कर्मचारी तन्त्रमा, राजतन्त्रको झल्को

राजनीति समाचार

काठमाडौं । राणाकालीन हुँदै तत्कालीन राजतन्त्रको सिस्टममा विकसित भएर आएको कर्मचारी तन्त्रले प्रजातन्त्र हुँदै लोकतान्त्रिक गणतन्त्र मुलुकमा आइपुग्दा पनि त्यसैलाई पछ्याइरहेको छ । राजतन्त्रको धङधङी अहिले पनि कर्मचारी तन्त्रमा हावी भइरहेको छ । कतिपय महत्वपूर्ण मन्त्रालयदेखि कार्यालय र विभागसम्म कर्मचारीहरुले मन्त्रीलाई गुमराहमा पारिरहेका छन् । विभिन्न पार्टीका मन्त्री र सरकार फेरिइरहन्छन् तर, कर्मचारीको काम गर्ने तरिका फेरिँदैन । अहिले अधिकांश कर्मचारीहरुले राणा शासनको बेलामा जस्तै घमण्ड गरिराखेका छन् ।

जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, कम्पनी रजिष्ट्रार कार्यालय, उद्योग विभाग, राजश्व अनुसन्धान विभाग, राजश्व कार्यालय, भन्सार कार्यालय, यातायात कार्यालय, राहदानी विभाग जस्ता ठाउँमा कार्यरत कर्मचारीहरुले सर्वसाधारण जनतालाई दासको व्यवहार गर्ने परम्परा अझै कायम छ । जस्तोसुकै ठुलो कुरा गर्ने पार्टीका नेता मन्त्री भएपनि कर्मचारी कर्मचारी तन्त्रलाई सुधार गर्न सकेका छैनन् । उल्टै राजनीतिक दलको आडमा मन्त्री आफै तिनै कर्मचारीहरुसँग मिलेमतो गरेर कमिसन र भ्रष्टाचार गर्न लिप्त हुने गरेका छन् ।

अधिकांश सरकारी कार्यालयमा विभिन्न शीर्षकमा बजेट विनियोजन गरेर कर्मचारी र मन्त्री मिलेर खाने बाहेक कुनै जनजीवीकाको काम गरेको पाइँदैन । जबसम्म कर्मचारी तन्त्रमा सुधार हुँदैन तबसम्म राजनीतिक पार्टी र त्यसबाट बनेका मन्त्रीले जतिसुकै ठूला कुरा गरेतापनि कुनै परिवर्तन हुनेवाला छैन । नेपालको विकास निर्माण ध्वस्त हुनुमा कर्मचारी र मन्त्रीकै ठूलो हात रहने गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *