अब बन्ने प्रधानमन्त्री शेरबहादुर कि ओली ?

राजनीति समाचार

काठमाडौं । गत आमनिर्वाचनमा कुनै राजनीतिक दलले एकल बहुमत हासिल गर्न नसक्दा सधैं सरकार बनाउने र भत्काउने खेलले मुलुक बर्बादितिर धकेलिँदै छ । सरकार परिवर्तन भएसँगै जिम्मेवार कर्मचारी पनि सरुवा भइरहने कारणले विकास निर्माणदेखि सर्वसाधारणको काम समेत प्रभावित हुने गरेको छ । देशमा स्थायी सरकार नहुँदा उद्योगधन्दा सञ्चालन गर्ने वातावरण बन्न सकेको छैन ।

अस्थिर सरकारकै कारण वैदेशिक हस्तक्षेप पनि बढ्दै गएको छ । त्योसँगै वैदेशिक लगानीको लागि वातावरण बन्न सकेको छैन । आमनिर्वाचन भएको दुई वर्ष नपुग्दै चार पटक त केन्द्र सरकार नै फेरबदल भइसकेको छ । प्रदेश सरकार त कैयौं पटक फरबदल भइसकेका छन् । अन्य देशमा सरकार अल्पमतमा पर्नेबित्तिकै मन्त्रीसहित प्रधानमन्त्रीले राजीनामा दिएर अर्को सरकार बनाउन मार्ग प्रशस्त गर्ने चलन छ । तर, हाम्रो देशमा सरकार अल्पमतमा परेको पन्ध्र दिन हुन लाग्दा पनि विश्वासको मत लिने नाममा प्रधानमन्त्रीले राजीनामा दिएका छैनन् । प्रधानमन्त्रीले विश्वासको मत पाउने आधार पनि देखिँदैन । उल्टै संविधानको धारा ७६ को उपधारा (१), (२), (३) र (५) को कुरा उठाएर सरकारमा बसिरहेका छन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको विषय उठाएर अलमल्याउनु भनेको एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न नदिनु हो । ठूलो दलको हैसियतले धारा ७६ को उपधारा ३ अनुसार सरकार बनाउँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने देखिन्छ । त्यो खेलमा प्रधानमन्त्री प्रचण्ड भित्रभित्रै लागिपरेको स्रोतको दावी छ । उता दक्षिणी छिमेकी मुलुक भारतले पनि एमाले अध्यक्ष ओलीलाई प्रधानमा रुचाएको देखिँदैन । ठूलो दलको हैसियतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सम्भावना बढ्दै गएको छ । तर, पर्सी २८ गते प्रधानमन्त्रीले संसद्बाट विश्वासको मत लिने तयारी गरिराखेका छन् ।

आगामी २८ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएको खण्डमा स्वतः राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको लागि आह्वान गर्ने छन् । तर, कांग्रेस सभापति देउवाले पूर्वसहमति अनुसार एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउँछन् कि आफै प्रधानमन्त्री बन्ने हुन् त्यो हेर्न बाँकी छ । त्योसँगै भावी सरकारको बारेमा माओवादीलगायत अन्य साना दलहरुले सहकार्यको लागि छलफल अगाडि बढाइरहेका छन् । त्यो छलफलले कस्तो निश्कर्ष निकाल्छ यसै भन्ने अवस्था छैन । उता उत्तरी छिमेकी मुलुक चीनले नेपालमा हुँदै गरेको नयाँ सत्ता समीकरणप्रति चासो देखाइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *