पछिल्लो समय नेपालको राजधानी तथा नेपालको सबैभन्दा ठूलो सहर मध्ये पहिलो स्थानमा रहँदै आएको छ । स्वीट्जरल्याण्डस्थित प्रदूषण मापन गर्ने संस्था आईक्यूएअरका अनुसार काठमाडौंको वायु अस्वस्थकर तहमा पुगेको छ । काठमाडौं महानगरपालिकाले शहरको वायुप्रदुषण र धुलो नियन्त्रणको लागि विभिन्न नीति लागू गरेर कार्यान्वयन गर्दै आएतापनि त्यसको प्रभावकारिता भने देखिएको छैन ।
पुराना गाडी, फोहर जलाउने, सडक खन्ने, बिजुलीका तार बिछ्याउने, ढल तथा पानीको लागि खन्नेलगायत कामले वायु प्रदुषण बढाएको देख्न सकिन्छ । पछिल्लो समय काठमाडौं उपत्यकामा सडक पेटी जथाभावी खन्ने काम बढेको छ । सम्बन्धित निकाय र महानगरपालिकासँग समन्वय नहुँदा पाइप बिछ्याउन खनिएका अधिकांश भागहरुले धुलाम्मे बनाउने गरेका छन् । समन्वयकै अभावका कारण महानगरपालिकाले पनि धुलो धुवाँ नियन्त्रण गर्न नभ्याउने अवस्था पनि देखिएको छ । वायु प्रदुषण नियन्त्रणका लागि सबै निकायको समन्वय हुन जरुरी छ ।
वायु प्रदुषणले भाइरल रोग, संक्रमणहरुको जोखिम बढाउने गर्दछ । यसका साथसाथै यसले क्यान्सर तथा जघन्य रोगहरु पनि सिर्जना गर्न सक्दछ । यसले श्वासप्रश्वासमा समस्या र फोक्सोको समस्या पनि सिर्जना सक्दछ । वायुप्रदुषणको गम्भीर असरबाट बच्नका लागि महानगर, सम्बन्धित निकाय र सरकारले तत्काल कदम चाल्नुपर्ने देखिन्छ ।
वायु प्रदुषणले शहर खराब अवस्थामा पुग्दा पनि सरकारले आवश्यक कदम चाल्न सकेको छैन । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र उपत्यकाका अन्य नगरपालिकाहरुसमेत वायु प्रदुषण नियन्त्रणमा समन्वय नहुँदा मूकदर्शक बनेका छन् । वायु प्रदुषण कम गर्नका लागि खन्ने र त्यत्तिकै छाड्ने प्रवृत्तिको अन्त्य गराउनुपर्दछ । समन्वय गरेर सडक खनिसकेपछि त्यसलाई पुुरेर पुनस्र्थापना गर्नु पर्दछ ।
त्यसैगरी, अनावश्यक वायु प्रदुषण बढाउने वस्तुहरु जलाउन पनि अन्त्य गर्नुपर्दछ । फोहरको व्यवस्थापनको लागि पनि महानगरपालिका र सरकारले समन्वय गर्न आवश्यक छ । त्यसैगरी, कार्बन मोनोअक्साइड सिर्जना गर्ने पलास्टिक जलाउन कम गर्ने र धुँवा फ्याक्ने पुराना सवारी साधनको प्रयोगमा नियन्त्रण गर्न जरुरी देखिन्छ । धुलो धुँवासँगै गर्मीका कारण आगलागि र भाइरल संक्रमणहरु बढिरहेको अवस्थामा सम्बन्धित सबै पक्षले ध्यान दिएर नियन्त्रणका लागि आवश्यक काम गर्न जरुरी देखिएको छ ।