नयाँ सरकार पनि सुस्त गतिमा

राजनीति समाचार

काठमाडौं । पाँचदलीय गठबन्धन सरकार बनेको एक महिना पुरा भएको छ । तामझामसहित बनेको नयाँ सरकारले महिनादिन पुगिसक्दा पनि कुनै ठोस योजना ल्याएर अगाडि बढ्न सकेको छैन । नयाँ जोश जाँगरसहित आएका मन्त्री भए पनि अधिकांश मन्त्रालयहरु सुनसान अवस्थामा गुज्रिइरहेको देखिन्छ । सरकार फेरिएसँगै सचिवहरु फेरबदल गर्ने प्रचलन छ ।

सोही सिलसिलामा सरकारले पहिलाको मिति राखेर सचिवहरु सरुवा गरेको छ । सचिवहरु सरुवा गरे तापनि सरकार चुस्तदुरुस्त ढंगले अगाडि बढ्न सकेको छैन । नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डको बोलीव्यवहारले सरकार सुस्त भएको देखिन्छ । एमाले अध्यक्ष ओलीले सार्वजनिक रुपमा बोल्ने स्वर पनि बदलेका छन् । अघिपछि एकअर्कालाई ठूलो स्वरमा गालीगलौज गर्ने नेताद्वय ओली र प्रचण्डको स्वर एकाएक मलिनो हुनु भनेको यो सरकारमा केही रहस्य हुन सक्छ । कर्मचारीहरु पनि आफ्ना पार्टी निकटको मन्त्रालयमा जानको लागि मन्त्री र सचिवकोमा धाउन थालेका छन् ।

कर्मचारीकै कारण अधिकांश मन्त्रालयमा काम हुन सकेको छैन । कर्मचारीहरु मालदार कार्यालयमा सरुवा हुनको लागि विभिन्न दलनिकट कर्मचारी संगठनहरुसँग हारगुहार गरिराखेका छन् । तर, नेकपा एमालेले पुरानै व्यक्तिलाई मन्त्रीमा पठाएको छ । एमाले अध्यक्ष ओलीलाई जसरी भएपनि कांग्रेससँगको गठबन्धन भत्काउनुथियो उनको त्यो इच्छा पुरा भएको छ । ओलीको इच्छा पुरा भए तापनि विकास निर्माणका कामहरु झन् सुस्त बन्दै गएका छन् । उता प्रधानमन्त्री प्रचण्डले ‘म बाँचुन्जेल देशमा उथलपुथल भइरहन्छ’ भन्नुले पनि ओली र प्रचण्डबीच सम्बन्ध राम्रो छैन भन्ने बुझिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *