पशुपन्छी ढुवानीमा चरम लापरवाही, सरकार रमिते

विविध समाचार

काठमाडौं । सरकारले पशु ढुवाको लागि २७ वर्ष अगाडि नै मापदण्ड बनाएको थियो । त्यो मापदण्ड अहिलेसम्म कार्यान्वयनमा आएको पाइँदैन । बेलाबेलामा एनिमल नेपालले सो ऐन कार्यान्वयनको लागि पत्रकार सम्मेलन गर्नेदेखि पशु ढुवानीमा हुने गरेको ज्यादतीको बारेमा आवाज उठाउँदै आएको छ । त्यसको निरन्तरताको लागि एनिमल नेपालले गत बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पशुपन्छी ढुवामा भएको विकृति र विसंगतिविरुद्ध आवाज उठाएको थियो । सो पत्रकार सम्मेलनको आयोजना गरी त्यसको पहल गरिदिन पत्रकारहरुसित एनिमल नेपालले आग्रह गरेको थियो । तर, सरकारले एनिमल नेपालले उठाउँदै आएको आवाजलाई व्यवास्ता गर्दै आएको देखिन्छ ।

कृषि तथा पशुपन्छी मन्त्रालयले पनि त्यस विषयमा खासै ध्यान दिएको पाइँदैन । पशु ढुवानी गर्दा खास गरी राँगा, भैंसी, पाडापाडी एकै ठाउँमा कोचेर यातनापूर्वक ढुवानी गर्ने गरेको पाइन्छ । त्यसमा नाक, सिंङ्ग, पुच्छरमा डोरीले बाँधेर त्यत्तिकै यातना दिने गरेको देखिन्छ । त्यसको लागि पशु ढुवानी सम्बन्धी २०५५ मा नियमावली बनाइएको थियो । त्यसपछि २०६४ मा पशुढुवानी सम्बन्धी मापदण्ड बनाइयो । २०६४ को पशुढुवानी सम्बन्धी मापदण्ड अनुसार शारीरिक बनोट फरक भएका पशुको ढुवानी एउटै गाडीमा गर्नुहुँदैन । गाडीको साइडमा फम टाँसेको हुनुपर्छ ।

ढुवानी गर्दा राँगा, भैंसी, खसीको मुख ड्राइभरतिर फर्किएका हुनुपर्छ । तर, २०८१ सालमा आइपुग्दासमेत त्यो मापदपण्ड लागु भएको पाइँदैन । लामो दुरीबाट पशु ढुवानी गर्दा कच्चि सडकबाट ढुवानी गर्न पाइँदैन । तर, शपु ढुवानीकर्ताले पक्की सडकबाट नभई कच्ची सडकबाट तीब्र गतिमा ढुवानी गर्ने गर्दा कतिपय पशुहरुलाई चोटपटक लागेर मृत्यु समेत हुने गरेको पाइन्छ । लामो दूरीमा पशु ढुवानी गर्दा प्रत्येक ८ घण्टामा गाडीबाट ओरालेर घाँस, पराल र पानी खुवाउनुपर्ने हुन्छ । एउटा ट्रकमा २० वटा भन्दा बढी पशु ढुवानी गर्न पाइँदैन तर त्यसो गरिएको पाइँदैन ।

त्यसरी लापरवाहीपूर्वक ढुवानी गर्दा मरेका पशुहरु बजारमा ल्याएर विक्रीवितरण गरी उपभोक्तालाई मासु खुवाउने काम गरेको पाइन्छ । तर, सरकार र सम्बन्धित निकायले यस्ता विषयमा ध्यान दिएको पाइँदैन । गर्मीको सिजनमा खसीबोकालाई गाडीको छत र डिकीभित्र यातनापूर्वक ढंगले कोचेर ल्याउने गरेको पाइन्छ । लामो दुरीबाट पशु ढुवानी गर्दा घाँस पानीको व्यवस्था गरेको पाइँदैन । उता, ट्रकमा राँगा, भैसी ल्याउँदा पराल र फर्मको व्यवस्था गर्नुपर्ने नियममा उल्लेख छ तर, त्यसो गरेको पाइँदैन । उता, पशु ढुवानीकर्ताले कृषि तथा पशुपन्छी मन्त्रालयका कर्मचारी र विभिन्न नाकामा खटिएका सुरक्षा निकायहरुलाई ठाउँठाउँमा घुस खुवाउनुपर्ने वाध्यता पनि त्यत्तिकै छ । घुस नदिएको खण्डमा पशुपन्छिहरुलाई विचैमा रोकेर अलपत्र पार्ने काम गरिन्छ ।

कतिपय चोटपटक लागेका पशुपन्छीहरुलाई क्वारेन्टाइमा राखेर औषधि उपचार गर्नुपर्नेमा उल्टै ती बिरामी पशुपन्छीहरुलाई विभिन्न होटेल, रेष्टुरेन्टमा विक्री गरी मानव स्वास्थ्यमाथि खेलवाड गर्ने गएका थुप्रै उदाहरणहरु छन् । पशु ढुवानीको लागि गाडीमा राख्दा र ओराल्दाको दृश्य हेर्ने हो भने झन् दर्दनाक अवस्था देखिन्छ । पशु ढुवानी तथा ओसारपसारको लागि ऐन बनिसक्दा पनि राजनीतिक दलका नेता, सम्बन्धित मन्त्रालयका मन्त्री, कर्मचारी र ढुवानीकर्ताले ध्यान दिएका छैनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *