वामपन्थी नेताहरु सुनदेखि यौन काण्डमा मुछिए

राजनीति समाचार

काठमाडौं । कम्युनिष्ट भनिएका एक पछि अर्का नेताहरु किन कुहिएका होलान,यसरी ? माओवादीका शीर्षस्थ नेताहरु कोही सुन काण्डमा त सहकारी काण्डमा जोडिएर बदनाम छन् । पूर्व माओवादीका नेता टोपबहादुर रायमाझीका वावु,छोरा नै नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएर पतन भए । अर्थमन्त्री बर्षमान पुनदेखि,कृष्णबहादुर महरा,पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका सन्तासम्म सुन तस्करीमा जोडिए । यता सहकारी ठगीमा बहालवाला मन्त्री शक्तिबहादुर बस्नेत मुछिरहेका छन् ।

कुनै समय आर्दशका पात्रका रुपमा हेरिएका माओवादी र एमालेका कमरेडहरु यसरी आर्थिक विचलनमा परेर स्खलित हुँदै जाँदा एमालेमा चाहिँ यौनकाण्ड भुसको आगोझैं फैलिएको छ । तर यस्ता काण्डमा डामिएकालाई साधरण स्पष्टीकरणसम्म सोध्दैन पार्टीले । उसो त यस अघि नै कृष्णबहादुर महराको यौनकाण्ड छरपष्ट भयो । चिनियाँ नागरिकसँग अर्बाै डिल गरेको अडियो प्रकरण,यौनकाण्ड हुँदै सुनकाण्डमा डामिएका महराले सेटिङमा उन्मुक्ति पाइसकेका छन् । पूराना पुस्ताका आर्दशवान मानिएका मोहन बिक्रम सिंहदेखि पूर्व शिक्षामन्त्री मोदनाथ प्रश्रितसम्म, पञ्चायत कालको बहुचर्चित नख्खु जेल विद्रोहका एक नायक रहेका जीवन मगरदेखि माओवादी आन्दोलनका चर्चित नेता रविन्द्र श्रेष्ठसम्म यौनकाण्डमा कारण बर्बादी खेप्दैछन् ।

पछिल्लो समय एमाले पार्टीमा सांष्कृतिक विचलनको श्रृंखला ह्वात्तै बढेको छ तर यस्ता विचलनमा मुछिएकालाई विभागीय कारवाही त परैको कुरा साधरण स्पष्टीकरणसम्म सोधिएको भेटिदैंन । पूर्व मन्त्री शेरधन राई,महेश बस्नेतदेखि अखिल पृष्टभूमिबाट उदाएका ऐन महरहरुलाई हेरौं । ती नेताहरु यौन काण्डका कारण स्खतिल भएका छन् । दोलखाको एमालेकै कार्यकर्ता बालिका खड्काले एमाले नेता शेरधन राईमाथि यौनजन्य हिंसाको आरोप लगाइन् । खड्का आधा अंश माग गरेर जिल्ला अदालत काठमाडौंमा ०७६ मा मुद्दासमेत दायर गरिन् । न यो विषय अदालतबाट छिनोफानो लागेको छ न त पार्टीले नै विवादको निरुपण गर्न सकेको छ । बालिका र शेरधन काण्डलाई बिर्साउने गरी एमालेमा ‘अरेली काँडा’काण्ड उत्कर्षमा छ ।

धादिङ, ज्वालामुखी– ७ की शोभा पाठक ‘जानुका’लाई महेश बस्नेतले वानेश्वर नजिकै रहेका सनराइज अर्पाटमेन्टमा मासिक ७० हजार भाडा तिरेर राखिरहेका थिए । उनैले शोभालाई दुई पटकसम्म बलत्कार,एक पटक गर्भपतन गराएको आरोप अहिले शोभाले लगाउँदै हिडिरहेकी छिन् । यो प्रकरण अब प्रहरीमा पुगेको छ । शोभा न्याय खोज्दै पार्टी अध्यक्ष, शंकर पोखरेल हुँदै दुर्गा प्रसाईकहाँसम्म पुगिन । कहिँ कतैबाट न्याय नपाएको भन्दै अहिले मिडियाबाजी गरिरहेकी छिन् । महेशविरुद्ध जाइलाग्ने शोभा युवा संघकी केन्द्रीय सदस्य हुन । उनी विगत पाँच बर्षदेखि बस्नेतसँग सम्बन्धमा रहेको बताउँदै हिडेकी छिन् ।

उसो त बस्नेतले यस अघि पर्शुराम बस्नेतको घर भाँडिदिएका हुन । तर बस्नेतमाथि यति ठूलो सांस्कृतिक विचलनको आरोप लाग्दा समेत केपी ‘बा’ले छोराविरुद्ध कुनै एक्सन लिएका छैनन् । यस्तै विचलनमा डामिएका अहिलेका सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीसँग चुनाव हारेका,अखिलको पृष्टभूमिबाट उठेर ठेक्कापट्टा र कमिधन धन्दामा लागेका ऐन महरलाई एमाले पार्टीको कारवाहीको नाटक मञ्चन ग¥र्यो र फेरि कारवाही फुकुवा ग¥र्यो । ऐन पनि एउटी विवाहित महिलासँग सम्बन्धमा रहेको खुल्यो ।

कसैले कसैलाई आरोप लगाउदैँमा त्यो सही हो भन्ने हुँदैन । पछिल्लो समय ‘हनी ट्रयाप’ का घटनाहरु पनि बढ्दो छ । तर, महरा, महर र बस्नेतहरुमाथि जुन तथ्यसहित आरोपहरु लगाइएको छ, ती आरोपहरु छरपष्ट हुँदा समेत कम्युनिष्ट पार्टीभित्र कुनै कारवाही नहुनु चाहिँ लज्जाको बिषय हो । पछिल्लो समय काँग्रेस, राप्रपा लगायतका दलमा सांस्कृतिक विचलनको घटना देखिन छाडेको छैन तर यस्तो रोग कम्युनिष्ट पार्टीमा बढ्दै गएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *