एकीकृत समाजवादी नक्कली क्रान्तिकारी पार्टी होइन

अन्तरवार्ता राजनीति

मेटमणि चौधरी, नेता, नेकपा एकीकृत समाजवादी
नेकपा एकीकृत समाजवादीले पार्टी स्थापनाको तीन वर्षपछि पहिलो पटक महाधिवेशन गर्दैछ, जसलाई नेपालका कम्युनिस्ट पार्टीहरूको चलनचल्तीको परम्परा पछ्याउँदै दशौं महाधिवेशन भनी नाम दिइएको छ । यही सेरोफेरोमा नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीसँग पार्टीको महाधिवेशन तयारी, महाधिवेशनपछिको नीति र नेतृत्वबारे आदि सेरोफेरोमा तामाकोशी सन्देश साप्ताहिकको प्रतिनिधिले गरेको कुराकानीको अंश :

० नेकपा एकीकृत समाजवादीको महाधिवेशन नजिकिइरहेको छ । कस्तो छ नयाँ पार्टीको महाधिवेशन तयारी ?
महाधिवेशन मूल व्यवस्थापन कमिटीले अन्य कमिटीलाई जिम्मेवारी प्रदान गरेको छ भने मातहतका सबै कमिटीलाई सदस्यता अभिलेख, कार्य प्रगतिको विवरण केन्द्रमा बुझाउन निर्देशन दिएको छ । सबै कमिटी, विभाग र फाँटलाई आज ५ गतेभित्र महाधिवेशन प्रतिनिधिको फोटोसहितको विवरण पार्टी केन्द्रीय कार्यालयमा पठाउन भनिएको छ । पार्टीले मातहतका सबै निकाय, क्षेत्र तथा तहबाट महाधिवेशन प्रतिनिधि छनोट गरी निर्धारित शुल्कसहित प्रतिनिधि छनोटको नामावली समयमा केन्द्रमा बुझाउनुपर्ने छ। केन्द्रीय सङ्गठन विभागले नेता तथा कार्यकर्ताको सदस्यता प्रदान र नवीकरणको सबै प्रक्रियाका साथै शुल्कसहितको विवरण केन्द्रले प्रमाणीकरण गर्ने छ ।

० पार्टीको महाधिवेशनलाई कसरी लिनुभएको छ ?
हाम्रो पार्टी दसौँ राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । हामी आगामी असारको १६ देखि २० गतेसम्म महाधिवेशन गर्न गइरहेका छौँ । महाधिवेशनका लागि हामीले चारवटा दस्ताबेज तयार गरेका छौँ । ती दस्ताबेज सामूहिक छलफल र सहमतिबाट अघि बढेको छ । उक्त दस्ताबेज सहमतिबाट अगाडि बढ्छ ।

० पार्टी स्थापना भएको तीन वर्ष हुँदैछ १०औँ महाधिवेशन भन्नुभएको छ, दसौँ महाधिवेशन भन्न मिल्छ ? महाधिवेशनपछिको नीति र नेतृत्वबारे के गृहकार्य भएको छ ?
तपाईं हामी सबैलाई थाहा छ कि पुष्पलालले कम्युनिस्ट पार्टीको स्थापना गर्नुभयो । पछि पार्टी विभाजित भयो । विभाजनपछि पुष्पलालले तेस्रो सम्मेलन गर्नुभयो । पहिलो र दोस्रो महाधिवेशन भइसकेको थियो । उहाँले महाधिवेशन गर्न पाउनुभएन । मोहनविक्रम सिंह पार्टीबाट अलग हुनुभयो र चौथो महाधिवेशन गर्नुभयो । जो जहाँबाट विभाजन भयो त्यही अवस्थामा महाधिवेशनको निरन्तरता गरिँदै आएको छ । त्यसैले हामी एमालेबाट विभाजन भएर आयौँ अब, हामीले गर्ने महाधिवेशन १०आँै महाधिवेशन नै हुन्छ ।

० महाधिवेशनमा कति प्रतिनिधि सहभागी हुने अनुमान छ ?
दसौँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चुनिनका लागि पार्टीको संगठित सदस्यता प्राप्त गरी कम्तीमा तीन वर्ष काम गरेको हुनुपर्ने छ । जारी सङ्गठित पार्टी सदस्यता प्राप्त मिति पूर्ववत् पार्टीमा सङ्गठित सदस्यता प्राप्त गरेको मितिदेखिकै गणना हुनेछ । योग्यता नपुगेको व्यक्ति प्रतिनिधिमा छनोट भएमा प्रतिनिधि रद्द हुनेछ । महाधिवेशनमा सहभागी हुने जम्मा प्रतिनिधि १७७८ जना हुने हिसाब रहेको छ । जसमध्ये ३४६ जना केन्द्रीय कमिटी सदस्य र १०४ विभिन्न आयोगका पदाधिकारी र सदस्य गरी ४५० जना स्वतः प्रतिनिधि चयन हुनेछन् । यीबाहेक एक हजार ३२८ जना निर्वाचित भएर आउनुपर्नेछ । जसमध्ये कोशी प्रदेशबाट १४३, मधेस प्रदेशबाट २९६, बागमती प्रदेशबाट २०५, गण्डकी प्रदेशबाट ७०, लुम्बिनी प्रदेशबाट १३०, कर्णाली प्रदेशबाट १७१ जना प्रतिनिधि निर्वाचित हुनेछन् । त्यसैगरी सुदूरपश्चिम प्रदेशबाट १४२, उपत्यका प्रदेशबाट २३, सम्पर्क प्रदेशबाट २२,भारत प्रवासबाट ८, अन्य प्रवासबाट १५,मजदुर विशेष आरक्षणबाट २०,विभाग तथा फाँटबाट ३२ र महासंघबाट ८५ जना रहेका छन् । त्यस्तै जनसंगठनबाट ५६, परिषद् तथा ज्येष्ठ कम्युनिस्ट मञ्च केन्द्रीय सल्लाहकारबाट १० जना प्रतिनिधि हुनेछन् । त्यसमा महिलाको प्रतिनिधित्व ४२५, दलित १५० र खुल्ला एक हजार ३०३ जना हुनेछन् ।

० प्रतिनिधि चयनको लागि आवेदन शुल्क कती तोकेको छ ?
प्रतिनिधि चयनका लागि न्यूनतम २ सय रहेको छ । त्यसरी प्रक्रिया पु¥याएर प्रतिनिधि चुनिएपछि महाधिवेशनमा सहभागी हुन उसले थप एक हजार तिर्नुपर्नेछ । महाधिवेशन आयोजक प्रतिनिधिहरूको हकमा भने प्रतिव्यक्ति पाँच हजार शुल्क तोकिएको छ ।

० तपाईंहरू के गर्नुहुन्छ यो महाधिवेशनमा ?
भर्खरै दस्तावेज लेखनको काम सिध्याएका छौं । यो लामो प्रक्रिया थियो । केही विवाद पनि थिए । मूलभूत प्रश्नमा पनि विभिन्न कोणबाट नेताहरूले बोल्ने काम हुने गथ्र्यो । त्यसलाई एकरूपता दिने कार्यभार अढाइ महिनाजति लगाएर सिध्यायौं । दस्तावेजको काम सकेर अब नेतृत्वको प्रश्नमा छलफल गर्ने बेला आएको छ ।

० एकीकृत समाजवादीको केन्द्रीय नेताहरू महाधिवेशन प्रतिनिधि बन्न तल्लो तहका कार्यकर्ताबाट अनुमोदित हुनु नपर्ने व्यवस्था गरेको हो ?
एकीकृत समाजवादीले केन्द्रीय नेताहरू महाधिवेशन प्रतिनिधि बन्न तल्लो तहका कार्यकर्ताबाट अनुमोदित हुनु नपर्ने व्यवस्था गरेको छ। तल्लो तहबाट प्रतिनिधि चुनिएर आउनुपर्ने व्यवस्थाले केही नेताहरू निर्वाचित हुन नसक्ने भएपछि केन्द्रीय कमिटीलाई महाधिवेशन प्रतिनिधि बन्न पाउने नियम बनाइएको छ। यसअघि केन्द्रीय परिषद् बैठकले महाधिवेशनमा लोकतान्त्रिक पद्धतिबाट नेतृत्व चयन गर्न तथा नेतालाई कार्यकर्ताप्रति थप जिम्मेवार बनाउन पार्टीको केन्द्रीय अध्यक्षदेखि सामान्य नेतासमेत कार्यकर्ताबाट अनुमोदित भएर महाधिवेशन प्रतिनिधि भएर आउनुपर्ने व्यवस्था गरेको थियो। केन्द्रीय आयोगका सदस्यहरू पनि केन्द्रीय नेतासँगै प्रतिनिधिका रूपमा छनोट हुनेछन् । विभिन्न निर्वाचन क्षेत्र तथा क्लस्टरबाट चुनिएर आउने व्यवस्था कायमै राखिएकाले त्यस क्षेत्रबाट आउने प्रतिनिधि तल्लो तहका कार्यकर्ताबाट अनुमोदित हुनुपर्नेछ। एक सय २५ कार्यकर्ताबराबर एकजना प्रतिनिधि छनोट गरिनेछ भने दलित, युवा, महिला समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको छ। नयाँ नेतृत्व चयन गर्ने पार्टीको दशौँ महाधिवेशन यही असार १६ देखि २० गतेसम्म हुँदै छ। एकीकृत समाजवादीको केन्द्रीय नेता स्वतः महाधिवेशन प्रतिनिधि हुने छ । केन्द्रीय नेताहरू महाधिवेशन प्रतिनिधि बन्न तल्लो तहका कार्यकर्ताबाट अनुमोदित हुनु नपर्ने व्यवस्था गरेको छ ।

० यो दुई तीन वर्षमा नयाँ पार्टी निर्माणको औचित्य सावित हुने गरी तपाईंहरूले काम के के गर्नुभयो त ?
हामीले देशैभरि संगठन विस्तार गरेका छौं । ७७ वटै जिल्ला, ६०० भन्दा बढी पालिका र हजारौं वडाहरूमा पार्टी कमिटी बनेका छन् । यसले कम्युनिस्ट आन्दोलनको निम्ति योग्य र सक्षम कार्यकर्ताहरू निर्माण गरिरहेको छ । जनताका निम्ति र हितमा काम गर्ने योद्धाहरू पैदा गरिरहेका छौं । अहिले महाधिवेशनको सम्मुखमा आउँदा एकीकृत समाजवादीभित्र जबज चाहिन्छ÷चाहिंदैन, अगाडि बढेर समाजवादी क्रान्ति पो ल्याउनुपर्छ भन्ने बहसहरू पनि चलिरहेको देखिन्छ । पार्टी नेतृत्वका रूपमा यी विचारहरूलाई कसरी अगाडि लिएर जाँदै हुनुहुन्छ ? यी विचार हामीले नै पार्टी बनाउने बेलामै ल्याएको हो । यो पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी राखेको हामीले नै हो । कसैले दाबी गरे जस्तो त्यसमा कुनै सत्यता छैन । उनीहरूलाई थाहा थिएन । जानकारी पनि थिएन कि हामीले गरेको हो । दोस्रो, यो पार्टीको समाजवादी क्रान्तिको कार्यक्रम सम्बन्धी मान्यतालाई पनि त्यही बेलामा दस्तावेजीकरण गरेका छौं । पार्टी गठन गर्ने बेलाको घोषणापत्र अहिले पनि छापिएको छ, हेर्दा हुन्छ । अर्थात् यो विचार ल्याउने अरु कोही होइन, हामी हौं । बरु अरु अरुको त्यो बेलामा अत्तोपत्तो थिएन या उनीहरूले भूमिका खेल्ने अवस्था पनि थिएन । ढुलमुल ढुलमुल गरिरहेका थिए । हामी दृढताका साथ अगाडि बढिरहेका थियौं । त्यसैले समाजवादी क्रान्तिको कार्यक्रम चाहिन्छ भनेर सुरुदेखि हामीले भनेका हौं ।

० अहिले तपाईंहरूको मार्गदर्शक सिद्धान्त के हो त ?
मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद हो । हामी क्रान्तिकारी र सर्वहारा वर्गीय दृष्टिकोण अँगाल्छौं । उदार लोकतन्त्रवादी विचार हाम्रो होइन । वैज्ञानिक समाजवादको विचार हो । हामी द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादमा विश्वास गर्छौं । मार्क्सवादका तीनवटा महत्वपूर्ण संघटक अंगहरूमा विश्वास गर्छौं ।

० तपाईंको पार्टीलाई गठबन्धनमा भए पनि सरकारमा रहेका प्रमुख दलहरूबाट वास्ता गरिएन भन्ने गुनासो छ नि ?
वास्ता गरियो–गरिएन भन्ने कुराहरूको बारेमा गुनासो गर्नुपर्ने केही पनि आवश्यकता छैन । जे भए पनि व्यापक छलफल र परामर्शको आवश्यकता छ । जबजलाई मार्गदर्शक सिद्धान्त नभएर एउटा कार्यक्रमको रूपमा मात्र व्याख्या गर्नुभयो । जबजलाई अद्यावधिक वा विस्थापन गर्ने नयाँ कार्यक्रम विकास गरेका छौं भन्न खोज्नुभएको हो ? विस्थापन नै गर्नुपरेन । हामी नयाँ चरणमा आइपुगेका छौं । हिजो अर्धसामन्ती, अर्धऔपनिवेशिक चरणमा जनवादी क्रान्तिको कार्यक्रमको आवश्यकता पर्थ्यो । अहिले हामी पूँजीवादी चरणमा आइसकेका छौं जहाँ समाजवादी क्रान्तिको कार्यक्रमको आवश्यकता पर्छ ।

० पहिला फुटेर जाने अनि फेरि मिल्नेपर्छ भन्ने क्रम पनि चलिरहने रहेछ है ?
फुट र जुट चलिरहन्छ । नदी पनि त फाट्छ, कहिले मिसिन्छ । दुई धार हुन्छ । अन्त्यमा गन्तव्य त समुद्रमा गएर मिसिने हो । त्यसो हुनाले फुटमा आत्तिनुपर्ने अवस्था छैन । नदी एक किसिमको भौगोलिक संरचनामा पुग्छ, त्यहाँ फाट्छ अर्को भौगोलिक संरचनामा मिसिन्छ । त्यसैले प्रकृतिको नियम यस्तै छ । सकेसम्म फाट्नु राम्रो होइन, तर के गर्नु घरै फाटिरहेको हुन्छ । श्रीमान् श्रीमतीको पनि फाटिरहेका हुन्छन् । कोही कसैको दास बनिरहन सक्दैन । दासत्वलाई स्विकार्न सकिँदैन । यस अर्थमा हामी आफ्नो स्वाभिमान, देश र जनताको स्वाभिमान र हितका लागि लागिरहेका छौँ । हामी नक्कली गफको क्रान्तिकारी होइन, व्यावहारिक र साँचो अर्थमा जनताको परिवर्तनको खातिर उभिन जरुरी छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *