गृहमन्त्री र सचिवबीच मतभेद सुरु

राजनीति समाचार

काठमाडौं । यतिबेला नेपाल सरकारका सचिवहरु आफूले गरेका कालाकर्तुत र भ्रष्टाचारबाट जोगिनको लागि अख्तियारले थाहा नपाउने गरी ठूला–ठूला आयोजना, योजनाका ठेक्का पट्टाको काम आफूलाई कमिसन आउने भएपछि चोर बाटो प्रयोग गरेर फाइल स्वीकृतिको लागि मन्त्रीपरिषद् पठाएर मन्त्रीबाट फाइल स्वीकृत गराउने गरेका छन् । यो परम्परा पहिलादेखिकै हो । त्यो परम्परा झागिँदै गएपछि केही हप्ता अगाडि मुख्य सचिव र सचिवहरुको समेत भनाभन भएको थियो । कतिपय मन्त्रालयका सचिवहरुले त यस्ता फाइलहरु सही गराउनको लागि चोर बाटो प्रयोग गरी मन्त्रीहरुलाई गुमरामा पारेर स्वीकृत गराउने गरेका छन् । मन्त्रीहरुले पनि त्यस्ता फाइलको जानकारी लिने गरेका छैनन् ।

कथमकदाचित अख्तियारमा उजुरी परेको खण्डमा आफू नफस्ने प्रपञ्च नेपाल सरकारका कर्मचारीले रच्न थालेका छन् । यदि मुलुकमा स्थिर सरकार र राजनीतिक दलहरुका नेता इमानदार भएको भए कर्मचारीले खुलमखुला भ्रष्टाचार गर्न सक्ने थिएनन् । नेपाल सरकारले संवैधानिक निकायका प्रमुख र सचिवहरुको सम्पत्ति छानविन गर्ने हो भने कर्मचारीले जति भ्रष्टाचार अन्य निकायका व्यक्तिले गरेको पाइँदैन । त्यसको उदाहरणको लागि यतिबेला गृहमन्त्रालयलाई लिन सकिन्छ । गृहजस्तो संवेदनशील मन्त्रालयका कर्मचारीहरुको लापरवाहीले गर्दा गृहप्रशासन नै लथालिङ्ग अवस्थामा पुगेको छ । एकातिर गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी गरेको आरोप लागिरहेको छ भने अर्कोतिर गृहसचिव एकनारायण अर्यालको कमाउ धन्दाले गर्दा झन् बद्नाम हुँदै छ । गृहसचिव एकनारायण अर्याल भने छेपारोले रंग फेरे जसरी सबै मन्त्रालय चहारेर गृहमन्त्रालय पुगेका हुन् ।

उनी गृहसचिव भएपछि आफ्ना फेवरका सिडियोहरुलाई मालदार जिल्लाहरुमा पठाउने गरेका छन् । उनको विरुद्ध लाग्ने सिडियोहरुलाई अपायक र कमाइ नहुने जिल्लामा पठाउने गरेका छन् । गृहसचिव अर्यालले कामभन्दा बढी मिटिङ गरेर समय बिताउने काम गरेका छन् । उनको जागिरे अवधि पनि सकिन लागेको छ । अर्याल श्रम सचिव हुँदा उनको चाहना गृहमन्त्रालयमा आउने थियो । त्यो इच्छा पनि उनले पूरा गरेका छन् । श्रम मन्त्रालयमा बस्दा सुधारको नाममा फन्डा मच्चाएर सबै कर्मचारीहरुलाई आतंकित बनाएका थिए ।

कर्मचारीसँगै म्यानपावर सञ्चालकहरुलाई समेत हायलकायल बनाएर राम्रो आम्दानीको स्रोत बनाएका थिए । अहिले गृहसचिव भएपछि गृहमन्त्रालय सुधार्ने नाममा विभिन्न फन्डा ल्याएर करोडौं असुल्ने काम गरिराखेका छन् । गृहसचिवको लापरवाहीका कारण प्रहरी संगठनदेखि गृहमन्त्री समेत असन्तुष्ट भएका छन् । गृहमन्त्री असन्तुष्ट भएपछि सचिव अर्यालयलाई हटाउन भित्री खेल सुरु भएको बुझिएको छ । गृहमन्त्री नै सहकारी ठगी काण्डको विवादमा मुछिएपछि अर्यालयको कमाउधन्दा झन् फस्टाएको छ । गृहमन्त्री आफ्नै काण्डको उत्तर दिन व्यस्त छन् भने सचिव अर्यालय कमाउधन्दामा व्यस्त छन् । त्यति मात्रै होइन अर्याललाई कुन राजनीतिक दलको नेतालाई कहाँ राख्ने र कुन पत्रकारकालाई कहाँ ठिक लगाउने भन्ने राम्रो जानकारी छ । त्यसैले पनि उनी आफ्नो अडानमा टसमस भएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *