स्वरोजगारमुलक पत्रकारलाई अर्को छाता संगठनको आवश्यकता

राजनीति समाचार

काठमाडौं । नेपाल पत्रकार महासंघले गत जेठ २६ गते गर्नुपर्ने निर्वाचन अहिलेसम्म गर्न सकेको छैन । महासंघले तोकेको समयमा निर्वाचन गर्न नसकेपछि निर्वाचन समितिले पुनः असार २२ गते गर्ने तयारी गरिरहेको छ । तर, असार २२ गते पत्रकार महासंघको निर्वाचन हुने नहुने निश्चित छैन । किन कि वास्तविक पत्रकारभन्दा राजनीतिक दल निकट व्यक्ति पत्रकार महासंघमा हावी हुँदा यो स्थिति सिर्जना भएको छ । निर्वाचन समितिले पत्रकारको नामावली सार्वजनिक गरे तापनि त्यसमा विमती राख्दै नेपाल प्रेस युनियनले असन्तुष्टी जनाएको थियो । त्योसँगै एकीकृत समाजवादी प्रेस संगठनले पनि विमती असन्तुष्टी व्यक्त गरेको थियो । उता विभिन्न ८ जिल्ला शाखामा केन्द्रीय निर्वाचन समितिले गरेको निर्णयविरुद्ध तालाबन्दी गरेको छ । त्योसँगै एकीकृत समाजवादी पार्टीले असार १६ देखि २० गतेसम्ममा दशौं महाधिवेशन सम्पन्न गर्ने भएकाले पत्रकारहरु त्यतातिर व्यस्त हुने देखिन्छ ।

त्योसँगै असारे खेतीको सिजन भएकाले अधिकांश पत्रकारहरु त्यसमा व्यस्त हुने देखिन्छ । विभिन्न राजनीतिक दल निकट पत्रकार संघ, संगठनका नेताहरुले त्यसलाई मध्येनजर गरी वार्ता र छलफललाई अगाडि बढाइरहेका छन् । आगामी असार २२ गते हुने भनिएको निर्वाचन पछाडि धकेलिने सम्भावना त्यत्तिकै छ । त्योसँगै स्वरोजगारमुलक साप्ताहिक पत्रपत्रिकादेखि मासिक, पाक्षिक र दैनिक पत्रपत्रिकाहरुले पाउँदै आएको लोककल्याणकारी विज्ञापनको भुक्तानी तीन महिनादेखि रोकिएको अवस्था छ ।

विज्ञापन बोर्डले वितरण गर्दै आएको लोककल्याणकारी विज्ञापनको नमुना पनि एक महिनादेखि पठाएको छैन । यसले के संकेत गर्छ भने अब स्वरोजगारमुलक पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापन पनि सरकारले हटाउन लागेको संकेत देखिएको छ । तर, नेपाल पत्रकार महासंघका नेताहरु भने आफू निकट दलका कार्यकर्तार्लालाई महासंघको सदस्य बनाएर भर्ती केन्द्र बनाइरहेका छन् । तिनीहरुले पत्रकारका मुद्दामा कुनै आवाज उठाउने गरेका छैनन् । पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापनको भुक्तानी रोकिँदा पनि पत्रकार महासंघका नेताहरु चुपचाप छन् । केवल आफ्ना मान्छेलाई महासंघको उम्मेदवार बनाउने धुनमा व्यस्त छन् ।

नेपाल पत्रकार महासंघका नेताहरुको क्रियाकलापले गर्दा वास्तविक श्रमजीवी पत्रकारहरु विस्तापित हुने निश्चित छ । हुँदै गरेको महासंघको निर्वाचन पनि वास्तविक श्रमजीवी पत्रकारको नभएर दलीय भागबन्डाको आधारमा अन्य पेशा व्यवसायमा आवद्ध व्यक्तिहरुको हालीमुहाली हुने देखिएपछि निर्वाचन हुने नहुने निश्चित छैन । पत्रकारिता क्षेत्र नै धरासायी बन्दै गइरहेको बेला श्रमजीवी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघमा राजनीतिक भागबन्डाको आधारमा सदस्य संख्या देखाएर पद हत्याउन गैरपत्रकारहरुको भिड लगाइएको छ । पत्रकारिता गरेर जीवन बिताएका पुराना, श्रमजीवी र स्वरोजगारमुलक पत्रकारहरुको सदस्यता हटाउने, केरमेट गर्ने, नाम हटाइएका ठाउँमा नया नाम ल्याएर पुरानो बनाइदिने, कुन मितिबाट सदस्य भएको भन्ने इतिहास मेटाइदिने, विदेश गएका, निश्क्रिय भएर र पेशा परिवर्तन गरिसकेकाको ठाउँमा बिना प्रक्रिया बाहिरबाट नयाँ व्यक्तिको नाम थपर पुरानो देखाउने जस्ता घृर्णित काम अहिलेको कार्यसमितिले गरेकाले वास्तविक श्रमजीवी पत्रकारहरु रुस्ट भएका हुन् ।

अहिलेसम्म चुनाव हुन नसक्नुमा पनि नेपाल पत्रकार महासंघको यो कार्यसमिति इतिहासमै कलंकित सावित भएको छ । किन भने नेपाल पत्रकार महासंघ भनेको आईएफजेको सदस्य प्राप्त संस्था थियो । समयमा निर्वाचन गरेर नयाँ पद हस्तान्तर गर्न नसकेपछि पुरानो कार्यसमितिले आईएफजेको मिटिङमा भाग लिन जान सकेन । त्यति हुँदासमेत महासंघका निवर्तमान पदाधिकारीलगायत कार्यसमिति गम्भीर हुन सकेको छैन । आफ्नो पेशा र निष्ठालाई दाउमा राखेर महासंघलाई राजनीतिक अखडा बनाएर रमिते बनिरहेको छ । नेपाल पत्रकार महासंघमा दलीय फोहोरी खेल भएकाले वास्तविक श्रमजीवी पत्रकारहरुले अर्को छाता संगठनको आवश्यकता महसुस गर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *