कर्मचारीहरु भटाभट अख्तियारको फन्दामा पर्दै

राजनीति समाचार

काठमाडौं । तत्कालीन नेपाल टेलिकमका प्रवन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । प्रवन्ध निर्देशक पौडेल नेपाल टेलिकममा तत्कालीन प्रबन्ध निर्देशक रहेका थिए । उता, सुरक्षण मुद्रण विकास समितिमा विकल पौडेल तत्कालीन कार्यकारी निर्देशक थिए । सुनिल पौडेल र विकल पौडेलद्वयले भ्रष्टाचार गरेको समाचार तामाकोशी सन्देशले पटक–पटक प्रकाशित गर्दै आएको थियो । त्यो समाचार अहिले झन् पुष्टि हुन पुगेको छ ।

किन कि सुनिल पौडेलले २३ करोड ७५ लाखभन्दा बढी भ्रष्टाचार गरी गैरसम्पक्ति आर्जन गरेका छन् । गैरसम्पती आर्जन गर्नुमा टेलिकमले फाइवर बिछ्याउनेदेखि टावर खडा गर्ने, विलिङ मिसिन खरिद गर्ने जस्ता काममा ठेक्का लगाएर कमिसन खाएको आरोप उनीमाथि लाग्दै आएको थियो । त्यसको सत्यतथ्य अझै बाहिर नआएको बताइन्छ । उता टेलिकमभित्र सरकारले अहिलेसम्म प्रवन्ध निर्देशक नियुक्ति गर्न सकेको छैन । कामु प्रबन्ध निर्देशकको जिम्मेवारी संगिता पहाडीलाई दिइएको पनि आठ महिनाभन्दा बढी भइसकेको छ । टेलिकममा सरकारले लामो समयदेखि प्रबन्ध निर्देशके नियुक्ति गर्न सकेको छैन ।

टेलिकमभित्र विकृति र विसंगतिका चाङहरु थुप्रिएर बसेका छन् । टेलिकमभित्र अहिले माओवादी निकट कर्मचारी हावी भएको बताइन्छ । उता कांग्रेस र एमाले निकट कर्मचारीबीच एकआपसमा टसल भएको बताइन्छ । टेलिकमभित्र अर्बौंको भ्रष्टाचार भइरहेको छ । यतिबेला जताततै भ्रष्टाचार गरेको फाइलहरु अख्तियारले खोल्न थालेको छ । अब बाँकी रहेको छ टेरामक्स काण्डको फाइल खोल्न । टेलिकम काण्ड र सुरक्षण मुद्रणको फाइलमा सुनिल पौडेल र विकल पौडेलविरुद्ध मुद्दा दायर भएको छ ।

टेरामक्स काण्डमा हालका मुख्य सचिव बैकुण्ठ अर्याल, तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन सचिव विनोद प्रकाश सिंह, तत्कालीन सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर काकी, र तत्कालीन स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतको फाइल खोल्न बाँकी छ । त्यस्तै, अन्य भ्रष्टाचारीका फाइलहरु अख्यितारले नखोल्ला भन्न सकिँदैन । अहिले आएर अख्तियारले भ्रष्टाचारको फाइल धमाधम खोलिरहेको छ । कतिपय अन्य कर्मचारीले गरेको भ्रष्टाचारको फाइल खोल्ने तयारी पनि हुँदैछ ।

अख्तियारले अहिलेसम्म राजनीतिक दलका नेताहरुलाई चोख्याएर कर्मचारी बढी फसाउने काम गर्दै आएको छ । उता, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीलाई पनि अख्तियारले बयान लिइरहेको बताइन्छ । कर्मचारीहरु भट्टाभट्ट अख्तियारको फन्डामा पर्न थालेपछि, ‘अब त जागिर खान पनि गाह्रो हुन थाल्यो ।’ कतिखेर कहाँ फसिने हो ? थाहा छैन । यतिबेला नेता जोगाएर जुनसुकै काण्डमा पनि कर्मचारीलाई फसाउने गरिँदै आइएको छ । कर्मचारीको तुलनामा नेताहरु कम फस्ने गरेका छन् भन्दैछन् कर्मचारीहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *