अध्यक्ष नियुक्ति गर्न नसक्दा केयुकेएलमा भद्रगोल

राजनीति समाचार

काठमाडौं । खानेपानी मन्त्री एमाले नेता राजेन्द्र राई भए तापनि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को सञ्चालक समितिले अध्यक्ष नियुक्ति गर्न सकेको छैन । तत्कालीन सहसचिव तिरेश खत्री केयुकेएलको अध्यक्ष रहेका थिए । उनीले आफ्नो जागिरे अवधि समाप्त भएर अवकास पाइसकेका छन् । खत्री अवकास प्राप्त भएको तीन महिना बितिसक्दा पनि केयुकेएलको सञ्चालक समितिले अध्यक्ष नियुक्ति गर्न सकेको छैन ।

केयुकेएलको त्यो समितिमा काठमाडौं महानगर पालिका, ललितपुर महानगरपालिका, ललितपुरको महालक्ष्मी नगरपालिका कर्मचारी, चेम्बर अफ कमर्शका बोर्ड सदस्य र खानेपानी मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ । तर, केयुकेएलको समितिमा काठमाडौं महानगर पालिकाले कर्मचारी नपठाएर मेयर बालेन शाहका सल्लाहकारलाई सदस्यको रुपमा पठाएका छन् । त्यसकारणले केयुकेएलको सञ्चालक समिति बैठकले अध्यक्ष चयन गर्न सकेको छैन । त्यो नगर्दा केयुकेएलले वार्षिक साधारण सभा गरी पारित गरेर कम्पनी नियमावली परिवर्तन गर्नुपर्ने हुन्छ । त्यो पनि अहिले सम्भव देखिँदैन ।

उपत्यकाभित्र केयुकेएलका १४ वटा शाखा कार्यालय रहेका छन् । गत भदौदेखि ती १४ वटा शाखा कार्यालयमा बजेट पनि विनियोजन गरिएको छैन । बजेट विनियोजन नहुँदा केयुकेएलका शाखा कार्यालयहरुले मर्मत, संभार र चुवावट नियन्त्रण गर्न सकेका छैनन् । उता निर्माण सम्पन्न भएको भुक्तानी र त्यहाँभित्र हुने गरेको खर्चको हिसाबकिताब बापत दिनुपर्ने करिव ३२ करोड रुपैयाँ अहिलेसम्म भुक्तानी हुन सकेको छैन । केयुकेएलका सिइओ अशोक पौडेलले पनि अध्यक्ष नियुक्ति गर्नको लागि खासै पहल गरेको पाइँदैन । १४ वटा शाखा कार्यालय रहेको केयुकेएलमा खानेपानी बोर्डले जम्मा आठ करोड बजेट दिएर कनिका छराई गरेको छ । जब कि केयुकेएलको अहिलेको हिसाब फस्र्याैट गर्न ३२ करोडभन्दा बढी रकम आवश्यक देखिन्छ ।

तर, खानेपानी बोर्डले अधिकांश काम सम्पन्न भइसक्दा पनि भुक्तानी र अन्य खर्चको रकम दिन नसक्दा केयुकेयलका शाखा कार्यालहरु अलपत्र अवस्थामा छन् । केयुकेएलमा बसेर कामभन्दा तलब र विभिन्न शीर्षकमा कमिसन खानेहरुको लर्को छ । अध्यक्ष नियुक्त गर्न नसक्दा निर्माण, मर्मत संभार र पाइप बिछ्याउन काममा समेत समस्या परिराखेको छ । तर, खानेपानी मन्त्रालय, महानगरपालिका, नगरपालिका र केयुकेएलका सम्बन्धित व्यक्तिहरु मुकदर्शक बनेर बसिरहेका छन् । उता, उपभोक्ताले सधैं खानेपानीको समस्या भोगिरहनुपरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *