कर छली गर्ने गद्योगी, व्यापारीहरुलाई राज्यकै संरक्षण

राजनीति समाचार

काठमाडौं । एकातिर आर्थिक मन्दीले देश चलायमान हुन नसकेको भनिरहँदा अधिकांश उद्योगी, व्यावसायीहरुले कर छली गरिरहेका छन् । राजश्व कार्यालय र राजश्व अनुसन्धान विभागले त्यस्ता कर छली गर्ने ठूला व्यापारी र उद्योगीहरुलाई अनुगमन गरी कारबाही गर्नुको सट्टा उल्टै कर छुट दिने काम गर्दै आएको छ । त्यसले गर्दा झन् कर छली गर्नेको संख्या बढ्दै गएको छ । कर छली गर्नेहरुमा अधिकांश बैंक तथा वित्तीय संस्थाहरुदेखि उद्योगी, व्यापारीसँगै विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरु रहेका छन् ।

त्यसैगरी कोकाकोला, एनसेल, मेनपावर कम्पनी, ठूला–ठूला बोर्डिङ स्कूल र कलेज, विभिन्न कन्सलटेन्सीलगायतका कम्पनीहरुले राज्यलाई तिर्नुपर्ने बक्यौता नतिरी खुलेआम हिड्ने गरेका छन् । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले ग्राहकबाट अग्रिम भुक्तानी लिने गरेका हुन्छन् । त्यो पनि आफ्नै रेटमा विभिन्न सेवा, सुविधाको लोभ देखाएर महंगो शूल्क असुल्ने गरेका हुन्छन् । उपभोक्ताले भुक्तानी गर्न एक दिन ढिला गर्दा पनि लाइन काटिदिने गर्दछन् । तर, सर्वसाधरण उपभोक्ताबाट अर्बौं असुली गर्दा पनि इन्टरनेट कम्पनीहरुले राज्यलाई कर छली गरिराखेका छन् ।

त्यसैगरी विभिन्न देशहरुमा विद्यार्थी पठाउने नाममा खोलिएका कन्सलटेन्सीहरुले पनि महंगो शुल्क असुली गरेर अर्बौं रुपैयाँ असुली गर्दा पनि राज्यलाई कर छली गरेर झुक्याउँदै आएका छन् । त्यस्तै बहुराष्ट्रिय कम्पनी कोकाकोलाले पनि राज्यलाई ठूलो मात्रामा कर छली गर्दै आएको छ । उता, मदिरा उत्पादक कम्पनीहरुले पनि राज्यलाई कर छली गर्ने गरेका थुप्रै उदाहरणहरु छन् । दूरसञ्चार प्रदायक कम्पनी एनसेलले पनि ठूलो मात्रामा राज्यलाई कर छली गरेको छ । तर, उपभोक्तासँग भने विभिन्न सुविधाको नाममा अग्रिम भुक्तानी लिने गरेको हुन्छ । त्यसैगरी नेतादेखि पहुँचवालाको लगानी रहेका विभिन्न बोर्डिङ स्कूल, कलेजहरुले पनि सेवामुलक संस्थाको नाममा राज्यलाई ठूलो मात्रामा कर छली गरेर गुमराहमा पार्दै आएका छन् ।

उता, सिमेन्ट र रड कम्पनीहरुले त बिजुलीको पैसा समेत तिरेका छैनन् भने कर छली नगर्ने कुरै भएन । त्यतिमात्रै होइन, सिमेन्ट कम्पनीले त कर छुटमा धेरै नाफा देखाएर सर्वसाधारणलाई सेयर बिक्री गर्दासमेत बुक बिल्डिङमार्फत बढी रकम असुल्ने काम गरेका छन् । त्यसको गतिलो उदाहरण बनेको छ सर्वोत्तम सिमेन्ट । सर्वोत्तम सिमेन्टले राज्यबाट कर छुट पाएको रकम जोडेर नाफा भएको भनी बुकबिल्डिङमार्फत सर्वसाधारणमा सेयर जारी गरेर ठगी गरेको छ । त्योसँगै माडवारीदेखि विभिन्न व्यापारीहरुले गाडी र मोटरसाकिइल खरिद–विक्री गर्दा नक्कली बिल बनाएर ठूलो मात्रामा कर छली गर्दै आएका छन् ।

त्यस्तै ढुंगा, गिटी, बालुवा व्यवसायी तथा करसर उद्योगीहरुले पनि राज्यलाई ठूलो मात्रामा कर छली गर्दै आएका छन् । उता भूमाफियाहरुले सस्तो दाममा जग्गा खरिद गरी प्लटिङ्ग गर्ने नाममा कर छली गर्दै आएका छन् । यस्ता कर छली गर्ने ठूला उद्योगी, व्यवसायीहरुलाई राज्यको सम्बन्धित निकायले कर छली भए नभएको अनुगमन गरी कर उठाउन सकेको छैन । तर साना लगानीमा व्यापार, व्यवसाय गरेर रोजीरोटी चलाउनेहरुलाई करको नाममा अनावश्यक दुःख दिने काम गरेको पाइन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *