निजी बैंकसँगै सरकारी बैंक पनि धरापमा

राजनीति समाचार

काठमाडौं । कुनै बेला नेपालमा प्राइभेट बैंक तथा वित्तीय संस्था खोल्नेहरुको होडवाजी नै चल्ने गरेको थियो । पछिल्लो समयमा आएर आर्थिक अवस्थाले धान्न नसक्ने भएपछि अधिकांश बैंकहरु एकअर्कामा गाभ्ने, गाभिने र बिलयन हुने गर्न थाले । ती प्राइभेट रुपमा सञ्चालित बैंकहरु आर्थिक अवस्थाका कारण एकआपसमा मर्जर भए तापनि कर्मचारीबीच को ठूलो, को सानो भन्ने होडवाजीले कमजोर हुँदै गएका छन् । त्योसँगै कर्मचारीहरुको वित्तिविकासदेखि अन्य सेवासुविधामा समेत वाधा पर्ने गरेको छ । त्यसले बढुवामा पनि असर परेको छ । बढुवा र वृत्तिविकासमा असर परेपछि मर्जर भएका बैंकहरु झन् धरासायी बन्दै गएका छन् । उता सरकारी स्वामित्वमा रहेका नेपाल बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकहरु पनि विस्तारै धरासायी बन्दै गएका छन् । एकातिर खराब कर्जा उठाउन सकेका छैनन् भने अर्कोतिर ऋण प्रवाह हुन नसकेर बैंकमा बिनाकाम पैसा थुप्रिएको छ ।

त्योसँगै बैंकका जिम्मेवार कर्मचारीले कमिसनको लोभमा कमसल धितो राखेर बढी ऋण प्रवाह गर्दा खराब कर्जा बढेर गएको छ । सरकारी बैंकहरुमा खुल्ला प्रतिस्पर्धाबाट दक्ष कर्मचारी राख्नुकोसट्टा आफ्ना आसेपासेलाई भर्ना गरेर जागिर खुवाउने थलो बनाउँदा सेवा प्रवाह कमजोर भएको छ । दक्ष व्यक्तिले अवसर नपाउने भएपछि अहिले बैंकमा कर्मचारी अभाव भएको छ । त्यसको उदाहरण बनेको छ सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक ।

देशैभर शाखा कार्यालय विस्तार गरेको राष्ट्रिय वाणिज्य बैंकले लामो समयदेखि कर्मचारी भर्ना गर्न सकेको छैन । कर्मचारी अभावका कारण बैंकले सेवाग्राहीलाई सेवा दिन सकेको छैन । यतिबेला राष्ट्रिय वाणिज्य बैंकका अधिकांश शाखाहरुमा कर्मचारी अभावको कारण सेवाग्राहीहरुले सास्ती खेपिरहनुपरेको छ । राष्ट्रिय वाणिज्य बैंकका अधिकांश शाखाहरुमा कलेजबाट इन्टर्नसीपमा आएका विद्यार्थी र उच्च पदथस्थ कर्मचारीका आफन्तहरुलाई कामको जिम्मा दिइएको पाइन्छ । कतिपय प्रशिक्षार्थीको रुपमा आएका आफन्तहरुलाई बैंकका उच्च पदमा रहेका कर्मचारीले जागिर खुवाउने काम गर्ने गरेका छन् ।

तर, खुल्ला प्रतिस्पर्धाबाट कर्मचारी आह्वान गरेर दक्ष जनशक्ति नियुक्ति गर्न बैंक चुकिरहेको छ । राष्ट्रिय वाणिज्य बैंक जस्तो महत्वपूर्ण सरकारी बैंकमा दक्ष जनशक्ति अभावले देशैभरका शाखामा लाखौ सेवाग्राहीलाई समस्या परिरहँदा न त बैंक सञ्चालक समितिले ध्यान दिएको छ, न त सम्बन्धित निकायले नै । त्यसैगरी कतिपय सर्वसाधारणले सुन, चाँदी बैंकमा राखेर ऋण लिने र पछि ऋण चुक्ता गरेर सुन फिर्ता लाने गरेका हुन्छन् । त्यस्तै कतिपयले बैंकमा सुन थन्क्याउने काम गरेका हुन्छन् ।

तर, ग्राहकहरुले त्यसरी बैंकमा राखेको सुनको तौल कम हुने, साटफेर हुने गरेका घटनाहरु थुप्रै छन् । त्यसैगरी दक्ष जनशक्ति नहुँदा इ–बैंकिङ्ग सेवाबाट ग्राहकको पैसा हराउने र अर्काको खातामा जाने घटना पनि त्यत्तिकै छन् । सेवाग्राहीले दुःख गरेर आर्जन गरेको सम्पत्तिको सुरक्षा गर्ने बैंकले सुन सट्टापट्टा गरिदिने, एटिएम र इ–बैकिङ्ग सेवाबाट पैसा हराउने जस्ता घटनाले बैंकप्रति सर्वसाधारणको विश्वास घट्दै गएको छ । यो समस्या अहिले प्राइभेट बैंकमा भन्दा सरकारी बैंकमा बढी देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *