यो गठबन्धन सरकारमा बसेर एकीकृत समाजवादीलाई फाइदा छेन

राजनीति समाचार

जगन्नाथ खतिवडा, प्रचार विभाग प्रमुख, नेकपा एकीकृत समाजवादी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ फागुन २१ गते कांग्रेस नेतृत्वको गठबन्धनको काँध फेर्दै एमालेसँग मिसिन आए । नयाँ समीकरणमा एमाले, माओवादी, रास्वपा, जसपा र नेकपा एकीकृत समाजवादी छन् । नयाँ गठजोडसँगै प्रधानमन्त्री प्रचण्ड र ओलीको सम्बन्धमा केही सुधार आएको देखिन्छ । नेकपा एसका अध्यक्ष माधव नेपालले भने यो गठबन्धनप्रति आशंका व्यक्त गरिरहेका छन् । तर, उनले प्रचण्ड र ओली मिलेर अझै आफूलाई अपमान गरेको सार्वजनिक अभिव्यक्ति नै दिए । तर, प्रचण्डसँग बिग्रिएको सम्बन्ध सुधार गरेर ओलीले पुनः सहकार्यको थाल्दा एमालेबाट अगल भएका नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल भने अझै बिच्किरहेका छन् । प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर ओलीसँग काँध मिलाएदेखि नै नेपाल सन्तुष्ट छैनन् । यस्तै सेरोफेरोमा जगन्नाथ खतिवडासँग तामाकोशी सन्देश साप्ताहिकको प्रतिनिधिले गरेको कुराकानीको अंशः

० पार्टी महाधिवेशनको तयारीमा छ, कसरी तयारी गर्दै हुनुहुन्छ ?
महाधिवेशन यही असार १६ देखि २० सम्ममा हुँदैछ। यसका लागि विभिन्न प्रकारका तयारी कमिटीहरू बनेका छन्। यी सबै तयारी कमिटीहरूले समितिहरूको आफ्नो मूल व्यवस्थापन समिति माधवकुमार नेपालको नेतृत्वमा छ । अरु समितिहरू छन् प्रचार खाद्य आर्थिक अर्थ संकलन राजनीतिक प्रतिवेदन विभिन्न प्रकारका समितिहरू छन् यी सबै समितिहरूले आफ्नोआफ्नो काम गरिरहेका छन्। हिजो मात्रै हामीले राजनीतिक दस्तावेज हरू चारवटा तल कार्यकर्ताको लागि पठाउने निर्णय गरेका छौं। असारको पहिलो हप्तामा हाम्रो प्रतिनिधि छनोट कार्यक्रम हुनेछ। असार १६–२० मा अधिवेशन हुनेछ। सबै ठिकठाक चलिरहेको छ। लगभग यसपटक डेढ लाख संगठित सदस्यहरू को तर्फबाट प्रतिनिधि गर्ने १५०० देखि १७०० सम्मका प्रतिनिधिहरू महाधिवेशनमा संलग्न हुनुहुन्छ भन्ने मोटामोटी अनुमान रहेको छ।

० महाधिवेशनमा तपाईँको आकाक्षा के हुने छ ?
हामी अहिले पार्टीभित्र विद्रोह पश्चात् बनेको नयाँ पार्टी इतिहास पुरानो भएपनि यसको संरचनाहरू सबै सबल भइ नसकेको परिस्थितिमा पहिलो सर्वसम्मतिको खोजी गर्छौं। सर्वसम्मतिको खोजी गर्दा सम्पूर्ण पदाधिकारीहरूलाई सर्वसम्मत बनाउने प्रयास गर्दछौँ। यो प्रयास असफल भए मात्रै उम्मेदवारीको दाबी गर्ने कुराहरू आउला तर यो प्रयास सफल हुन्छ भन्ने हामीलाई विश्वास छ अहिलेसम्म गरेका विभिन्न अन्तरक्रियाहरूले । प्रतिस्पर्धा हुने परिस्थिति भयो भने काम कार्यकर्ताहरूमा सोधखोजी छलफल चर्चा जारी नै छ। पदाधिकारीका रुपमा कुन पदमा जाने साथीहरूको परामर्श पनि जारी नै छ। म पनि सोधखोजी गरिरहेको छु। धेरै साथीहरू माथि बढ्नुपर्छ भन्नुहुन्छ । कति अगाडि बढ्ने भन्ने समयले टुङ्गो गर्ला पहिले सहमतिको प्रयास गरम त्यसपछि अर्को विषयमा सोचौला भनेर लागेका छौं। अहिले मैले सबै पदाधिकारीको परिस्थिति त्यस्तै देखेको छु।

० अवको अध्यक्षको लागि को अग्रसर हुनुहुन्छ ?
आम चर्चामा तपाईँहरूले सुनेजस्तै वर्तमान पार्टी अध्यक्ष हुनुहुन्छ माधवकुमार नेपाल। उहाँको नाम त्यसै चर्चामा हुने भयो। दुई जनाको नाम तपाईँहरूले सुनिराख्नुभएको छ। तर उहाँहरुले पनि घोषित रूपमा म भए भनेर हामीसँग चर्चा गर्नुभएको छैन । पार्टी हो सबैलाई उम्मेदवारी दिने योग्यता पुगेको व्यक्तिलाई सबैलाई उम्मेदवारी दिने अधिकार छ चुनाव हुने परिस्थिति भएमा प्रत्येक योग्यता पुगेको व्यक्तिलाई उम्मेदवारी दिने अधिकार छ। त्यसकारण यो कुरा अहिले नै प्रष्ट भइसकेको छैन। तर ५–१० दिनपछि आउला जस्तो लाग्छ। हाम्रो दस्तावेज भर्खरकै सकिएको छ। बल्ल वातावरण खुला भएको छ। अहिलेसम्म दस्तावेजै गएको थिएन। एउटै दस्तावेज छ हामीसँग अफिसियल्ली । दुईटा दस्तावेजको आधारमा चुनाव हुने परिस्थिति छैन। एउटै दस्तावेजमा को व्यक्ति योग्य को व्यक्ति पार्टीमा सबैभन्दा बढी यो पदमा रहेर नेतृत्व गर्न सक्छन् भनेर कार्यकर्ताले रोज्न पर्ने स्थिति आउँछ चुनाव भयो भने । त्यसकारण दस्तावेजका आधारमा पार्टीभित्र मतमतान्तर नहुने भो। यसैले ५ –१० दिन अझै लाग्न सक्छ थाहा हुन ।

० संगठन बिस्तार गर्नु पर्ने महासचिब निरीह बने भन्ने छ ? उहाँको कार्यलाई कसरी हेर्नुभएको छ ?
समय परिस्थितिले अप्ठ्यारो पार्छ सिंगो पार्टीलाई पनि अप्ठ्यारो पार्दाखेरि व्यक्ति विशेषलाई पनि अप्ठ्यारो नपार्ने कुरै छैन। यसबारेमा टिप्पणी गर्नुपर्ने कुरै छैन हामी सँगसँगै लागेर दौडिँदै छौँ। राम्रो बनाउन मेहनत गरिरहेका छौं । सहयात्री साथीहरू सबैका आआफ्नो समस्या आआफ्ना आआफ्नो दुःख मेरो पनि केही समस्या केही कमजोरी होलान् । अरु साथीहरुको पनि केही समस्या कमजोरी होलान् । समग्रमा पार्टी उठाउनका लागि मेहनत गरेर लागि परेका छौं । व्यक्ति व्यक्तिको मूल्याङ्कन गर्ने हामी पदाधिकारीले होइन । यो मूल्याङ्कन गर्ने तपाईँहरू जस्तोले कुरा हो । परबाट हेर्दा कस्तो देखिन्छ भन्ने कुरा हो । त्यसकारण यो समीक्षा हाम्रो भित्र संगठनमा हामी गरौंला तर दुनियाले देख्दा हाम्रो पार्टी हाम्रो नेता हाम्रो नेतृत्व कुन कुन बुद्धि क्षमता गुण विशेषता को छ भन्ने कुरा बाहिरबाट जति निरीक्षण गरिन्छ त्यति परर्फेक्ट आन्तरिक रुपमा भनेको कुराले परिस्थिति देखाउँदैन ।

० सबैतिर प्रचण्ड ओलीले तपाईंहरुलाई अपमान जस्तो व्यवहार गरेका छन् । यस्तो हुँदा समेत तपाईहरुले सरकार किन नछोडेको ?
सरकार किन छुन नसकेको भन्ने सन्दर्भ कस्तो छ भने अस्ति दुईवटा कम्युनिस्ट पार्टी नाम भएका दुई पार्टीहरू मिलेर सरकार बनाउने हामी सँगै जाउँ। कम्तिमा कम्युनिस्ट विचारहरू कतिपय विषयहरु मिल्छ । मिलेका विषयहरूमा सँगै मिलेर जाउँ भनेर उहाँहरु हाम्रो पार्टी अध्यक्षको घरमै आएर नेकपा एकीकृत समाजवादी पार्टीलाई पूर्ण ढङ्गले हामी सहयोग गर्छौं। सँगै लागौं एकताबद्ध भएर अगाडि बढौँ। भनेर धेरै विषयमा उहाँले आफ्नो प्रस्तावहरू राख्नुभयो एक प्रकारले सरकारमा आउन अनुरोध गर्नुभयो त्यसलाई हामीले स्वीकार गरेनौँ। हामी आफैं सरकारको नेतृत्व गर्ने ठूलो शक्तिको रुपमा पनि थिएनौँ। दुईवटा कम्युनिस्ट पार्टीका नेताहरू घरमा आएर छलफल गर्दा पार्टी बैठक बस्दाखेरि ठिक छ भनेर स्वीकार गर्यौँ । समयक्रममा कतिपय अन्तरविरोधहरु पहिला भइरहेकै छन् तपाईंहरुलाई थाहा नै छ यो सरकारको परिवर्तन गरेर अर्को सरकार बनिहाल्ने परिस्थिति पनि छैन। हाम्रो पार्टीभित्र पनि छलफल चलिरहेकै छ अहिले यो सरकारलाई सहयोग गर्दै जानु बढी उपयुक्त छ निष्कर्षमा हामी छौँ। समयक्रमले उहाँहरूको व्यवहारले तलमाथि पार्यो भने फेरि निर्णय लिनेछौं भनेर बसेका छौं।।

० एकातिर कम्युनिष्ट एकताको कुरा गर्ने, अर्काेतिर एमालेले एकीकृत समाजवादीको अस्तित्व नस्वीकार्ने, यस्लाई कसरी लिने ?
यो समस्याको विषय छ । खासगरि अस्तित्व अस्वीकार गर्ने पार्टी बनेको एउटा पार्टी मात्रै हो अरुले स्वीकारेकै छन् । नेकपा एमाले हामी त्यही पार्टीसँग विद्रोह गरेर आएको हुनाले त्यो पार्टीको नेतृत्व पंक्ति का केही नेताहरु सँग हामी प्रति गम्भीर आपत्ति छ । आम कार्यकर्ता हरू हामीप्रति सहानुभूतिशिल पनि छन्। तर नेतृत्व पंक्तिले यसलाई गलत ढंगले ड्राइभ गरिरहेका छन् । उसको गलत ड्राइभको कारण यो अन्तरविरोध झन् झन् खाडल बढ्दै गइरहेको छ । हामी पनि नेकपा एमालेभित्रको कार्यकर्ता पंक्तिको भन्दा नेतृत्व पंक्ति, दक्षिणपन्थी अवसरवादी भ्रष्ट बन्दै गयो। भनेर यसलाई सच्याउन नसक्ने ठाउँमा पुग्यो भनेर विद्रोह गर्नेहरू हौ । त्यसकारण त्यहाँको नेतृत्व ले हाम्रो नेतृत्वलाई धेरै आलोचना गर्छौं। हामी त्यहाँको नेतृत्वको कार्यशैलीसँग निकै धेरै असन्तुष्टि छौँ। र त्यो बेठिक हो भन्ने ठान्दछौं। त्यसैले यो चर्को नै देखिन्छ बाहिर ।

० बाम एकताको हुन कतिको सम्भव छ ?
म चाहिँ बाम एकताको सम्भावना निकै कम देख्छु यो बेलामा दुई चार वर्ष अझै त्यस्तो परिस्थिति आइहाल्ला जस्तो लाग्दैन। खाली वामपन्थीहरू अहिले साझा सवालमा मिलेका छन्, यो राम्रो र महत्वपूर्ण कदम पनि हो । तर, वैचारिक, राजनीतिक, नीति र सिद्धान्तमा एकता नभइकन पार्टीहरूका बीचमा एकता हुँदैन । यदि भोलि पार्टीहरूका बीचमा नीति, सिद्धान्त र कार्यदिशा एकरुपता हुँदै गयो भने कुनै शक्तिले पार्टी एकता गर्नबाट रोक्न पनि सक्दैन ।
० जसपा विवादको बाछिटा एकीकृत समाजवादीमा पर्न लाग्यो भन्ने हल्ला राजनीतिक वृत्तमा व्यापक छ नि !
त्यस्तो केही बाछिटा पर्ने सम्भवना छैन । हाम्रो पार्टीको अहित चिताउनेहरुले प्रचार गरेको कुरामात्र हो । कसैले पार्टी फुटाउने भनेर एक शव्द उच्चारण गरेका छैनन् । पार्टी कसले र किन फुटाउने ? हामी त माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्दछ भन्ने प्रस्ताव अगाडि बढाएर हिँडेका मान्छे हौं । प्रधानमन्त्री बन्नका लागि १ सय ३८ सीट चाहिन्छ । त्यो सिट ल्याउन हाम्रै पार्टी मजबुत हुनुपर्छ । हामीसँग विचार, कुराकानी, कार्यक्रम मिल्नेसँग सल्लाह गर्नुपर्छ भनेर हामी हिँडेका छौं ।

० के यही गठबन्धनबाट त्यस्तो सम्भावना होला ?
व्यक्तिगत रुपमा म अहिलेको गठबन्धन काम छैन भन्ने मान्छे हुँ । यो गठबन्धन जन्मँदै षड्यन्त्रपूर्वक ढंगबाट जन्मियो । अहिले उपेन्द्र यादवको साथ लिएर उपेन्द्र यादवकै छातिमा छुरा हानियो । उपेन्द्रले साथ नदिएको भए यो गठबन्धन बन्दैनथ्यो । उहाँको साथ भएपछि हामी पनि त्यहाँ पुग्यौं । हामीलाई छोडेकै थिए, साथ लान खोजेका थिएनन् । रास्वपा, एमाले, जसपा र माओवादी मिलेपछि १ सय ३८ पुग्यो, पछि उपेन्द्रले नै एकीकृत समाजवादी पनि चाहिन्छ भने पछिमात्र हाम्रो पार्टी सरकारमा संग्लग्न हुन पुगेको हो । त्यसैले यो षड्यन्त्रपूर्वक गठबन्धनको काम छैन । मैले त दुईजनालाई मन्त्री बनाउनुभन्दा बाहिर बस्न ठीक हो भनेको छु । सरकारलाई समर्थन दिऔं, तर सरकारमा नबसौं भनेको हुँ । किनभने, यो सरकारमा बसेर हाम्रो भलो हुँदैन । माधव नेपाललाई नै प्रधानमन्त्री बनाउनुपर्छ भन्नेमा हाम्रो दलभित्रका १८ जना सांसदकै एक मत छ ।

० पछिल्लो समय गठबन्धनमा किचलो बढेको भन्दै कांग्रेस–एमाले मिलेर सरकार बनाउने गृहकार्य भइरहेको पनि चर्चा सुनिन्छ नि !
यदि कांग्रेस र एमाले मिलेर अगाडि जान चाहेको छ, त्यो ढंगबाट संवाद चल्दैछ भने म उहाँहरूलाई शुभकामना दिन चाहन्छु ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *