अख्तियारले कर्मचारी नेताहरुको सम्पत्ति छानविन गर्न सक्ला ?

राजनीति समाचार

काठमाडौं । जताततै भ्रष्टाचार भएको समाचार आइरहेका छन् । अख्तियारले छानविन गर्ने र विशेष अदालतमा मुद्दा दायर गरिरहँदा त्यसले प्राथमिकता पाउन सकेको छैन । अख्तियारले मुद्दा दायर गरिरहने अदालतले छाडिरहने प्रवृत्ति हावी भएको छ । अधिकांश उच्च तहका कर्मचारीदेखि विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीविरुद्ध अख्तियारले भ्रष्टाचारका मुद्दा दायर गरे तापनि राजनीतिक दल निकट कर्मचारी संगठनका नेताहरुविरुद्ध भने मुद्दा दायर गर्न सकेको छैन । अधिकांश निम्नस्तरका कर्मचारीहरुले भन्ने गरेका छन्, ‘उच्चतहमा कार्यरत कर्मचारीहरुको मुद्दा त दायर गरेको छ, तर विभिन्न दल निकट कर्मचारी संघसंगठनका नेताहरुविरुद्ध न त मुद्दा चलाउन सकेको छ न त कारबाही नै गरेर देखाएको छ ।

अधिकांश दल निकट कर्मचारी नेताहरुले अफिसको काम पनि गर्नु नपर्ने उल्टै कर्मचारी संगठनको नाममा पैसा उठाउने र भ्रष्टाचार गर्ने गर्दै आएका छन् । तर, त्यस्ता कर्मचारीहरुलाई कारबाही गर्न नसक्ने कस्तो अख्तियार हो भन्दै थिए एक पीडित कर्मचारी । अख्तियारले सम्पत्ति छानविन गर्नुपर्ने कर्मचारी नेताहरुमा तत्कालीन आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकाल, उपाध्यक्ष भोलानाथ पोखरेल, महासचिव सुवोध देवकोटा, कांग्रेस निकट कर्मचारी संगठनका अध्यक्ष गोपाल पोखरेल, उपाध्यक्ष उत्तम कटवाल रहेका छन् । त्यसैगरी एकीकृत समाजवादी पार्टी निकट कर्मचारी संगठनका तत्कालीन अध्यक्ष मोहन घिमिरे रहेका छन् भने माओवादी केन्द्र निकट कर्मचारी संगठनका तत्कालीन अध्यक्ष हरि रावल छन् । त्यसैगरी एमाले निकट कर्मचारी संगठनका जीवन काफ्ले, रेवन्त गौतमजस्ता कर्मचारीहरुको सम्पत्ति छानविन गर्नुपर्ने आवाज कर्मचारीहरुले नै उठाउन थालेका छन् ।

विभिन्न दल निकट कर्मचारी संगठनको भवन पनि निर्माण गरिएको छ । भवन मात्रै निर्माण गरेका छैनन् ती भवनलाई भाडामा समेत लगाएर आफूले फाइदा लिने गरेका छन् । एमाले र माओवादी केन्द्र निकट कर्मचारी संगठनको भवन बबरमहलमा छ भने कांग्रेस निकट कर्मचारी संगठनको भवन वन विभाग भित्र रहेको छ । तर, एकीकृत समाजवादी पार्टी निकट कर्मचारी संगठन र स्वतन्त्र कर्मचारी संगठनले आफ्नो भवन बनाउन भ्याएका छैनन् । यतिबेला आएर संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारी नेताहरुको सम्पत्ति छानविन गरी सार्वजनिक गर्नुपर्ने आवाज सबैतिरबाट उठिरहेको छ ।

कर्मचारी संगठनका नेताहरुको सम्पत्ति छानविन गर्नुपर्ने आवाज उठ्नुको मुख्य कारण कर्मचारी सरुवा, बढुवामा सधैं रकमको चलखेल हुनु र निजामती ऐन ल्याउन लाग्दा वाधक हुनु हो भन्दै थिए केही पीडित कर्मचारीहरुले । हुन पनि भोला पोखरेल, गोपाल पोखरेल, हरि रावल, रेवन्त गौतम, जीवन काफ्ले, मोहन घिमिरे, अमरदत्त भट्ट जस्ता कर्मचारी संगठनका नेताहरु संघ छाडेर प्रदेश र स्थानीय तहमा जानुपरेको छैन । उनीहरुलाई सरकारले सरुवा गरे तापनि सरुवा गरेको ठाउँमा नगएर काज मिलाएर संघमा बस्दै आएका छन् । संघमा पनि उनीहरु आफ्नो कार्यालयमा बस्नुभन्दा देश दौडाहा र संघसंगठनको कार्यक्रममा दिन बिताउने गरेका छन् ।

कांग्रेस निकट कर्मचारी नेता गोपाल पोखरेलको जागिरे अवधि करिव १०÷११ महिना मात्रै बाँकी छ । उनी अर्थमन्त्रालय छाडेर कहीं जाँदैनन् । पोखरेलको काम अर्थमन्त्रालय अन्तर्गतमा आफूनिकटका कर्मचारी खटाउने र पार्टी र आफूलाई सहयोग गर्ने व्यक्तिको संरक्षण गर्ने हो । उता उपाध्यक्ष उत्तम कटवालको कार्यालय त्रिपुरेश्वर खोप उत्पादन केन्द्रमा रहेको छ । उनी विगत लामो समयदेखि त्यहीं बसेर तलब, सुविधा खाने र संगठनको नाममा राजनीति गरेर देश दौडाहामा रमाइरहेका हुन्छन् । अधिकांश कर्मचारी नेताहरु कहिले अन्नपूर्ण बेस क्याम्प जाने, कहिले हिमाल चढ्न जाने, कहिले रुमुक, रोल्पा, अछाम, दैलेख, सल्यानलगायतका पश्चिमी पहाडी जिल्ला घुम्ने गरेर राज्यको सम्पत्ति खर्च गर्ने गर्दै आएका छन् ।

कर्मचारी नेताहरुले बिनाकाम तलब, सुविधा र भत्ता मात्रै लिएका छैनन् विभिन्न ठाउँमा अनियमितता र भ्रष्टाचार गरेर काठमाडौं उपत्यकाभित्र घर, घडेरी जोड्नुको साथै आलिसान महल खडा गरेका छन् । एउटा कर्मचारीले गैरकानुनी हिसाबले अकुत सम्पत्ति आर्जन गरिरहँदा राज्यका सम्बन्धित पक्षहरु मुकदर्शक बनेर बसिरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *