उपनिर्वाचनको परिणामले एमाले र कांग्रेसमा आशा जाग्दै

राजनीति समाचार

रामचन्द्र बस्ने
राजनीतिक पार्टीहरु सत्तालिप्सा भइरहँदा देश अधोगतितिर गइरहेको छ । २०७२ यता कहिल्यै स्थिर सरकार बन्न सकेको छैन । २०७२ मा जारी संविधानमा समानुपातिक निर्वाचन प्रणालीलाई मान्यता दिएपछि कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सकेका छैनन् । त्यसको असर अहिले देशमा परिराखेको छ । नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकीकरण गरेर नेकपा बनाएर चुनावमा होमिँदा दुई तिहाई हाराहारी सिटमा जित हासिल गरेको थियो । त्योसँगै नेकपाले सरकार पनि बनाएको थियो । त्यो नेकपाको बहुमतको सरकार ४१ महिनाभन्दा बढी टिक्न सकेन ।

उल्टै नेकपा एमाले र नेकपा माओवादी विभाजन हुन पुग्यो । त्यसपछि एमालेबाट टुक्रिएर नेकपा एकीकृत समाजवादी बन्न पुग्यो । यसरी सिंगो नेकपाबाट फुटेर नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी बन्न पुगे । त्यसयता गठबन्धनबिना कुनै दलले एक्लै चुनाव लड्न हिम्मत गर्न सकेनन् । कहिले नेपाली कांग्रेसले नेकपा माओवादीसहित अन्य दलहरुसँग गठबन्धन गरेर चुनाव लड्ने कहिले एमाले, राप्रपा र अन्य दलहरु मिलेर चुनाव लड्ने गर्न थाले । गठबन्धन गरेर निर्वाचन लड्दा पनि नेपाली कांग्रेस नेकपा एमालेले स्पष्ट बहुमत ल्याउन सकेनन् ।

अनि सरकार बनाउन गठबन्धनको सहारा लिनुप¥यो । गत आमनिर्वाचनमा ३२ सिटमा जित हासिल गरेर तेस्रो स्थानमा रहेको माओवादीले कहिले कांग्रेसहितसँग गठबन्धन गरेर सरकारको नेतृत्व गर्ने कहिले एमालेसहित अन्य साना दलसँग गठबन्धन गरेर सरकारको नेतृत्व गर्ने गर्दै आएको छ । पछिल्लो समय नेकपा एमालेसहित पाँच दलीय गठबन्धन सरकार पनि कहिलेसम्म टिक्ने हो एकिन छैन । राजनीतिक दलहरु देश र जनताको पक्षमा काम गर्नेभन्दा पनि कसरी भइराखेको सरकार ढाल्ने र आफू सत्तामा पुग्ने खेलमा व्यस्त छन् । नेपाली कांग्रेस र नेकपा एमालेजस्ता ठूला राजनीतिक दलहरु सत्ताकेन्द्रित भएर गठबन्धन गरेर चुनाव लड्न थालेपछि केन्द्रका नेतादेखि स्थानीय कार्यकर्तासम्म असन्तुष्टि बढ्न थाल्यो ।

सर्वसाधारण जनतामा झन् ठूला दलहरुप्रति वितृष्णा पैदा हुन थाल्यो । त्यसको फाइदा उठाउँदै स्वतन्त्रदेखि रास्वपाको उदय भयो । स्वतन्त्रले स्थानीय तहमा र रास्वपाले केन्द्रीय तहमा डेरा जमाउन पुग्यो । त्यसको असर कांग्रेस र एमालेलाई परेको छ । रास्वपा र स्वतन्त्रको उदयसँगै नेपालमा अस्थिर सरकारको विजारोपण हुन पुग्यो । त्यसको असर कहिलेसम्म पर्ने हो निश्चित छैन ।

तर, इलाम–२ संघ र बझाङ १ प्रदेश उपनिर्वाचनको परिणामले नेकपा एमाले र नेपाली कांग्रेसको अस्तित्व जोगाउने संकेत दिएको छ । यो परिणामले ८४ को निर्वाचनमा एमाले ठूलो दल बन्ने देखिन्छ भने कांग्रेस झन् कमजोर हुने देखिन्छ । अहिलेको मत परिणामले एमालेको संगठन डमगाएको छैन । तर कांग्रेसको संगठन डमगाएको देखिन्छ । त्यसकारणले पनि कांग्रेस र एमालेले आ–आफ्नो संगठन चुस्तदुरुस्त बनाएर ८४ को निर्वाचनमा गठबन्धन नगरी एक्लाएक्लै होमिनुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *