किन सुस्ताउँदै वाम गठबन्धन ?

राजनीति समाचार

नेपालमा पछिल्लो राजनीतिक अभ्यास निकै अस्थिर देखिएको छ । अस्थिर राजनीतिक अभ्यासकै कारण गठबन्धन जोडिने र टुट्ने परम्परा नै सिर्जना भएको छ । मुलुकको तेस्रो राजनीतिक दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिका आधारमा वाम गठबन्धन बनाएर मुलुकको नेतृत्व गरेका थिए ।

तर, काम गर्न कठिनाई भएको भन्दै अड्चन निकाल्दै प्रधानमन्त्री दाहालले वाम गठबन्धन तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरी सरकारको नेतृत्व गरेका थिए । सत्ता र स्वार्थको राजनीतिक खेलमा राजनीतिक दलहरुबिचको स्वार्थ बाझिन पुग्दा गठबन्धनमा अस्थिरता देखिएँदै आएको हो । पुनः पछिल्लो समय प्रधानमन्त्री दाहालले नेकपा एमालेलगायत अन्य राजनीतिक दलहरुसँग गठबन्धन गरी वामशक्ति खडा गरेर सरकार चलाएका छन् । तर पछिल्लो राजनीतिक गठबन्धनले पनि जनतामा आशा सिर्जना गर्न सकेको छैन ।

राजनीतिक परिवर्तनसँगै पछिल्लो समय केही ठूला प्रकरणहरु पनि बाहिर आए । यस्ता प्रकरणहरुमा राजनीतिक दलहरुकै वरिष्ठ नेताहरुको संलग्नता देखिँदा राजनीतिक दलहरुका लागि आरोप–प्रत्यारोप, ढाकछोप र बार्गेनिङको आधार पनि बनेको छ । पछिल्लो समय नेपालको राजनीतिमा जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान चरितार्थ भएको छ । काम गर्न असहज भएको भन्दै सत्ता स्वार्थमा प्रधानमन्त्री प्रचण्डले पुनबाम गठबन्धन गरेर सरकार चलाए पनि त्यसले समेत काम गर्ने लक्षण देखिएको छैन । सरकार गठन भएको केही समय बितिसक्दा पनि कुनै उपलब्धिमूलक योजना सरकारले बाहिर ल्याउन सकेको छैन ।

उल्टै दोषारोपण र ठूला प्रकरणमा मुछिएका व्यक्तिहरू छुट्ने र छुटाउने खेल मात्रै चलिरहेको छ जताततै विकास अवरुद्ध छ । आयोजनाहरू लथालिङ्ग पारेर राखिएको छ। मुलुकको आम्दानी घट्दो छ महङ्गीले सर्वसाधारणको ढाड थिचेको छ । तर पनि सरकार भने अचल बनेर जनताका समस्या र गुनासाप्रति सक्रिय हुन सकेको देखिँदैन। अहिलेको बाम गठबन्धनप्रति पनि छाएको जनताको निराशालाई सरकारले चिर्दै उपलब्धिमूलक काम गर्नुपर्ने देखिन्छ ।

कम्युनिष्ट चिन्तन बोकेर मुलुकलाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा दिशानिर्देश गर्ने हेतुले राजनीतिमा सक्रिय कम्युनिष्ट पार्टीको गठबन्धनले मुलुकलाई निकास दिनुपर्ने हुन्छ । तर वाम गठबन्धन निरन्तर असफल हुँदै आएको देखिन्छ । अब जुनै गठबन्धन सरकारमा आएपनि सच्चिन जरुरी छ र जनताको निराशालाई आशामा परिणत गर्दै मुलुकलाई चलायमान बनाउन अनिवार्य बनेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *