खानेपानी र भूमिमा आचार्य र दुवाडीको मस्ती

राजनीति समाचार

काठमाडौं । पछिल्लो समय अख्तियार दूरुपयोग अनुसन्धान आयोगले राजनीतिक दलका नेताहरुलाई चोख्याएर कर्मचारीहरुलाई भ्रष्टाचारको आरोपमा भटाघट मुद्दा दायर गर्ने गरेको छ । अख्तियारले मुद्दा दायर गरेपछि कर्मचारीभित्र त्रास फैलिँदै गएको छ । कतिपय सचिवहरुले त आफ्नो मन्त्रालयको फाइलमा सही गर्न छाडेका छन् । धेरैजसो मन्त्रालयका फाइलहरु सचिवले निर्णय गर्नुपर्नेमा सिधैं मन्त्रिपरिषद्को कार्यालयमा पठाउने गरेका छन् । मन्त्रिपरिषद्बाट निर्णय नभएमा सचिवहरुले ती फाइल त्यसै थन्क्याएर राख्ने गरेका छन् । अधिकांश सचिवहरु आर्थिक वर्ष सकिन लाग्दा विभिन्न आयोजना, योजनाको कामलाई प्राथमिकता दिनुको सट्टा प्रधानमन्त्री कार्यालयमा मिटिङ गरेर दिन बिताउने गरेका छन् ।

नेपाल सरकारका अधिकांश सचिवहरु प्रधानमन्त्री कार्यालयमा मिटिङ छ भन्दै दिनहुँ धाइरहेका हुन्छन् । आ–आफ्नो मन्त्रालय मातहतको काम अलपत्र पर्दा पनि त्यसको कुनै निक्र्यौल निकाल्नतिर लाग्दैनन् । कतिपय सचिवहरुले त जागिरको अवधि हेरेर कमाउ धन्दातिर लाग्ने र सरकारको पैसामा विदेश घुम्ने गरेर दिन बिताइरहेका छन् । पाँच दलीय गठबन्धन सरकारले सबै सचिव सरुवा गरे तापनि भूमि, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी र खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव सुरेश आचार्यलाई सरकारले चलाएको छैन । किन कि आचार्य खान र खुवाउन माहिर सचिव हुन् । उनले जुनसुकै नेता र पार्टीलाई रिझाउन सक्छन् । आचार्यको स्वाभाव छेपारोले रंग फेरेझैं दल फेर्ने र कर्मचारी संगठन पनि फेरिरहने छ । खानेपानी तथा सरसफाइ मन्त्रालयमा बसेर ठूला–ठूला आयोजना र योजनाको ठेक्कामा समेत उनी गिद्देनजर लगाउने गर्दछन् ।

त्योसँगै विदेश भ्रमणमा पनि अर्काको कोटा हात पारेर जाने गर्दछन् । त्यसैगरी सचिव गोकर्णमणि दुवाडी निर्वाचन आयोगदेखि प्रदेश नम्बर १ हुँदै भूमि, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गत भूमि अभिलेख विभागको महानिर्देशकहुँदै सचिवको भूमिकामा छन् । दुवाडीलाई देशैभरिको सर्वाजनिक जग्गा के÷कस्तो अवस्थामा छ भन्ने जानकारी छ । दुवाडीले भूमि अभिलेख विभागमा लामो समय आफ्नो मान्छे राखेर भूमाफियासँग साठगाँठ गरी सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याउने काम समेत गरेका छन् । त्यसको कमिसन सचिव दुवाडीसम्म पुग्ने गरेको छ । त्यसको उदाहरणको लागि ललितपुर मालपोत, भक्तपुर मालपोत, साँखु मालपोत र कलंकी मालपोतलाई ।

यी मालपोत कार्यालयहरुमा सार्वजनिक जग्गा दर्ता गर्ने, हदबन्दी काम गराउने, मोही र तलसिंहको जग्गामा झगडा बनाएर पैसा असुल्ने काम मालपोत अधिकृतहरुले गर्ने गरेका छन् । मालपोतको मुद्दा शाखामा बस्ने कर्मचारीहरुको पनि मुद्दा मिलाउने नाममा विभिन्न व्यक्तिसँग मोटो रकम असुल्ने गरिन्छ । मालपोतको मुद्दा फाटमा बस्नको लागि कर्मचारीहरु मरिहत्ते गर्दछन् । त्यहीं पैसाको आड र सोर्सफोर्समा सचिव ढुवाडी लामो समयदेखि भूमिमा टिकिरहेका छन् । भूमिमा बसेर मठमन्दिर धाउने, सातै प्रदेश घुमेर मालपोत कार्यालयको अनुगमन गर्ने नाममा राज्यको पैसामा लजिङफुडिङदेखि सवारी साधनको सुविधा भोग गरिराखेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *