पर्यटन व्यवसायीकै कारण नेपालमा पर्यटकहरु घट्दै

राजनीति समाचार

काठमाडौं । नेपालमा २०७६ साल चैत्र ११ गतेबाट कोरोनाको कारण लकडाउन भएदेखि पर्यटन क्षेत्र चलायमान हुन सकेको थिएन । एकातिर कोरोनाको कारण अर्काेतिर असुरक्षाको कारण देखाएर विदेशीहरु नेपाल आउन कमी भएको बताइन्छ । नेपाललाई टुरिजम क्षेत्र भनेर चिनिए तापनि विदेशी पाहुनाहरुलाई टुरिजम क्षेत्रमा काम गर्ने विचौलियाहरुले ठगी गर्ने गरेकाले टुरिजम क्षेत्रप्रति विश्वास घटेको हो । टुरिजम क्षेत्रमा काम गर्ने विचौलियाहरुले कतिपय विदेशीहरुलाई टिम्स कार्डको नाममा ठगी गर्ने, हिमाल आरोहण गर्ने नाममा ठगी गर्ने, गेष्टहाउसमा बस्ने पर्यटकहरुलाई समेत दुःख दिने गरेको कारण नेपालमा विदेशी पर्यटकहरु कम आएको बताइन्छ ।

त्यस्तै, छिमेकी मुलुक चीनका नागरिकहरु नेपालमा आएर विभिन्न पेशाव्यवसाय गर्नेदेखि चोरी, बैंक ह्याकर, अनलाइन ठगी र सुन तस्करी समूहसँग मुछिएको कारण देखाएर युरोपियन देशका नागरिकहरु नेपाल आउन कमी भएको टुरिजम व्यवसायीहरुको भनाइ छ ।

कतिपय चिनिया नागरिकहरुले विभिन्न देशका नागरिकहरु बसेको ठाउँमा गएर होहल्ला गर्ने, झै–झगडा गर्ने गरेको पाइन्छ । त्यसकारणले गर्दा विभिन्न देशका नागरिकहरु नेपाल आउन कम भएको बताइन्छ । अन्य विदेशी नागरिकहरुले भन्ने गरेका छन्, ‘अहिले नेपालमा चिनियाँ नागरिकहरुको दबदबाह बढेको छ । उनीहरुबाट हामी सुरक्षित छैनौं, त्यसैले नेपाल भ्रमण गर्न पहिलाको जस्तो सुरक्षित छैन ।’ त्यसले गर्दा चीनबाहेक अन्य मुलुकका पर्यटकहरु नेपाल आउन कम भएकोे एक पर्यटन व्यवसायीले तामाकोशी सन्देशसँग गुनासो गरेका छन् । कतिपय विदेशी पर्यटकहरुले बिदाको समय पारेर नेपाल भ्रमण गर्ने गरेका थिए ।

तर, २०७६ सालको कोरोनापछि नेपालमा पर्यटकहरु आउन एकदमै कम भएको पाइन्छ । आइहाले तापनि हप्तादेखि १५ दिनको लागि मात्र नेपाल आउने र फर्कने गरेका छन् । एकातिर स्थिर सरकार नहुनु अर्काेतिर टुरिजम व्यवसायीहरुले पर्यटकहरुलाई दुःख दिने कारणले पनि अधिकांश पर्यटकहरुको संख्या घट्दो छ । टुरिजम व्यवसायीहरुले नेपालमा पर्यटक भित्र्याउनको लागि कुनै पहल गरेको पाइँदैन । पर्यटन बोर्डमा सिइओ समेत नियुक्ति हुन सकेको छैन । बल्लतल्ल भर्खरै पर्यटन बोर्डको सदस्यमा केहि व्यक्तिलाई नियुक्ति गरिएको छ । तर, पर्यटन बोर्डको सिइओ भने नियुक्ति गरिएको छैन ।

विगत लामोसमयदेखि पर्यटन बोर्ड सिइओ विहिन छ । पर्यटन बोर्डको सिइओ बन्न ४ जनाले प्रतिस्पर्धा गरिरहेका छन् । तर, सरकारले बोर्डमा सिइओ नियुक्ति गर्न सकेको छैन । तत्कालीन सिईओहरुले पनि पर्यटन बोर्डलाई चलायमान बनाउन नसकेर त्यतिकै लथालिङ्ग अवस्थामा पु¥याएका थिए । कतिपय सिइओहरु भ्रष्टाचार गरेर बदनाम समेत भएका थिए । तत्कालीन सिईओ धनन्जय रेग्मीले पर्यटन क्षेत्रलाई चलायमान बनाउन सकेनन् । उनको कार्यकाल पनि विवादैविवादमा सकिएको थियो । तर पर्यटन बोर्डको सिईओमा कसलाई नियुक्ति गर्ने हो त्यो पनि निश्चित छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *