आगलागीको जोखिम नियन्त्रणमा उदासीन सरकार

राजनीति समाचार

गर्मी मौसमको सुरुवात भएसँगै नेपालमा आगलागीको जोखिम पनि बढ्ने गरेको देखिन्छ । साथसाथै आगलागीको समस्यालाई हावाहुरीले थप जटिल बनाउँदै गएको छ । प्राकृतिक विपत्तिका जोखिमहरू हरेक वर्ष देखिने गर्छन् । यस्ता प्राकृतिक विपत्तिबाट जोगिनका लागि व्यक्ति आफै सचेत हुनु पर्छ । यसरी आगलागी, हावाहुरी, डढेलो जस्ता विपत्तिहरू देखिए पनि यसको नियन्त्रणका उपायहरुमा भने ध्यान दिएको पाइँदैन । अझ भन्नुपर्दा गर्मीको मौसममा हावाहुरीले घर टहरा उडाउने, भाइरल रोगहरूको संक्रमणको जोखिम बढाउने पनि गरेको छ ।

यी प्राकृतिक विपत्तिको जोखिम न्यून गर्नका लागि सरकारले उचित कदम चालेको भने पाइँदैन । अहिले पहाडी र तराईका विभिन्न जिल्लाहरुमा आगलागीका समस्या जटिल बनेका छन् । केन्द्र र स्थानीय तहले सहयोग र राहत प्रदान गर्ने घोषणा गरेपनि यस्ता समस्याहरु आउन नदिनका लागि पहल गरेका छैनन् । यस्ता जोखिम नियन्त्रण गर्न र आगलागी, हावाहुरी तथा डढेलोको क्षति कम गर्नका लागि स्थानीय तह र केन्द्र सरकारले समेत पहल गरेको पाइँदैन । कतिपय स्थानीय तहमा वनजंगल प्रशस्त छन् तर दमकलको व्यवस्था भएको पाइँदैन ।

केन्द्र र स्थानीय सरकारले यस्ता प्राकृतिक विपत्तिको क्षति कम गर्नका लागि घरटहरा बनाउँदा बलियो बनाउन सचेत बनाउने, आर्थिक सहयोग गरेर बलियो घर निर्माण गर्न आग्रह गर्ने, स्थानीय तहहरुमा दमकल तथा एम्बुलेन्सहरुको उपलब्धता गराउने काम गर्नुपर्दछ । केन्द्र र स्थानीय सरकारको यो पहिलो दायित्व पनि हो । तर भ्रष्टाचार र बेथितिमा लिप्त हुने परिपाटीका कारण प्राथमिकता के हो र के काम गर्ने भन्नेबारे केन्द्र र स्थानीय तह नै अनभिज्ञ छ । केवल भागवण्डा र बाँडीचुडी पदमा बस्ने परिपाटी विकास भएको छ ।

यस्ता प्राकृत्तिक विपत्तिहरु न्यूनीकरण गर्नका लागि सर्वप्रथम स्थानीय तहबाटै जनचेतना फैलाउन जरुरी छ । तयसपछि विपत्तिको क्षति कम गर्नका लागि आवश्यक उपकरणहरु उपलब्ध हुनुपर्दछ । अहिले अधिकाशं स्थानीय तहहरु एम्बुलेन्स तथा दमकलविहीन छन् । स्थानीय तहहरुमा दमकल र एम्बुलेन्स अनिवार्य पनि गर्नुपर्ने देखिएको छ । सरकारले यस्ता विषयमा ध्यान दिन जरुरी अपरिहार्य बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *