महंगीको चपेटाबाट जनताले कहिले राहत पाउने ?

राजनीति समाचार

मुलुक पछिल्लो समय आर्थिक मन्दीको चपेटामा परेको वास्तविक बजारको अवस्थाले देखाउँछ । महंगीले सिमा नाघिसकेको अवस्था छ । व्यापार-व्यवसाय जताततै चौपट अवस्थामा छ । सर्वसाधारणको आम्दानी बढ्न सकेको छैन । तर खर्च दिनानुदिन बढ्ने अवस्थामा छ । आम्दानी र खर्चको सन्तुलन नहुँदा सर्वसाधारण आर्थिक चपेटामा परेका हुन् ।

बजार मूल्य चर्को हुँदै गएपछि सर्वसाधारण जनता मारमा परेका छन् । अहिले साधारण आम्दानीले घर खर्च टार्न पनि मुस्किल परेको अवस्था छ । वस्तुमाथि दोहोरो तेहोरो कर र यसले सिर्जित आकाशिँदो बजारबाट जनताले राहत पाउन सकेका छैनन् । यसरी उपभोक्ता दिनानुदिन मारमा परिरहँदा न त नियामक सरकारी निकायले ध्यान दिन सकेका छन्, न त उपभोक्ता मञ्चहरुले नै उपभोक्ताको विषयमा आवाज उठाउन सकेका छन् । उद्योग, वाणिज्य विभागले बजार अनुगमन गर्न सकेको छैन । व्यापारी÷व्यवसायीले पनि आफ्नो स्वार्थ अनुरुप बजार चलाएका छन् ।

आयातित ग्यास, तेल, चिनीजस्ता खाद्यान्न लगायत हरिया तरकारी सबैको मूल्य बढेको छ । मुलुकमा उत्पादन घट्दै गइरहेको अवस्थामा बजारमा प्रतिस्पर्धा नहुँदा आयातले बजार ओगटेको यथार्थ हो । यस्तो अवस्थामा स्वभाविक रुपमा मूल्य बढ्दै जाने हुन्छ । यसरी मूल्य बढेकै कारण सर्वसाधारणले महंगीको पीडा खेप्न बाध्य भएका हुन् । के कारणले मूल्य वृद्धि भएको छ भन्ने विषयमा सरकार नै अनभिज्ञ रहेको अवस्था छ । राजनीतिक स्वार्थ अनुरुप काम गर्ने उपभोक्ता मञ्चहरु पनि जनताको वास्तविक पीडामा भने चुइक्क बोल्न सकेका छैनन् ।

त्यसैगरी, मुलुकमा उत्पादन गर्ने र उद्याम गर्नेतर्फ न त सरकारले चासो दिन्छ, न त उपभोक्तासम्वद्ध निकायहरुले यसमा ध्यान दिन्छन् । बजारमा अचाक्ली भाउ बढेको र अखाद्य वस्तुहरु विक्री हुँदासमेत नियामक निकाय मूकदर्शक बन्ने गरेको छ । यसरी महंगीले जनताको ढाड सेकिरहेको अवस्थामा सरकारले कठोर कदम लिएर बजार नियन्त्रण गर्न सकेको देखिँदैन । मुलुक आर्थिक रुपमा कमजोर भएको अचाक्ली मूल्य वृद्धि, स्थिर आम्दानी र श्रमशक्ति पलायनले नै देखाएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *