लगानी सम्मेलनको औचित्य खै

राजनीति समाचार

नेपाल सरकारले वैदेशिक लगानी भित्र्याएर उद्योग कलकारखाना जलविद्युत सूचना प्रविधि लगायतका विभिन्न क्षेत्रलाई चलायमान बनाई मुलुकको अर्थतन्त्रलाई दिशानिर्देश गर्ने उद्देश्यले लगानी सम्मेलन गर्दै आएको छ । मुलुकमा ठूलो पुँजीको अभाव र शिथिल बनेको अर्थतन्त्रको कारण लगानी हुन नसकेको अवस्थामा ठूला वैदेशिक लगानीहरू भित्र्याएर आर्थिक क्षेत्रलाई उकास्नका लागि सरकारले पहल गर्दै आएको छ । नेपाल सरकार मातहतको लगानी बोर्डले समयसमयमा लगानी सम्मेलन गरेर विभिन्न क्षेत्रमा लगानी गर्नका लागि आह्वान गरेको हुन्छ । तर त्यसले सार्थकता पाउने गरेको छैन ।

आगामी वर्ष २०८१ सालको वैशाख १६ र १७ गते लगानी बोर्डले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गर्दैछ । विगतका वर्षहरूमा पनि दुईवटा अन्तर्राष्ट्रिय लगानी सम्मेलन सम्पन्न भइसकेका छन् । सरकारको पहलमा भइरहेको यी लगानी सम्मेलनको औचित्य भने अहिलेसम्म देखिएको छैन । विगतका लगानी सम्मेलनहरूमा लगानीकर्ताहरूले गरेको प्रत्याभूति र आश्वासन त्यत्तिकै हराएको छ । लगानी सम्मेलन गर्ने र यी सम्मेलनमा अन्तर्राष्ट्रिय निकाय र लगानीकर्ताहरूले लगानीको आश्वासन दिने तर लगानी भने नगरेको देखिन्छ । अहिलेसम्म विदेशी लगानीबाट नेपालमा सञ्चालित व्यवसाय निकै न्यून छ ।

सरकारको कमजोरी हो या लगानीकर्ताले सुरक्षा महसुस नगरेको हो त्यो जनताले मूल्याङ्कन गर्ने पाटो हो । तर लगानीको आश्वासन दिएर सरकारलाई नै झुक्याउने परिपाटी लाई निरन्तरता दिँदै आगामी सम्मेलनले पनि कुनै प्रतिफल दिनेछ भन्न सकिँदैन । लगानी सम्मेलन गरिरहँदा सरकारले सर्वप्रथम सम्भाव्य लगानीका क्षेत्रहरू पहिचान गराई त्यसको सुरक्षाको प्रत्याभूति दिनु जरुरी छ ।

त्यसैगरी लगानी गर्ने आश्वासन दिएर लगानी गर्न अनिच्छुक लगानीकर्ता वा निकायलाई सरकारले कारबाहीको दायरामा ल्याउनुपर्छ । सरकारले हालसम्म दुईवटा अन्तर्राष्ट्रिय लगानी सम्मेलन सम्पन्न गरिसकेको छ । तर यी लगानी सम्मेलनले नेपालका लागि कुनै प्रतिफलयोग्य नतिजा दिन सकेका छैनन् । अझ भन्नुपर्दा यी लगानी सम्मेलन गर्दा सरकारले ठूलो खर्चको भार बेहोर्नुपरेको छ ।

ठूलो तामझामका साथ अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने झुटा लगानीका प्रतिबद्धताहरू गर्ने र लगानी नहुने अवस्थाको अन्त्य हुनुपर्छ । यस्तो खराब परिपाटीको अन्त्य नभएसम्म मुलुकको अर्थतन्त्र चलायमान हुने, समृद्धि र विकास हुने आशा गर्न सकिँदैन । लगानी सम्मेलन गरिरहँदा सरकारले आन्तरिक उद्यम र व्यवसायलाई पनि विशेष ध्यान दिएर अवसरहरू सिर्जना गर्न जरुरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *