएको छ । कतिपय साथीहरू नवनियुक्त हुनुहुन्छ । पहिला पहिला हुनुहुन्थ्यो बीचमा ईन्टरभलपछि फेरि आउनुभएको छ । उहाँहरूको पनि सफलताको कामना गर्न चाहन्छु । तपाईहरूले आ–आफ्नो मन्त्रालयमा गर्ने कामहरू प्रशंसाका विषय बन्न सकुन् । तपाईहरूले आफ्नो उद्देश्य पूरा गर्न सक्नु होला । यो सदनमा तपाईहरूले ठीक गर्नुभयो भन्ने स्थिति हामी सबैले भन्नुपर्ने स्थिति बनोस् । र, सामूहिक रुपले यो सदनप्रति सरकार जवाफदेही र जिम्मेवार हुँदै, नेपाली जनताप्रति जवाफदेही र जिम्मेवार बन्न सकोस् म शुभकामना व्यक्त गर्न चाहन्छु ।

० पाँच वर्षभन्दा लामो समय माओवादीसँगको गठबन्धन टिक्छ भन्दै नेताहरुले भनिरहँदा एकाएक गठबन्धन किन भत्कियो ?
माओवादीका साथीहरुले केही समय अघिदेखि नै वामगठबन्धनको प्रयास गरिरहनु भएको थियो । नयाँ गठबन्धनका लागि एकाएक भएको सहमति यो होइन । भन्नका लागि नेपाली कांग्रेसको महासमिति बैठकमा चुनावका लागि गठबन्धन नगर्ने र राष्ट्रिय सभाको निर्वाचनमा कोशी प्रदेशको परिणाम र माओवादीलाई हेर्ने दृष्टिकोणलाई कारण बनाए पनि यो उहाँहरुले पहिला देखिनै गरेको प्रयासको रुप हो। राजनीतिक नजरले हेर्दा खासगरी बामपन्थी पार्टीहरु आपसमा मिल्ने मिलाउने, सकेसम्म पार्टी नै एक गर्ने वा नभएपनि मोर्चा बनाएर जाने मान्यताको साथ उहाँहरु अगाडि बढेको देखिन्छ ।

तर, प्रत्येक घटनामा तत्कालिन, दीर्घकालीन र अल्पकालीन कारणहरु हुन्छन् । यो गठबन्धनको दीर्घकालीन स्थिति भनेको पार्टी एक बनाउने, नभए मोर्चा बनाएर बामपन्थीहरुलाई एक ठाउँमा राख्ने देखिन्छ । हाम्रो महासमिति बैठक, मन्त्रीहरुको कार्यशैली र कांग्रेससँग गठबन्धनमा बस्न सहज भएन भनेर उहाँले जुन कारणहरु भनिरहनुभएको छ, यी त निहुँ खोज्नका लागि देखाईएका कारणहरु मात्र हुन् । मुख्य कारण देखाउन नमिलेर स्थापित गर्न खोजिएका सहायक र तत्कालिन साना कारणहरु हुन् । यत्ति कारणले मात्रै त गठबन्धन भत्काइहाल्नु पर्ने नै थिएन । अहिलेको गठबन्धन कुनै राजनीतिक छलफल र सल्लाहका साथ आएको मैले बुझेको छु ।

१५ महिना हुन लागेको छ ३ पटक गठबन्धन फेरिएको छ । ३ महिनामा गठबन्धन फेरिदा मैले आज क्यालकुलेटरमा हिसाब गर्दा झण्डै ४ वर्ष बाँकी छ । गठबन्धन कति पटक फेरिदा रहेछन् भन्दा त ? यहि स्पीडमा, यहि गतिमा प्रधानमन्त्री जी हिँड्नुभयो भने झण्डै १३ पटक गठबन्धन फेरिनेवाला छ । १२ दशमलव ८२ आउँछ । ५ वर्षमा १२ पटक गठबन्धन फेर्ने अनि आफू चाहिँ १२ पटक भइरहने ।

अब यसलाई मैले जतिसुकै इमान्दार कदम हो, जतिसुकै देशका लागि हितकर हो, जतिसुकै राष्ट्र प्रेम हो, जतिसुकै देश भक्ति हो भने पनि, मत भनिदिउँला एकछिनका लागि, नेपाली जनता पत्याउँछ ? पत्याउनु पर्ने ? पत्याउँदैन नि । अब यो कुरोलाई, यस्तो कुरोलाई ५ वर्षमा १३ पटक गठबन्धन फेर्ने कुरालाई मेरो प्रधानमन्त्री जीवित छदाँसम्म उथलपुथल गर्छु भन्नुभएको छ । यहाँ मेरो गम्भीर रुपले ध्यानाकर्षण भएको छ । दुइटा कुरा भन्नुभएको छ । म जीवित रहँदासम्म उथलपुथल हुन्छ भन्नुभएको छ । त्यसमा त मेरो आग्रह के छभने हजुर जीवित सय वर्ष रहनु होला भन्ने मेरो शुभकामना छ ।

० तपाईँहरु सरकारमा हुँदा नेकपा एमालेले संसद् अवरोधलाई तपाईंहरू गैरजिम्मेवारी भनेर प्रतिक्रिया दिनुहुन्थ्यो। अहिले तपाइहरु पनि त्यही भूमिकामा हुनुहुन्छ । एमाले र कांग्रेसबीच के फरक रह्यो ?
संसदमा अहिले सबैभन्दा महत्त्वपूर्ण विषय विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल हो । सभामुख र सत्तापक्षका साथीहरूलाई निरन्तर हामीले यो विषय बजेटसँग सम्बन्धित भएकाले सदन अवरोध गर्न चाहँदैनौं भन्दै आएका थियौं । मैले नै सदन निरन्तर सञ्चालन गरौं भनेर ४÷५ दिनदेखि भनेकै हो । तर, एकाएक माननीय गृहमन्त्रीले राजनीतिक दलसम्बन्धी विधेयक प्रस्तुत गर्ने संसद्को कार्यसूचीमा राखियो । गृहमन्त्रीमाथि हामीले प्रश्न उठाएका छौं, प्रधानमन्त्रीको जवाफ मागेका छौं । जवाफ दिन नआएपछि यो विषयलाई सूचीबाट हटाऔं र बजेटमा छलफल गरौं भनेर अनुरोध गरेको हो । तर, सत्तापक्षले नै सदन नचले–नचलोस् भन्ने भाव देखाउन खोजेको देखियो ।

० गृहमन्त्री रबि लामिछानेसँग तपाईंहरूको आपत्तिको मुख्य विषय के हो ?
गृहमन्त्री रवि लाछिमाने मुछिएको सहकारी ठगी प्रकरणमा प्रहरीले छानबिन गर्न सक्छ ? सुन तस्करी प्रकरणमा प्रहरीले ठुला मान्छे जोगाउने गरी अनुसन्धान भएको तथ्य आयोगको प्रतिवेदनबाट गृहमन्त्री लामिछाने मुछिएको सहकारी ठगी प्रकरणमा प्रहरीले कसरी छानबिन गर्न सक्छ । सहकारी ठगी प्रकरणदेखि सुन काण्ड, भुटानी शरणार्थी काण्डसहित सबै काण्डका दोषीलाई कारबाही गर्नुपर्छ । गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी संस्थामा भएको अनियमितताको निष्पक्ष छानबिन गर्नुपर्छ । जीबी राईसँग मिलेर पोखराको सूर्यदर्शनसहित अरू सहकारीबाट लामिछानेले पनि बचतकर्ताको रकम हिनामिना गरेको आरोपबारे स्पष्ट पार्नुपर्छ ।

जीबी राई लगायतको ग्रुप जुन छ, जसमा दीपेश पुन अहिले पक्राउ परेर बुटवल लिएर गइएको छ। यो समूहले अर्बौँ रुपैयाँ अपचलन गरेको छ र त्यसमध्येको सबैभन्दा धेरै ठुलो पैसा गोर्खा मिडिया, यही ग्यालेक्सी टेलिभिजनमा गएको छ। मैले थाहा पाएसम्म अरू थुप्रै शक्तिशाली नेताहरूको पनि नाम आउँछ यदि राम्रोसँग अनुसन्धान गरियो भने । तर, सहकारी ठगी प्रकरणमा गृहमन्त्री आफैं मुछिनुभएको छ। यसको अनुसन्धान कसरी हुन्छ? यसको विश्वास हामीले कसरी गर्ने हो? गृहमन्त्री जुन सहकारीको होइन, तर त्यहींबाट पैसा लिनुभयो । त्यो पैसा कहाँ लगानी गर्नुभयो, उहाँले जान्ने कुरा भयो । यसरी सहकारीमा सर्वसाधारणको पैसा अपचलन गरिएको विषयमा गृहमन्त्रीमाथि प्रश्न मात्रै होइन कि प्रहरीमा जाहेरी दिएको स्थिति छ । पोखरा महानगरपालिकाको छानबिनले यो कुरा उल्लेख गरेको छ, उहाँको खातामा पैसा गएको देखिन्छ । यस्तो परिस्थितिमा उहाँ आफैं गृहमन्त्री हुनुभएको छ ।

० अहिलेसम्मको संविधानको कार्यान्वयनको अवस्था हेर्दा यसको भविष्य कस्तो देख्नुहुन्छ ?
निकै महत्वपूर्ण विषय सोध्नुभयो । यसलाई दुई हिसाबले हेरौं । एउटा हामी त्यस्तो देशमा छौं जहाँ सात दशकमा दशओटा संविधान बनाइसकेका छौं । संविधान धेरै बन्नु भनेको राम्रो मानक होइन, मानिँदैन । त्यो त धेरै व्यवस्थाको असफल प्रयोग गर्यौं भन्ने हो । त्यो त हामी कति धेरै अस्थिरताको दौडबाट जुज्रियौं भन्ने प्रमाण हो । अब हामीलाई यो संविधान असफल बनाउने छुट छैन । यसलाई सफल बनाउनै पर्छ । तर, संविधान जडवस्तु होइन चलायमान र क्रियाशील दस्तावेज हो ।यसलाई गीताको रुपमा हेर्न थालियो भने फेल हुनेतिर जान्छ । आजको दिनमा संविधानलाई पुनरावलोकन गरेर यसभित्रका कमीकमजोरी, जटिलता र कार्यान्वयनमा देखिएका समस्याहरुलाई संशोधनमार्फत सुधार गरेर लिएर जानुपर्ने बेला भैसक्यो । संशोधन गर्दा यसका आधारभूत मर्महरु मर्नु हुँदैन । संविधानको पुनरावलोकन गरेर दीर्घजिवी बनाउन यसमा सिर्जनशिल र रचनात्मक परिवर्तन गरौं ।

० कांग्रेस–एमाले सहकार्यको चर्चा चलिरहेका छन्, त्यो कति सम्भव रहेको छ ?
राजनीतिमा धेरै सम्भावना हुन्छन् । अहिले एमालेसँग कुरा भइराख्या छ, हाम्रो गठबन्धन हुने कुरा केही पनि छैन ।

० फेरि नयाँ गठबन्धन बनाएर सत्तामा आउने प्रयास त भइरहेको छ नि ?
अहिले हामी प्रतिपक्षमा छौं । हाम्रो प्रमुख भूमिका प्रतिपक्षको छ । हामीले प्रभावकारी, रचनात्मक र सशक्त प्रतिपक्ष भनेर तीन शब्द प्रयोग गरेका छौं । हामी प्रतिपक्षको धर्मभित्र पर्ने राजनीति गर्छौं ।

० काग्रेसको एक पक्ष हिन्दु राज्यको पक्षमा आवाज उठाइरहको छ । अर्को पक्ष धर्म निरपेक्षता हुनुहुँदैन भन्ने आवाज उठेको छ । त्यो विषय संशोधनमा पर्छ ?
हामीले अध्ययन गर्दा समग्रतामा गर्न पाइयो । तर, संविधानका धर्म निरपेक्षता लगायतका केही आधारभूत तत्वहरु छन् त्यसलाई अहिले नै खलबल्याउन हुँदैन । नेपाल धेरै धार्मिक, सामाजिक, जातिय सहिष्णुता भएको देश हो । यसलाई हामीले यो र त्यो धर्म भन्ने बहसमा लिएर गयौं भने यसले अहिले हाम्रो सामाजिक सद्भावमा खलल गर्छ । यो विषयलाई सबैले गम्भीरतापूर्वक सोच विचार गर्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *