काठमाडौं । नेपाल सरकारका अधिकांश सचिवहरु मालदार ठाउँ र शक्तिकेन्द्रमा बस्नको लागि प्रधानमन्त्री, मन्त्री र मुख्य सचिवलाई रिझाउन मरिहत्तै गरेर लागिपर्छन् । खासगरी गृह सचिव, अर्थसचिव, भौतिक पूर्वाधार सचिव, सहकारी तथा भूमि व्यवस्था सचिव, संघीय मामिला तथा सामान्य प्रशासन सचिव, नागरिक उड्डयन तथा पर्यटन सचिव, श्रम तथा रोजगार सचिव र उद्योग वाणिज्य तथा आपूर्ति सचिव बन्नको लागि न्वारनदेखिको बल निकालेर लाग्ने गरेका हुन्छन् । सरकार फेरिएसँगै यी मन्त्रालयका सचिवहरु ‘वल्लो घरको नरे, पल्लो घरमा सरे’ जस्तै गरेर सरुवा हुने गरेका छन् । त्यसको उदाहरणको लागि तत्कालीन प्रधानमन्त्री कार्यालयमा रहेका एकनारायण अर्याललाई लिन सकिन्छ ।
अर्याल विभिन्न राजनीतिक दलका शीर्ष नेतादेखि प्रधानमन्त्री, मन्त्री र मुख्यसचिवलाई घुमाएर गृहसचिव बन्न सफल भएका छन् । उनको जागिरे अवधि पनि एक÷डेड वर्षभन्दा बढी छैन । अर्याल गृहसचिव त बने नै अब कसरी हुन्छ मुख्य सचिव बन्ने खेलोफड्कोमा लागेका छन् । मुख्य सचिव वैकुण्ठ अर्यालयलाई टेरामक्स काण्ड लागिरहँदा उनको जागिर कति बेला खुस्किने हो कुनै निश्चित छैन । तत्कालीन सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई अख्तियारले मुद्दा दायर गरेको खण्डमा मुख्य सचिवको जागिर पनि धरापमा पर्ने देखिन्छ ।
तर, तत्कालीन सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई अख्तियारले कारबाही गर्नेवाला छैन । किन कि कार्कीलाई बचाउनको लागि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार प्रमुखलाई कारबाही नगर्नु भन्ने आदेश दिनुभएको बुझिन्छ । किन कि उनीहरु एक हिसाबले नातेदार तथा छिमेकी भएकाले कार्कीले पूर्व राष्ट्रपति भण्डारीसँग हारगुहार गरेपछि टेरामक्स काण्डबाट बचेका छन् । उता, तत्कालीन सरकारको पालामा उद्योग सचिव भएका मुकुन्ड निरौलालाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको थियो । उपराष्ट्रपति कार्यालयमा सरुवा भएको एक हप्ता नबित्दै निरौला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आएका छन् । संघीय मन्त्रालयमा यतिबेला सचिव निरौलालाई भेट्नलाई कुनै ठाउँमा हाट लागेझैं ताँती लाग्ने गर्दछ । संघीय मामिला मन्त्रालयको बैठक हल, गोप्य मिटिङ कोठा र पिए शाखामा सचिव निरौलालाई भेट्नेको ताँती लाग्ने गरेको देखिन्छ । निरौलालाई भेट्न सर्वसाधारणदेखि विभिन्न दलनिकट कर्मचारी नेता, स्थानीय र प्रदेशका कर्मचारीहरुको भीड नै लाग्ने गरेको छ ।
संघीय मन्त्रालयमा सचिवको पिए शाखामा कार्यरत एक महिला भन्दै थिइन्, ‘हाम्रो सचिवज्यू त नेपाल सरकारको कर्मचारी होइन, राजनीतिक दलको नेता बन्नुपर्ने हो । तर, सचिव बन्नुभयो, सचिव रिटायर्ड भएपछि सायद ! उहाँ राजनीति गर्नुहुन्छ होला’ भन्दै थिइन् । त्यस्तै अर्का एक व्यक्तिले स्वरमा स्वर मिलाएर भन्दै थिए, सचिव मुकुन्द निरौला र अख्तियार प्रमुख प्रेम राई जस्तो हुनुपर्छ, अनि पो देश विकास हुन्छ । यी दुवै बटुवादेखि उच्च घरानाका व्यक्तिहरुलाई रिझाउन सक्ने खुवी भएका व्यक्ति हुन् भनेर बेलिविस्तार लगाउँदै थिए भेटघाटमा आएका एक व्यक्ति ।