कम्पनी रजिष्ट्रार भ्रष्टाचारीको अखडा

राजनीति समाचार

काठमाडौं । सरकार बनेको वर्ष दिन नपुग्दै ढाल्ने र ढलाउने खेल हुँदा जताततै भ्रष्टाचार बढेर गएको छ । त्यो अहिलेदेखिको परम्परा होइन । पुरानै कालखण्डदेखि राजनीतिक दलहरुले स्पष्ट बहुमत ल्याउन नसक्दा देशमा स्थायी सरकार बन्न सकेको छैन । स्थायी सरकार नबन्दा देशमा ठुला–ठुला भ्रष्टाचारका काण्ड मच्चिँदै आएका थिए । कर्मचारी र नेताहरुले मिलेर भ्रष्टाचार गर्दै आएका थिए । यतिबेला अख्तियारले भ्रष्टाचारका मुद्दाहरु धमाधम अदालतमा दायर गर्दैछ । तर अख्तियारले राजनीतिक दलका नेताहरुलाई चोख्याएर कर्मचारीहरुलाई दोष लगाएर भ्रष्टाचारका फाइलहरु अगाडि बढाइरहेको छ ।

त्यसले कतिको प्रभाव पार्छ यकिन छैन । तर कर्मचारीहरु मालदार अड्डामा गएर घुस खान छाडेका छैनन् । कतिपय कर्मचारीहरु यातयात कार्यालय, नापी कार्यालय, कम्पनी रजिष्ट्रारको कार्यालय, उद्योग विभागको कार्यालय, आन्तरिक राजस्व कार्यालय, भन्सार कार्यालय, कर कार्यालय, राजस्व अनुसन्धान कार्यालय, ठुला करदाता कार्यालय जस्ता ठाउँमा जानको लागि राजनीतिक दलका नेतादेखि कर्मचारी संगठनका नेता र सचिवलाई प्रयोग गरेर यस्ता कार्यालयहरुमा जाने गरेका छन् ।

कतिपय कर्मचारी सोर्सफोर्स, भनसुन र घुस खुवाउने पैसाको अभावको कारण त्यस्ता कार्यालयमा जान सक्दैनन् । कतिपय कर्मचारी पैसा सोर्सफोर्स र भनसुनको आधारमा वर्षौदेखि मालदार कार्यालयमै बस्दै आएका छन् । त्यसको उदाहरण बनेको छ कम्पनी रजिष्ट्रारको कार्यालय । कम्पनी रजिष्ट्ररका कर्मचारीले विहान बेलुकाको खाना समेत अफिसमा खाएर काम गर्ने गरेका छन् । किनकी त्यहाँ कमिशनखोर र भ्रष्टाचार गर्न पाइन्छ ।

अन्य आम्दानी नहुने कार्यालयमा कर्मचारी विहान १० बजे आउनुपर्नेमा दिनको १२ बज्दासम्म आएका हुँदैनन् । आम्दानी हुने कार्यालयमा बिहान, बेलुका पनि खटिराखेका हुन्छन् । त्यसको उदाहरण बनेका छन्, कम्पनी रजिष्ट्रर कार्यालयका भीम बस्नेत । बस्नेत लामो समयदेखि कम्पनी रजिष्ट्रार कार्यालयमा कार्यरत छन् । उनले अल्फाबेटा हेर्ने काम गर्छन् । त्यो अल्फाबेटाको फाइलबाट केहि रकम झार्छन् । उनले उद्योगी र कम्पनीले बुझाउनुपर्ने जरिवानामा छुट दिएर कमिशन खाने गरेको बताइन्छ । हाल कम्पनी रजिष्ट्रार दिपक पहाडी रहेका छन् । उनको जागिरे अवधि पनि ३÷४ महिना भन्दा बढि छैन । उनलाई घर जाने बेलामा कमाउनु परेको छ । पहाडीले कम्पनी रजिष्ट्रारको कार्यालयमा विभिन्न फर्निचरका नयाँ सामानहरु खरिद गरी कमिशन खाएकै छन् ।

त्यस्तै कार्यालय मर्मत सम्भार र रङरोगन गरी कमिशन खाएको आरोप पनि उनीमाथि छ । उता, नासु घाटामुनि पोखरेल विगत लामो समयदेखि कम्पनी रजिष्ट्रारको कार्यालयमा बसेर उद्योग र कम्पनी हेर्ने लेखनदास अथवा वकिलहरुलाई लिएर पैसा असुल्न लागिपरेको बताइन्छ । त्यस्तै अर्का हरि चापाई कम्प्युटर अपरेटर रहेका छन् । चापाईले कम्प्युटर ह्याङ भएको बहाना बनाएर रातलाई दिन र दिनलाई रात बनाउँदै पैसा असुल्ने गरेको बताइन्छ । कम्पनी रजिष्ट्रार कार्यालयमा नासु नारायण विष्टको पनि त्यतिकै हालिमुहाली चल्ने गरेको बताइन्छ । उनी सरुवा भएको ठाउँमा नगएर काज मिलाएर कम्पनी रजिष्ट्रारमै रमाउँने गरेका छन् । कम्पनी रजिष्ट्रार कार्यालयमा अधिकांश विचौलिया र कर्मचारीहरुको मिलेमतोमा उद्योगी र कम्पनी सञ्चालकहरुलाई दुःख दिएको गुनासोहरु थुप्रै छन् ।

उद्योगी र कम्पनीहरुले समयमा आफ्नो कम्पनीको अध्यावधि, सेयरलगत, कम्पनी नविकरण, कम्पनी खारेज गर्ने जस्ता कामहरुमा ढिलासुस्ती हुँदा कर्मचारीलाई पैसा खुवाउनु पर्ने वाध्यता भएको गुनासो गरिराखेका छन् । कम्पनी रजिष्ट्रार जस्तो राजश्वको मेरुदण्ड मानिने र बेरोजगारलाई रोजगारी सिर्जना गर्ने संस्थालाई कर्मचारी र विचौलियको कारण लथालिङ्ग बनाइएको छ ।

कम्पनी दर्ता गरेर देशमै केही गर्न खोज्ने युवायुवतीहरुलाई कम्पनी रजिष्ट्रार कार्यालय, वडा कार्यालय र आन्तरिक राजश्व कार्यालयले यो या त्यो बहानामा अनावश्यक दुःख दिने गरेका कारण विदेश पलायन हुन वाध्य पारिएको छ । किन भने नेपालमा उद्योग सञ्चालन गरेर केही गर्न खोज्दा आम्दानीभन्दा राज्यलाई विभिन्न बहानामा तिर्नुपर्ने हर्जना बढी भएपछि दर्ता गरेको कम्पनी बीचैमा छोडेर युवाहरु विदेशिन थालेका छन् । यसप्रति राज्यको सम्बन्धित निकाय मौन छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *